बिदाको अवज्ञा गर्दै मुख्यमन्त्री कार्यालयसँगै जोडिएको कार्यालय पनि खुल्यो

 माघ १६, २०७५ बुधबार १६:२:२३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - तीन नम्बर प्रदेशमा सार्वजनिक बिदा दिइए पनि संघीय सरकार अन्तरगत रहेका सरकारी कार्यालयहरु बुधबार सञ्चालनमा आएका छन् । 

तीन नम्बर प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँगै रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुर बुधबार बिहान १० बजेदेखि नै खुलेको थियो ।

संघीय सरकार अन्तरगतका मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने आफू बिहानै देखि धरान चतराको सडक अनुगमन गर्न आएकाले कुन कार्यालय खुले–नखुलेको थाहै नभएको बताउनुभयो ।

संघीय सरकारले आफ्ना मातहतका कार्यालयहरु खोल्न निर्देशन दिएकाले कार्यालयहरु सञ्चालनमा ल्याइएको कर्मचारीहरुले बताएका छन् । 
मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरु नजिक रहेका संघीय सरकारका कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालयसहितका संघीय सरकार अन्तरगतका कार्यालयहरु बुधबार निर्बाध खुलेका हुन् । 

सरकारी एवं निजी बैंकले पनि प्रदेश सरकारको बिदाको बेवास्ता गर्दै नियमित झैं सेवा दिएका छन् । प्रदेश सरकारको बिदा कार्यान्वयन गर्नेमा विद्यालय, उद्योग कलकारखाना, प्रदेश तहका कार्यालय र स्थानीय तहका कार्यालय परेका छन् । कुनै कार्यालय खुल्ने तर कुनै बन्द हुँदा सेवाग्राही भने अन्यौलमा परेका छन् । 
     
 

अन्तिम अपडेट: बैशाख १, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया