भारतविरुद्ध न्यूजिल्याण्ड ८ विकेटले विजयी

 माघ १७, २०७५ बिहिबार ११:२६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतविरुद्ध न्यूजिल्याण्ड ८ विकेटले विजयी भएको छ । पाँच एक दिवसीय सिरिज हारिसकेको न्यूजिल्याण्ड सान्त्वना जितको खोजीमा छ । 

५ मध्ये तीन खेलमा पराजित हुँदै यसअघिनै सिरिज गुमाएको न्यूजिल्याण्डले चौथो खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै शृंखला ३–१ मा ल्याएको छ । अब अन्तिम  एक दिवसीय प्रतियोगिता शनिबार हुने छ । हेमिल्टनमा भारतले दिएको ९३ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । 

घरेलु टोलीलाई जिताउन हेनरी निकोलस र रस टेलेरले ५४ रनको साझेदारी गरेका थिए । टेलर ३७ तथा निकोलस ३० रनमा नट आउट रहे ।

मार्टिन गुप्तिलले भुवनेश्वर कुमारको सुरुका तीन बलमा लगातार बाउन्ड्री प्रहार गर्दै १४ रन जोडेका थिए । तर चौथो बलमा हार्दिक पाण्ड्याको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्किए । दोस्रो विकेटको रुपमा केन विलियम्सन आउट भए । उनलाई पनि भुवनेश्वर कुमारले व्यक्तिगत ११ रन बनाएकाबेला विकेट किपरको हातबाट आउट गराएका थिए ।

टस हारि पहिला ब्याटिङ गरेको भारत ३०.५ ओभरमा ९२ रन बनाएर अल आउट भयो । नियमति कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीलाई बिश्राम दिएको भारतको कप्तानी रोहित शर्माले लिएका थिए ।

आज भारतीय पालिलाई पुरै ध्वस्त पार्न न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गर्दा बोल्टले ४ ओभर मेडन राख्दै २१ रन खर्चिएका थिए । भारतका रोहित शर्मा, शिखर धवन, शुभमन गिल,केदार जादब र हार्दिक पाण्ड्या बोल्टका सिकार भएका थिए ।

कोलिन डी ग्राण्डहोमले तीन विकेट लिँदा दिनेश कार्तिक, अम्वाती रायडू र भुवनेश्वर कुमारलाई पेभेलियनको बाटो देखाए ।

टोड स्टलले एक विकेट लिँदा कुुलदीप यादवलाई आउट गरे । यसैगरी जेम्स निसमले पहिलो ओभरको पाँचौ बलमा खलिल अहमदलाई आउट गरे पछि भारतको पालि समाप्त भएको थियो ।

भारतकालागि नवौ विकेटका लागि कुलदीप यादब र युजबेन्द्र चहलकाबीचमा सर्वाधिक २५ रनको साझेदारी हुँदा शिखर धवन र रोहित शर्माकाबीचमा २१ रनको ओपनिङ साझोदारी भएको थियो । त्यसपछि कुनै पनि खेलाडीका बीचमा लामो साझेदारी नहुँदा भारत ९२ रनमा समेटिएको थियो । युजबेन्द्र चहलले १८ रनमा नट आउट रहँदा हार्दिक पाण्ड्याले १६, कुलदीप यादवले १५ तथा शिखर धवनले १३ रन बनाएका थिए ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया