छोराछोरी बिदेशमा, बाआमालाई चिन्ता मात्र

 माघ १५, २०७५ मंगलबार १७:५३:४६ | मेरो कथा मेरो भोगाई

धनरानी लिम्बू/मोरङ ।

उमेरले ५० नाघ्यो । तर मेरा दुःखहरु बुढा भएका छैनन् । आफू पनि दुःखैमा हुर्किएँ, अनि आफ्नो बालबच्चा पनि दुःखमा नै हुर्काएँ ।

 जिन्दगीमा सुखदुःखको श्रृँखला पनि यस्तो हुँदो रहेछ, जुन कहिल्यै नसकिने । उमेरसँगै दुःखका प्रकृति फरक हुने रहेछ । तर दुःखबिनाको जीवन त हुन्न झैं पो लाग्छ मलाई त । 

पहिला बालबच्चा कसरी पालौं भन्ने चिन्ता थियो । केही हुने पो हो कि, लड्ने हुन् कि भन्ने चिन्ता । खुट्टा लागेपछि देश विदेश हिँड्न थाले, अब अर्को चिन्ता थपियो । 

पहिला मेरो जेठो छोराले आमा विदेश जान्छु भन्यो । घरको दुःखले नजाउ न त भन्न पनि सकिनँ । अरुको घरमा कति बस्नु ? बिरालोले बच्चा सारेझैं कोठा सार्दै हुर्काएको हो मैले बालबच्चा । अब ठूलो भएर उसले कमाउन जान्छु भन्यो । जाउ भनेर पठाएँ । 

तर मैले र छोराले सोचे जस्तो भएन कतारमा काम र कमाइ । काम राम्रो नभएर तीन महिनामै फर्कियो । बुहारी सुत्केरी थिइन् त्यो बेलामा । छोरा उल्टो ऋण लगाएर फर्किएपछि बुहारी सानो नानी छाडेर मलेसिया गइन् ।

बुहारीले बरु मलेसियामा राम्रो नै कमाएकी छन् । उनले नै कमाएर जग्गा पनि किनेकी छन् । हामीलाई पनि बेलाबेलामा खर्च पठाउँछिन् । उनले विदेशमा कमाएकी छन् । तर मलाई भने उसको सानो नानीको साह्रै पीर लाग्छ । हामीसँग बस्न मान्दैन । बुहारीकै बहिनीहरुसँग बस्छ । घरमा त बेलाबेलामा मात्र आउँछ । 

बाच्चालाई आमा हुँदा जस्तो नहुने रहेछ । आमा बाउ भएर पनि टुहुरो झैं भएको छ नानी । अहिले त कान्छो छोरा पनि मलेसिया नै गएको छ ।  विदेशमा कमाएको देखिन्छ, तर आमा बुवालाई भने साह्रै पो चिन्ता हुन्छ त । 

झन् विदेशबाट कतिका छोरा बाकसमा प्याक भएर फर्किएका छन् । त्यस्तो सुन्दा र देख्दा त रातभरी निद्रा लाग्दैन । के गर्नु हिजोआज अर्काको देशमा जाने चलन आयो । छोराछोरी विदेश जान्छन् । बुवाआमालाई चिन्ताको भारी हुन्छ । यतै केही गर्न सकिन्छ भने त कसैका छोराछोरी पनि विदेश नजाउन् भन्ने लाग्छ ।
 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया