निःशुल्क औषधिको शुल्क लिँदै जिल्ला अस्पताल, अँध्यारोमै हुन्छ अपरेसन !

 माघ १५, २०७५ मंगलबार १२:५७:३२ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – सरकारले निःशुल्क वितरणका लागि उपलब्ध गराएको औषधि जिल्ला अस्पतालको फार्मेसीबाटै बिक्री वितरण हुने गरेको छ । अस्पतालले सुपथ मूल्यमा औषधी उपलब्ध गराउन भन्दै गएको वर्षबाट फार्मेसी सञ्चालनमा ल्याएको थियो । तर फार्मेसी र निःशुल्क औषधी वितरण कक्ष एकै ठाउँबाट सञ्चालन हुँदा निःशुल्क वितरणका लागि उपलब्ध औषधी नै विक्री वितरण भइरहेको खुलासा भएको छ ।

अस्पतालले निःशुल्क वितरण गर्नुपर्ने औषधि बिक्री गरेको बाहिर आएपछि अस्पताल विकास समिति र म्याङलुङ नगरपालिकाको पहलमा बिक्री भएको औषधिको रकम आइतबार फिर्ता गरिएको छ । अस्पताल विकास समितिका पूर्वअध्यक्ष तथा म्याङलुङका मेयर सञ्जयकुमार तुम्बाहाम्फेले अस्पतालले निःशुल्क वितरणकालागि उपलब्ध औषधि बिक्री गरेको पाएपछि रकम फिर्ता गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयोे, ‘अस्पतालकालागि क्षेत्रबाट पनि केही औषधि आउँछ । बाँकी अधिकांश औषधि नगरपालिकाबाटै खरिद गरिएको छ, र निःशुल्क वितरणका लागि राखिएको छ ।’ उहाँले निःशुल्क वितरणकालागि उपलब्ध गराइएको औषधि बिक्री भएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । मेयर तुम्बाहाम्फेले म्याङलुङ नगरपालिका–१ बस्ने रुपा लिम्बुले निःशुल्क उपलब्ध औषधि खरिद गरेको रकम रु. १८० रुपैयाँ फिर्ता गराउनु भएको छ । रुपालाई जस्तै अस्पतालले धेरै जनालाई निःशुल्क उपलब्ध हुनुपर्ने औषधिसमेत बिक्री गर्ने गरेको सेवाग्राहीहरुको गुनासो छ । 

‘अस्पतालले कुन–कुन औषधि निःशुल्क वितरण गर्छ ? त्यो सबै सेवाग्राहीलाई ज्ञान छैन,’ म्याङलुङ नगरपालिका–१ का टिकाराम खुलाले भन्नुभयो, ‘निःशुल्क वितरण हुने औषधि र किनेको औषधि एकै ठाउँबाट वितरण गरिँदा हामीलाई छुट्याउन गाह्रो हुन्छ ।’ उहाँले अस्पतालले फार्मेसीबाट बिक्री वितरण गर्ने औषधिसमेत महंगो मूल्य लिएर बिक्री वितरण गर्ने गरेको गुनसो गर्नुभयो । सेवाग्राहीले अस्पतालले उपलब्ध गराउने ७० प्रकारका औषधिको सूची राखे पनि निःशुल्क पाएका औषधिका बारेमा जानकारी नपाएको गुनासो गर्छन् ।

जिल्ला अस्पतालको फार्मेसीबाट भरपर्दो सेवा नभएको भन्दै गुनासो बढ्दो छ । गएको वर्ष अस्पतालमा फार्मेसी नहुँदा सबै औषधि नपाइएको र सेवाग्राहीले महंगो मूल्य तिनुपर्ने भन्दै तत्कालीन अस्पतालका प्रमुख डा. चुमनलाल दासको पहलमा अस्पतालले फार्मेसी सुरु गरेको थियो । तर अहिले फार्मेसी व्यवस्थापनमा अस्पताल प्रशासन कमजोर देखिएको छ । फार्मेसीमा सबै औषधि पाइदैनन् । पाइएका पनि बाहिरका औषधि पसलभन्दा महंगो रकम तिर्नुपर्ने गुनासो छ । अस्पताल प्रशासनका अनुसार अस्पतालले १० प्रतिशत छुटमा औषधि उपलब्ध गराउँछ । 

अस्पतालको व्यवस्थापन र प्रशासन बद्लिएपछि सेवाको गुणस्तरसमेत खस्किएको सेवाग्राहीको गुनासो छ । यता अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले भने अस्पतालले उपलब्ध गराउने सेवा सुविधामा कमी हुन नदिने बताउनुभयो । तर अस्पतालका लागि आउने बजेटको अख्तियारीमा ढिलाई हुँदा व्यवस्थापन गर्न नसकिएको उहाँको भनाइ छ । 

उहाँका अनुसार अस्पतालमा कम जनशक्ति र कोठा अभावका कारण फार्मेसी र निःशुल्क वितरण हुने औषधी छुट्टा–छुट्टै वितरण गर्न सकिएको छैन । निःशुल्क वितरण हुने औषधि बिक्री भएका सम्बन्धमा आफूले विस्तृतमा बुझ्ने र त्यस्ता गतिविधिमा संलग्न कर्मचारीलाई कारवाही प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो । जिल्ला अस्पतालकालागि प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा १ करोड २४ लाख रुपैयाँ विनियोजन भएको छ । 

ब्लड बैंक नहुँदा समस्या

जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा (ब्लड बैंक) उपलब्ध छैन । ब्लड बैंक नहुँदा अस्पतालमा आउने बिरामीलाई सास्ती हुने गरेको छ । गएको साता मात्रै अस्पतालमा ब्लड बैंक नहुँदा म्याङलुङ नगरपालिका–८, आम्बुङकी सुत्केरी महिला लोककुमारी लिम्बुलाई थप उपचारका लागि हेलिकप्टरबाट अर्को अस्पताल लैजानुपर्‍याे । 

बिरामीहरु ब्लड बैंक नभएकै कारण रेफर भएर पूर्वी तराइका अस्पतालसम्म पुग्न बाध्य छन् । अस्पतालमा आकस्मिक प्रसुति सेवा उपलब्ध छ, तर ब्लड बैंक नहुँदा रक्तदान गर्ने व्यक्तिहरुसमेत स्ट्याण्डबाइ राखेर अपरेसन गर्ने गरिएको अस्पतालले जनायो । 

अध्याँरोमै कसरी हुन्छ अपरेसन ?

राति करिब साढे नौ बजे, जिल्ला अस्पतालको आकस्मिक प्रसुति कक्षमा एक सुत्केरीको अपरेसन भइरहेको थियो । वरिपरी अन्धकार थियो । चिकित्सकले छेउमा क्याण्डिल बालेर अपरेसन थाल्दै थिए । अस्पतालमा भएका जेनेरेटर चलाउन प्राविधिक कर्मचारी अभावमा विद्युत अवरुद्ध भएका बेला अस्पतालमा यसरी नै अपरेसन हुने गरेको छ । 

कर्मचारी नभएका कारण अस्पतालको प्रसुति कक्षमा अन्धकार हुने गरेको हो । कमजोर व्यवस्थापनका कारण अस्पतालमा चिकित्सकहरुले समस्या बेहोर्नु परेको उनीहरु बताउँछन् । जेनेरेटर चलाउन प्राविधिक नहुँदा अस्पतालमा दिउँसोसमेत विद्युत अवरुद्ध भएका बेला बिरामीले घण्टौँ कुर्नुपर्ने समस्या रहेको पाइएको म्याङलुङ नगरपालिका–१ का दीपक कट्टेलले बताउनुभयो ।

अस्पतालको क्यान्टिन समेत अव्यवस्थित रहेको छ । बिरामीलाई उपलब्ध गराउनुपर्ने खानालगायत विभिन्न चिजहरु समयमै पाउन मुस्किल पर्छ । अव्यवस्थित क्यान्टिनका कारण समस्या बेहोर्नुपरेको बिरामी गुनासो गर्छन् । अस्पतालमा कमजोर जनशक्तिका कारण व्यवस्थापनमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया