मलेसियाकाे एक कम्पनीले तलब नदिएपछि कामदार हडतालमा

 माघ १५, २०७५ मंगलबार १०:५९:५२ | उज्यालो सहकर्मी

सुनाखरी मगर/मलेसिया ।

मलेसिया – तलब नपाएको भन्दै मलेसियाको डब्लु आर पी एसिया प्यासिफिक ग्लोभ कम्पनीमा कार्यरत नेपालीसहित विभिन्न देशका श्रमिकले काम छाडेर हडताल गरेका छन् ।

दुई महिनादेखि कम्पनीले तलब नदिएकाले काम छाडेर हडताल गरेको कम्पनीमा कार्यरत ललित तामाङले बताउनुभयो । 

मलेसियाको सेलंगरमा रहेको डब्लु आर पी एसिया प्यासिफिक ग्लोभ कम्पनीले तीन महिनामा बल्ल एक महिनाको तलब दिएको र बाँकी तलब माग्दा आनाकानी गर्दै नदिएपछि काम छाडेर हडतालमा उत्रनु परेको पीडित ललितको भनाई छ । 

‘हामीले आफूले गरेको कामको मूल्य मागेका हौं, दिन्छु भन्दै काम लगाउने तर पैसा नदिने गरेपछि हामी बाध्य भएर हडतालमा उत्रिएका हौं,’ ललितले भन्नुभयो ।

तलब नपाएर हडतालमा उत्रिनु पर्ने अवस्थामा पुग्दा पनि नेपाली दूतावासले बेवास्ता गरेको पीडितको गुनासो छ । 

तर पीडित कामदार कसैले पनि दूतावासमा सम्पर्क नगरेकाे मलेसियाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलले बताउनुभयो । पीडितले निवेदन दिएको खण्डमा कम्पनीलाई आवश्यक कारबाही गर्ने उहाँले स्पष्ट पार्नुभयो । 

कम्पनीले हातमा लगाउने पञ्जा उत्पादन गर्छ । पछिल्लो समय यो कम्पनी नेपाल सरकारले कालो सूचीमा राखेको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया