सरकारले डाक्टर केसीका माग सम्बोधन गर्नुपर्ने पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठकाे भनाइ

 माघ १५, २०७५ मंगलबार १७:१५:२४ | उज्यालो सहकर्मी

काठमाण्डाै - पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चिकित्सक डाक्टर गोविन्द केसीसँगको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ । 

अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना तथा उहाँको मागमा ऐक्यवद्धता जनाउन मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेका पूर्व प्रधान न्यायाधीश श्रेष्ठले अविलम्ब डाक्टर केसीसँगको सहमति कार्यान्वयन गर्न माग गर्नुभएको हो ।

उहाँले बहुमतको प्रयोग अख्तियारी देखाउन नभई विवेकसम्मत काम गर्नमा प्रयोग गर्न पनि सरकारलाई सुझाव दिनुभयो । डाक्टर केसीलाई स्वास्थ्यलाभको कामना गरेर फर्कँदै गर्दा सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा उहाँले आफू कुनै राजनीतिक कित्तामा जोडिन नभइ समुदायको हितको प्रतिरक्षाका लागि लडेका डाक्टर केसीको जीवनरक्षाको पक्षमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गोविन्द केसीको जीवन नेपाली सार्वजनिक समुदायको हितको प्रतिरक्षाको एउटा प्रमुख पात्रको रुपमा छ । उहाँ हार्नु भो भने सार्वजनिक प्रतिरक्षा प्रणालीले हार्छ ।’ 

उहाँले सरकारले जवाफदेही ढंगले डाक्टर केसीका माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकार र डाक्टर केसीबीच संवादहीनताको अवस्थाले मुलुक नयाँ चरणको द्धन्द्धमा फस्ने खतरा बढाएको भन्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले सरकारलाई संवादका सबै ढोका खुल्ला राख्न पनि आग्रह गर्नुभयो ।

इलाम पुगेर १६ औ सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रेपछि काठमाण्डौ ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया