हडतालमा सहभागी भएको आरोपमा हजारौँ श्रमिकले रोजगारी गुमाए

 माघ १६, २०७५ बुधबार ७:२७:३७ | रासस
unn.prixa.net

बङ्गलादेशमा विश्व प्रसिद्ध ट्रेडमार्कका लागि कपडा सिलाउने तर निम्न ज्यालामा काम गर्दै आएका श्रमिकले हडतालमा सामेल भएको आरोपमा करिब पाँच हजार जनाको रोजगारी गुमेको प्रहरीले मङ्गलबार जनाएको छ । 

जनवरीमा उचित ज्यालादर कायम गर्न माग गर्दै आन्दोलनमा सहभागी भएका कारण उनीहरूको रोजगारी गुमेको हो । 

केही दिनदेखि जारी हडतालमा देशभरबाट हजारौँको सङ्ख्यामा सहभागी भएपछि करिब ३० अर्ब अमेरिकी डलर लगानीमा सञ्चालनमा रहेको कपडा उद्योगमा काम अवरूद्ध भएको थियो । 

बङ्गलादेशको असुलियामा कपडा सिलाईसम्बन्धी कम्पनीहरू एच एण्ड एम, वालमर्टलगायतका कम्पनीविरुद्ध भएका प्रदर्शनका क्रममा भएका झडपमा एक जनाको ज्यान गएको भने ५० जना घाइते भएका छन् । 

प्रदर्शन चर्किँदै गर्दा भएका झडपका क्रममा हजारौँ कामदारले उद्योग तथा तीसँग सम्बद्ध संस्थाबाट सामानहरू लुटेको र तोडफोड गरेको आरोपसँगै उनीहरूलाई उद्योगले हटाएका समाचार बाहिर आएका हुन् । 

तर श्रमिकहरूको संगठन ट्रेड यूनियनले उद्योगले कामदारलाई अनावश्यक धम्की तथा कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको बताएका छन् । “अहिलेसम्म कपडा उद्योगले चार हजार ८९९ कामदारलाई आन्दोलन गरेको आरोपमा जागिरबाट निकालेको, एक प्रहरीले नाम गोप्य राख्ने शर्तमा एएफपीलाई बताए ।” 

बङ्गलादेशको एउटै गार्मेन्टमा काम गर्दै आएका र महिनावारी ९५ अमेरिकी डलर आम्दानी रहेका एक हजार २०० भन्दा बढी कामदारलाई हटाइएको यूनियनको दाबी छ । ट्रेड यूनियनले कामबाट हटाइएका कामदारको सङ्ख्या करिब सात हजार पुगेको र करिब १०० जनालाई पक्राउ गरिएको बताएका छन् । 

तर इन्डस्ट्री अल बङ्गलादेश काउन्सिलका महासचिव सलाउद्दिन सापोनले भने यूनियनको आह्वानमा आन्दोलनमा सहभागी भएका कामदार डरले आफै काममा नफर्किएको बताउनुभयो । 

करिब तीन हजार कामदार, जसले उद्योगविरोधी गतिविधिमा सहभागी बने, विरुद्ध विभिन्न मुद्दा दर्ता भएका र धेरैले उद्योगमा नफर्किने निर्णय गरेका छन्, उहाँले एएफपीसँगको कुराकानीमा बताउनुभयो । 

देशभर प्रहरी नियन्त्रणमा लिइएका भनिएका कामदारबारे प्रहरीले कुनै प्रतिक्रिया दिन मानेन । 

बङ्गलादेशमा करिब चार हजार ५०० कपडा सिलाउने फ्याक्ट्री रहेका छन् जहाँ करिक ४१ लाख कामदारले रोजगारी पाइरहेका छन् । बङ्गलादेश विश्वभर तयारी कपडा निर्यातका लागि चीनपछि पहिलो स्थानमा आउँछ । 

बङ्गलादेशले सामानको नियातबाट गर्ने आम्दानीमा करिब ८० प्रतिशत हिस्सा समुद्रपारको कपडा व्यापारबाट नै हुने गर्छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया