‘हाउमच’ अभियान : एकैदिन ६७ ट्याक्सी चालकमाथि कारबाही

 माघ १५, २०७५ मंगलबार ६:४३:० | रासस
unn.prixa.net

काठमाण्डाै  महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । 

साेमबार मात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारबाही गरेको महाशाखाले जनाएको छ । महाशाखाबाट खटिइएका टोलीले यात्रुसँग बार्गेनिक गर्ने १० र यात्रु लिन इन्कार गर्ने ४० वटा ट्याक्सीलाई कारबाही गरेको ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो । त्यस्तै महाशाखाअन्तर्गतका विभिन्न युनिटले १७ वटा ट्याक्सीलाई कारबाही गरेको उहाँले जानकारी दिनुभयो । 

ट्राफिक प्रहरीले यात्रुसँग भाडा बार्गेनिङ गर्ने ट्याक्सी चालकलाई ‘हाउमच’ अभियान सञ्चालन गरेरै कारबाही गर्ने गरेको छ । हाउमच अभियानमा कारबाहीमा पर्ने ट्याक्सी चालकलाई प्रत्येक पटक प्रहरीले रु तीन हजार जरीवाना गर्ने गरेको छ । त्यस्तै पाँच पटकभन्दा बढी हाउमच कारबाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गरिएको उहाँले बताउनुभयो । 

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकलाई कारबाही गर्दै आएको छ । 

यसअघिको तुलनामा यात्रु ठगिने क्रम न्यूनीकरण भएको दाबी गर्दै प्रवक्ता सापकोटाले ट्राफिक प्रहरीले आफ्नो क्षमताले भ्याएसम्म ठगी न्यूनीकरणको अभियान चाल्दै आएको बताउनुभयो । ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ । ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिए पनि ठगिने क्रम नरोकिएको यात्रुको गुनासो छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया