अष्ट्रेलियामा राजदूतको कुर्सी खाली : कुटनीतिक जमघटमा चर्चा – लक्की 'अनलक्की' भएकै हुन् त ?

 माघ १६, २०७५ बुधबार ८:३८:५० | साेहम सुबेदी
unn.prixa.net

अष्ट्रेलिया क्यानबेराको नेपाली राजदूतावासको माथिल्लो तलामा रहेको राजदूतको खाली कुर्सी

अष्ट्रेलिया - शुक्रबार २५ जनवरीको बिहान ९ नबज्दै क्यानबेराको नेपाली दूतावासमा नियमित चहलपहल सुरु भयो । ढोका खुल्यो, बाँकी कामको लेखाजोखा भयो । कागजपत्र मिलाउँदै दूतावासका तीन कार्मचारीले काम थाले । कोही कम्प्युटरमा घोत्लिए, कोही फाइलमा घोप्टिए ।

दूतावासको तल्लो तला अर्थात् नियमित काम हुने क्षेत्र सामान्य छ । तर दूतावासको माथिल्लो तला सामान्य छैन ।

राजदूतको खाली कुर्सी देख्नेबित्तिकै नेपाली स्वाभिमान खुम्चिएर कच्याककुचुक् हुन्छ । शान, गौरवमा ठेस लाग्छ । नेपाल सरकारको प्रतिनिधि, राजदूत लक्की शेर्पालाई मानव तस्करीको आरोप लागेको नरमाइलो प्रस‌ंग याद आउँछ ।

लक्कीलाई आरोप लागेको दुई महिनाभन्दा बढी भयो । दूतावासमा आफ्नै सहयोगी कर्मचारी ल्याउँदा लाखौँ रुपैयाँ लिएको आरोप राजदूत र उनको परिवारलाई लागेको छ । त्यसयता राजदूत र उनको अढाइ वर्षे कार्यकालबारे राम्रा र नराम्रा अनेकथरी हल्ला चलेका छन् ।

मानव तस्करीको आरोपपछि सरकारले राजदूत लक्कीलाई नेपाल बोलायो । परराष्ट्र मन्त्रालयमा छानबिन समिति बन्यो । कहिले राजीनामा दिएको हल्ला चल्थ्यो । कहिले माफी पाएको चर्चा चल्थ्यो । कहिले कारवाहीको हल्ला । तर हरेक हल्लाले अष्ट्रेलियामा नेपालीको शान र स्वाभिमानको उछित्तो काढिरह्यो ।

नेपाल गएको लगभग ५ सातापछि राजदूत लक्की शेर्पा अष्ट्रेलिया फर्किनुभयो । तर दूतावासको कुर्सीमा बस्न सक्नु भएको छैन । सरकारले सफाई दिएको छैन, उहाँले राजीनामा दिनुभएको पनि छैन । दूतावासमा गएर नियमित काम गर्न सक्नुभएको पनि छैन ।

क्यानबेराको नेपाली दूतावासको कार्यक्षेत्रमा अष्ट्रेलियाबाहेक अरु ७ देश पनि पर्छन् । फिजी, न्युजिल्याण्ड, पपुवा न्यूगिनी, भानुवाटु, टुभालु, सोलोमन आइल्याण्ड र सामोआका कूटनीतिक विषयहरु अष्ट्रेलियाको दूतावासको कार्यक्षेत्रमा पर्छ । अष्ट्रेलियाका लागि नेपाली राजदूतको विषय ८ देशका सरकारसँगको कूटनीति र नेपालीको स्वाभिमानसँग जोडिएको विषय  पनि हो ।

तर, अभियोग लागेका राजदूतको विषयमा दुई महिनासम्म सरकारले निर्णय गर्न नसक्दा कुटनीतिक जमघटहरुमा नेपाली दूतावास, नेपाल सरकार र नेपाली नागरिक हाँसो, ठट्टाका पात्र हुन थालिसकेका छन् । जमघटमा राजदूतावासका प्रतिनिधिलाई कहिलेकाहीँ संकोचै लाग्न थालिसकेको छ ।

बिहान ९ बजे नै काम थाल्दै क्यानवेरा दुतावासका कर्मचारी

“ह्वेयर इज लक्की ? इज सी बिइङ् अनलक्की?” 'कता छिन् लक्की? उनी अनलक्की भएकै हो ?' कूटनीतिक बैठकहरुमा यस्तो प्रश्न सोधिन्छ । दूतावासका प्रतिनिधिले हरेक कूटनीतिक जमघटहरुमा बाहिर आएको कुरा लक्कीको व्यक्तिगत कुरो हो भनेर प्रष्ट्याउँछ ।

भनाई नै छ, “कूटनीतिमा भनिएको भन्दा पनि नभनिएका कुराहरु धेरै बुझिन्छन् ।” त्यही भएर हरेक देशका प्रतिनिधिले यो घटनालाई आफ्नै हिसाबले बुझिरहेका छन् । राजदूतको कुर्सी जति खाली हुन्छ यो घटनाको चर्चा भैरहन्छ । यो घटनाबाट नेपालीको ख्यातीमा पुगेको घाटा पूर्ति गर्न धेरै समय लाग्ने पक्का छ ।

कार्यबाहक राजदूत दु्रपदा सापकोटा भन्नुहुन्छ “दूतावासको दैनिक काम चाहिँ चलिरहेकै छ । कुनै काम रोकिएको छैन, सेवा यथावत छन् । हामीले आन्तरिक प्रशासनिक काम चुस्त दुरुस्त राखेका छौँ । तर पनि देशको तर्फबाट कुटनीतिक पलह गर्ने व्यक्ति नहुँदा रित्तो अनुभव त हुने नै भयो ।”

मन्त्रालयमा अड्किएको दूतावास भवन

अष्ट्रेलियामा नेपाली दूतावासको खुलेको सन् २००६ मा हो । दूतावास खुलेको ११ वर्षमा नेपाल सरकारले भवन वनाउन जग्गा किन्यो । १२ लाख अष्ट्रेलियन डलरमा ९९ वर्षका लागि लिजमा किनिएको जग्गामा दूतावास भवन बनाउने योजना छ । भवन निर्माण विभागको टोलीले अध्ययन गरेर फर्किएको ६ महिना भैसक्यो । अष्ट्रेलियाको दूतावास भवन बनाउने विषयमा महत्वपूर्ण निर्णय गर्नुपर्ने फाइल पराराष्ट्र मन्त्रालयमै घुमिरहेको छ ।

सरकारले कस्तो भवन बनाउने भनेर निर्णय नगरिदिएकाले त्यसको लागत मूल्यांकन र टेण्डर निकाल्ने तयारी गर्न नसकिएको दूतावसका कर्मचारी बताउँछन् ।

नेपाल सरकारले किनेको जग्गामा दूतावासको कार्यालय, आवास र कर्मचारीका लागि आवास बनाउने योजना छ । नेपाल र अष्ट्रेलियामा घर बनाउने तौरतरिका फरक छ । नेपालमा सिमेन्ट, गिटी, बालुवा, इँटा र रडको चाङ लगाएर घर बनाइन्छ । अष्ट्रेलियामा घर बनाउँदा क्रंक्रिट भन्दा धेरै काठको प्रयोग हुन्छ ।

नेपाली विद्यार्थीबारे अनुसन्धान

अष्ट्रेलियामा कति नेपाली छन् भन्ने तथ्यांक दूतावाससँग छैन । त्यही भएर दूतावासले नेपाली विद्यार्थीका विषयमा अनुसन्धान गर्ने योजना बनाएको छ ।

नेपालीले पढेको विषय एकाथरी, काम गर्ने क्षेत्र अर्को किन हुन्छ ? विद्यार्थी पठाउने एजेण्टले असल काम गरिरहेका छन् कि सुधारको खाँचो छ ? युनिभर्सिटी पढ्न आएकाहरु कलेजको एक दुई वर्षे तालिममा आकर्षित हुनुको कारण के हो ? लगायतका विषयमा अनुसन्धान गर्ने दूतावासको लक्ष छ ।

अनुसन्धान पछि नेपाली विद्यार्थीका बारेमा यकिन तथ्यांक निकाल्ने दूतावासको योजना छ । कार्यबाहक राजदूत सापकोटा भन्नुहुन्छ यो अनुसन्धान सफल बनाउन सकेमा सरकारले अष्ट्रेलिया पढ्न आउने विद्यार्थीलाई धेरै सुझाव दिनसक्छ । सापकोटा भन्नुहुन्छ, “अनुसन्धानपछि नेपाली विद्यार्थी सफल वा असफल हुने विषय, क्षेत्र बुझ्न सकिन्छ र नेपाल सरकारले आफ्ना विद्यार्थीको आवश्यकतालाई राम्ररी सम्बोधन गर्न सक्छ ।”

इन्भेष्टमेन्ट समिट, भ्रमण वर्ष र बिजनेस फोरम

सरकारले सन् २०१९ को मार्च २९, ३० मा काठमाण्डाैमा लगानी सम्मेलन गर्दैछ । सुखी नेपाली खुसी नेपाली, अभियान अन्तर्गत गर्न लागेको सम्मेलनको उद्धेश्य आगामी दशकमा नेपालमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु हो  ।

सम्मेलनमा गैर आवासीय नेपाली, विकास साझेदार, कूटनीतिक निकाय, विश्वभरिका सरकारका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र अन्य सम्बन्धित सबैको सहभागिता हुने अपेक्षा छ । तर सम्मेलनका लागि अष्ट्रेलियाबाट कूटनीतिक तबरको विशेष पहल गर्नुपर्ने राजदूतको कुर्सी भने खाली छ ।

अष्ट्रेलिया र नेपालबीच दाता र प्राप्तकर्ताको सम्बन्ध छ । एकलाख भन्दा बढी नेपालीले अष्ट्रेलियामा आफ्नो जीवनको अमूल्य समय लगानी गरीरहेको कुरालाई अष्ट्रेलिया सरकारले महत्व पनि दिन्छ ।

त्यस्तै, सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ । देश विदेश घुमेर आनन्द लिने अष्ट्रेलियाका नागरिकको बानी छ । गएको वर्ष झण्डै ३५ हजार अष्ट्रेलियाली नागरिक नेपाल भ्रमणमा गए । अगामी वर्ष त्यो सँख्यामा उल्लेख्य बृद्धि गर्न अष्ट्रेलियामा रहेको नेपाली दूतावासले पहल गर्नुपर्छ ।

राजदूत लक्की शेर्पालाई पैसा असुलेर दुतावासमा कर्मचारी ल्याएको आरोपको बिरुद्धमा दुतावासले निकालेको विज्ञप्ती

तर, नेपाली दूतावासका प्रतिनिधिलाई कूटनीतिक भेलामा जाँदा लक्की शेर्पाको प्रसँग उठ्नेबित्तिकै अफ्ठ्यारो अनुभव हुन्छ । कूटनीतिक बैठकमा शानका साथ राजदूतले नेपाल भ्रमणको निम्तो दिनुपर्नेमा लाजका साथ नियमित भेटघाट गरेर फर्किनुले पर्यटन बढाउन सहयोग गर्दैन ।

गएकाे वर्ष जुन ३० तारिखमा मेलवर्नमा नेपाल अष्ट्रेलिया विजिनेस फोरम आयोजना भयो । यस वर्ष सिड्नीमा त्योभन्दा अझ भव्य रुपमा फोरम आयोजना गर्ने दूतावासको तयारी छ । आर्थिक वर्षको सुरु, वर्षभरीको योजना बनाउने बेला राजदूतको यस्तो घटना सार्वजनिक हुनुले दुतावासको काम कारबाही प्रभावित छ ।

नक्कली बिहेको सक्कली छोडपत्र

विशेष कामबाहेक दूतावासले धेरै नियमित कामहरु पनि गर्छ । यात्रा गर्दा आवश्यक पर्ने काजगात–पासपोर्ट बनाउने, प्रमाणित गर्ने, अष्ट्रेलिया बसेर नेपालमा जग्गा किनबेच र अन्य काममा लागि अधिकृत वारेसनामा बनाउने काम दूतावासले गर्छ ।

दूतावासले गर्ने नियमित काम नियाल्दै गर्दा सबैभन्दा रमाइलो लागेको कामचाहिँ सँगै बिहे गरेको जोडीले सँगै डिभोर्स अर्थात् छोडपत्र गरेको देख्नु हो । हाँसी–हाँसी आएका कागजी श्रीमान श्रीमतीले नेपालमा आफ्नो छोडपत्र गराउन वारेसनामा बनाउँछन् ।

कागजी बिहे गरेर अष्ट्रेलिया आएकाहरु पीआर पाएपछि कागजी छोडपत्र गर्न चाहन्छन् । त्यस्तो छोडपत्र उनीहरु नेपालबाटै गराउँछन् । अंशवण्डा नगरी छोडपत्र गराउन सहमत भएको जोडी दूतावासमा आएको देख्दा नक्कली बिहेको सक्कली छोडपत्र गर्न लागेको थाहा हुन्छ । अझ रमाइलो कुरा त नेपालमा जुन वकिलले बिहे गराएको हुन्छ, त्यहि वकिलले नै केटाकेटी दुवैको वारेसनामा लिएर छोडपत्र गराउँछन् ।

यस्तो छोडपत्रका लागि अधिकृत वारेसनामा बनाउन दिनको ४–५ जोडी क्यानबेराको नेपाली दूतावासमा आउँछन् । नक्कली बिहेको सक्कली छोडपत्र गरिसकेपछि आफ्नो सक्कली जोडीलाई अष्ट्रेलिया ल्याउने प्रकृया सुरु हुन्छ । कतिपयले नेपालबाटै सक्कली बिहेका लागि अर्को जोडी खोज्न थाल्छन् ।

फेसबुकबाट बिहे, बिचल्ली र उद्दार कोष

एक नेपाली मित्रले नेपालबाटै प्रशान्त क्षेत्रको एउटा देश सामुआको केटीसँग फेसबुकबाट प्रेम गरेछन् । विदेश जाने भन्दै दंग परेर भिसा लगाएर सामुआ गए । तर विरानो देश, फेसबुके सम्बन्ध धेरै दिन टिकेन । कुरा नमिलेपछि ती मित्र केटीको घर छोडेर भागे ।

गएको डिसेम्बरमा ती युवा ज्यान बचाई पाउँ भन्दै सामुआको अष्ट्रेलियन हाइ कमिसनमा पुगे । अष्ट्रेलियन हाइ कमिसनले क्यानबेराको नेपाली दूतावासमा सम्पर्क गर्‍यो । पैसाको व्यवस्था गरेर दूतावासले ती युवालाई सामुआबाट फिजी र दिल्ली हुँदै नेपाल पठायो ।

राजदूतावासले अलपत्र व्यक्ति नेपाल पठाउँदा पैसा खर्च हुन्छ । अलपत्रलाई केही दिन खान बस्न दिनुपर्छ । त्यस्तो आपतकालीन उद्धारका लागि नेपाली दूतावासलाई रकम अवश्यक छ । कार्यबाहक राजदूत सापकोटा भन्नुहुन्छ “हामीसँग रेस्क्यू बजेट थिएन । अरु शीर्षकबाट मिलाएर यसपलि व्यवस्थापन गर्यौँ । अब सरकारलाई अनुरोध गरेका छौँ । दूतावास भनेको अलपत्र नेपालीको आश्रय स्थल पनि हो त्यही भएर हामीलाई बजेट चाहिन्छ ।”

राजदूत र वाङ्छु दाउपेचमा राजदूतको कुर्सी

एसिया प्रशान्त क्षेत्रका ८ देश हेर्ने राजदूत लक्की शेर्पालाई आफ्नै गाडीचालक तथा भान्छे वाङ्छु शेर्पाले अष्ट्रेलिया ल्याउन लाखौँ रुपैयाँ लिएको आरोप लगाएका छन् । विदेश पठाइदिने भन्दै उठाएको पैस फिर्ता नगरेको आरोपमा वाङ्छुकी श्रीमती नेपालको जेलमा छिन् । तर वाङ्छु र राजदूतबीचको मनमुटावको विषयमा नेपाल सरकार एकवर्ष पहिले नै जानकार रहेको २०७४ पुस ५ मा दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको चिठिले प्रष्ट पार्छ ।

झण्डै दुईवर्ष अघि आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछिको औपचारिक कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा

घटना एकवर्ष पहिलेको भए पनि वाङ्छुले लक्कीको परिवारलाई पैसा तिरेर आफू अष्ट्रेलिया आएको र आफूलाई फसाएको कुरा सार्वजनिक गरेपछि यो विषय अलिक पेचिलो रुपमा उठेको हो । विषय सार्वजनिक भएपछि राजदूतावासले विज्ञप्ति निकालेर खण्डन गर्‍याे । खण्डन गर्ने विज्ञप्तीको भाषा र शब्दावलीले पनि राजदूत र वाङ्छुको मनमुटावको गहिराइको अनुमान गर्न सकिन्छ ।

राजदूतको गम्भीर विषय सतहमा आउनु, सरकारले छानबिन समिति बनाउनु र स्पष्टिकरणका लागि राजदूतलाई बोलाउनु भनेको राजदूत परिवर्तनको सिलसिला हो । तर न राजीनामा, न कारवाही, न नयाँ नियुक्ति, देखिने गरी कुनै निर्णय भएको छैन । अष्ट्रेलियाको राजधानी क्यानबेराको नेपाली दूतावासमा रहेको खाली कुर्सीले चाहिँ त्यहाँ बस्ने राजदूतको माग गरिरहेको छ ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

साेहम सुबेदी

दुई दशकदेखि विद्युतीय सञ्चारमाध्यममा सकृय सुवेदी अष्ट्रेलियाबाट  उज्यालो अनलाइनका  सामग्री तयार पार्नुहुन्छ। 

तपाईको प्रतिक्रिया