संघीय सेवाको दरबन्दी कायमै राखेर समायाेजन गर्न शिक्षा सेवाका कर्मचारीको माग

 माघ १६, २०७५ बुधबार १४:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिक्षा सेवाका कर्मचारीहरुले संघीय सेवाको दरबन्दी कायमै राखेर प्रदेश र स्थानीय तहमा खटाउन सरकारसँग माग गरेका छन ।  

कर्मचारी समायोजन ऐन अनुसार आफूहरुलाई प्रदेश र स्थानीय तहमा खटाउँदा संघीय सेवाको दरबन्दी भने कायमै राख्न माग गर्दै शिक्षा मन्त्रालय अन्तरगतका कर्मचारीहरुले बुधबार बिहान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले कर्मचारी समायोजन गर्दा प्रदेश र स्थानीय तहका कर्मचारीहरुको वृत्तिविकासमा प्रतिकूल असर पर्न नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

संघीय सेवाको दरबन्दी कायमै राखेर प्रदेश र स्थानीय तहमा आफूहरुलाई खटाउन माग गर्दै मन्त्री पोखरेलको ध्यानाकर्षण गराइएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, शिक्षा विभागीय कार्य समितिका अध्यक्ष हरिभक्त पौडेलले जानकारी दिनुभयो ।

शिक्षा सेवाका कर्मचारीले कर्मचारी समायोजन ऐनमा आफूहरुको वरीयताक्रममा नै प्रतिकूल हुने व्यवस्था गरिएको उल्लेख गर्दै तत्काल यस्ताे प्रावधान हटाउन पनि सरकारसँग माग गरेका छन ।

उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले शिक्षा सेवाका कर्मचारीहरुको मागका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग छलफल गरी आवश्यक निर्णय लिने आश्वास दिनुभएको थियो ।

उहाँले शिक्षा तर्फका सबै कर्मचारीहरुलाई जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन पनि निर्देशन दिनुभएको थियो ।

मन्त्री पोखरेलले कर्मचारीको वृत्ति विकास नरोकिने गरी आवश्यक व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको पनि दावी गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया