उद्यमशीलता : सिस्नो र सालको पात बेचेरै मनग्य आम्दानी

 माघ १५, २०७५ मंगलबार ११:४२:१५ | विमल बिष्ट
unn.prixa.net

डोटी – जोरायल गाउँपालिका–१ घण्टेश्वरकी इन्द्रा ओली अचेल सिस्नोको संरक्षणमा लाग्नु भएको छ । केही समय अघिसम्म आफ्नो बारीमा उम्रिएका सिस्नोलाई चुडेर फाल्ने इन्द्रा अहिले त्यही सिस्नोको बोट हुर्काउने प्रयत्नमा लागिरहनुभएको छ । 

बहुसरोकारवाला वन कार्यक्रमले उहाँलाई सिस्नोको महत्व बुझाएपछि अहिले उहाँ सिस्नोको संरक्षणमा लाग्नु भएको हो । सिस्नोको धुलोको उपायोगिता र सिस्नो बिक्रि हुन्छ भन्नेकुरा उहाँले बुझेपछि उहाँले सिस्नोलाई नै आम्दनीको स्रोत बनाउनु भएको छ । 

‘सिस्नो पनि यति उपयोगी होला भनेर मैले कहिल्यै सोचेको पनि थिइनँ, अहिले त सिस्नो मेरो आम्दानी गर्ने बाटो बनेको छ ।’ इन्द्राले भन्नुभयो । इन्द्राले अहिले आलो सिस्नो प्रतिकेजी ४० रुपैयाँमा बेच्ने गर्नुभएको छ । 

घण्टेश्वरकी इन्द्रा सिस्नोको उपयोगिता र सिस्नो नै आम्दानीको स्रोत भएकोमा दंग भएजस्तै केआईसिंह गाउँपालिका ५ रानागाउँकी भागा नेपाली पनि सालको पातको उपयोगिता देखेर दंग पर्नुभएको छ । 

सालको पात प्राङ्गारिक मल बनाउन मात्र उपयोग हुन्छ भन्ने सोच्नु भएकी भागाले सालको पात बिक्री हुन थालेपछि सालको पातलाई नै आफ्नो आम्दानीको स्रोत बनाउनुभएको छ । 

भागा वस्तुभाउ चराउन जंगलमा जाँदा पनि सालको पात संकलनमा लाग्नुहुन्छ ।  ‘दिनमा १०÷१५ किलो पात संकलन गर्न सकिन्छ’ उहाँले भन्नुभयो ‘प्रति किलो १५ रुपैँयामा बिक्री हुन्छ ।’ 

इन्द्रा र भागा मात्रै होइन, स्थानीय स्रोतसाधनबाटै राम्रो आम्दानी लिन सकिने भएपछि उहाँहरु जस्तै धेरै महिला अहिले खुसी भएका छन् । खेर गैरहेका आफ्नै वरपरका यस्ता चिजलाई उपयोगमा ल्याएर अहिले यहाँका धेरै महिलाहरु अहिले राम्रो आम्दानी गरिरहेका छन् ।

फर्वाड नेपाल र ग्रामिण विकास केन्द्रको साझेदारीमा वनमा आधारित बहुसरोकारवाला वन कार्यक्रम अन्तर्गत डोटी जिल्ला मै पहिलो पटक सिस्नो प्रशोधन र दुनाटपरी उद्योग सुरु सञ्चालनमा आएपछि स्थानीय महिलाहरु लाभान्वित भएका हुन् । 

केआईसिंह गाउँपालिकाको रानागाउँ र जोरायल गाउँपालिका–२ छत्तिवनमा दुनाटपरी उद्योग, यही गाउँपालिकाको सरस्वतीनगर, घण्टेश्वर र सायलगाउँपालिकाको डौडमा सिस्नो प्रशोधन उद्योग, बडीकेदार गाउँपालिका–१ बर्छैन र जोरायलको छत्तिवनमा दुनाटपरी उद्योग सञ्चालनमा रहेका छन् । ग्रामिण भेगमा साना रुपमा सुरु भएका उद्योगले सानै परिमाणमा भए पनि आम्दानी सुरु गरेका छन् । 

नमूना सिस्नो प्रशोधन उद्योगकी सञ्चालक इन्द्रा ओली भन्नुहुन्छ, ‘कामको सुरुवात राम्रै भएको छ , तर यसलाई निरन्तरता दिन हाम्रा लागि चुनौती छ ।’ अहिले वनमा आधारित बहुसरोकारवाला कार्यक्रम हटिसकेको छ । उहाँ भन्नुहुन्छ ‘कार्यक्रम नहटेको भए राम्रो हुन्थ्यो, अब यो उद्योगलाई विस्तार गर्न र दीगो बनाउन हाम्रा लागि चुनौती थपिएको छ ।’


 

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया