थ्री गर्जेजले लग्यो पश्चिम सेती बनाउन ल्याएका सामान

 माघ १७, २०७५ बिहिबार १२:५४:५० | विमल बिष्ट
unn.prixa.net

डोटी – पश्चिम सेती निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजले ल्याएको समान धमाधम लैजान थालेको छ । ७५० मेगावाटको पश्चिम सेती परियोजनाका सामानहरु चिनियाँ थ्री गर्जेज कम्पनीले ओसार्न थालेको हो ।

पश्चिम सेती नबन्ने भएपछि परियोजना क्षेत्रमा आफूले ल्याएका मेसिनरी औजार कम्पनीले हेलिकप्टरमार्फत आसार्न थालेको स्थानीयबासीले जानकारी दिएका छन् । 

डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले थ्री गर्जेजले आफना सामान लैजाँदैछ भन्ने जानकारी पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘थ्री गर्जेजले सामान लगिरहेको खबर पाएँ, तर आधिकारिक के हो, बुझदैछु ।’ थ्री गर्जेज कम्पनीले स्थानीयको भाडामा लिएको जमिनको रकम नदिएको भन्दै केही महिना पहिले जिल्ला प्रशासन कार्यालय डोटीमा रकम असुलीका लागि निवेदनसमेत दिएका थिए ।

एकाएक थ्री गर्जेजले किन आफनो समान लग्यो भन्ने विषयमा डोटीमा निकै खैलाबैला सुरु भएको स्थानीयवासी तथा पत्रकार राजेन्द्र जोशीले बताउनुभयो । पश्चिम सेती परियोजना बन्छ र डोटीको विकास हुन्छ भन्ने आशमा बसेका डोटेलीहरुको सपना फेरि अधुरै रहने लक्षण देखिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थ्री गर्जेज कम्पनीले आफनो सामान लैजाँदैछ भन्ने विषयमा अहिलेसम्म कसैले जानकारी नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘थ्री गर्जेजले सामान लैजाँदै छ भन्ने विषयमा कसैले पनि जानकारी दिएको छैन, किन लगेको रहेछ म केन्द्रमा बुझ्छु ।’

पश्चिम सेती परियोजना डोटीका लागी मात्र नभै समग्र सुदूरपश्चिम प्रदेश र राष्ट्रकै गौरवको परियोजना भए पनि केन्द्रीय सरकारले ध्यान नदिँदा निर्माण कार्य अलपत्र परेको स्थानीयको आरोप छ । सुदूरपश्चिम प्रदेशको विकास गर्नका लागि पश्चिम सेती परियोजनाले महत्वपूर्ण योगदान दिने भए पनि विभिन्न बहाना देखाउँदै झण्डै ३७ वर्षदेखि चर्चामा रहेको त्यो परियोजना हालसम्म निर्माण हुन नसकेको तलाराका स्थानीय दीपकबहादुर सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सानै छँदा पश्चिम सेती बन्ने चर्चा सुरु भएको हो,हामी बुढो हुन थालिसक्यौँ, बन्ने केही छाँटकाँट छैन् ।’ यस विषयमा सामान लिन आएका थ्री गर्जेजका कर्मचारीले कुनै पनि जानकारी दिन चाहेनन् ।

यस्तो छ पश्चिम सेतीको इतिहास

१. सन् १९८१ देखि पश्चिम सेती जलविद्युत परियोजनाको निर्माण चर्चा सुरू भएको थियो । त्यति बेला फ्रान्सेली संस्था सोग्रेहको अध्ययन हालको आयोजना जुन स्थानमा तोकेको छ त्यसको ८ किलो मीटर माथितिर बाँधस्थल भएको ३७ मेगावाटको रनअफ रिभर (जलाशय निर्माण नगरी बिजुली निकाल्ने) प्रतिवेदन उल्लेख छ ।

२. १९८७ मा सोग्रेहले पुनः अध्ययन गरी ३६० मेगावाटको जलाशययुक्त आयोजनाको पहिचान गरेको ।

३. ७ जुलाई १९९४ मा नेपाल सरकारको विद्युत विकास केन्द्र र अष्ट्रेलियन बहुराष्ट्रिय कम्पनी स्मेकबीच समझदारीपत्रमा हस्ताक्षर ।

४. मार्च १९९५ मा भारतमा ‘बेसलोड’ विद्युत आपूर्ति निर्यात गर्ने तर सानो आयोजना भएकोले अन्तराष्ट्रिय सहयोग प्राप्त गर्न कठिन हुने निष्कर्ष नमिलेको ।

५. ११ मे १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाइड्रोबीच सम्झौतामा हस्ताक्षर गरेको ।

६. २७ जुन १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाइड्रोबीच ७५० मेगावाट आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको ।

७. ४ डिसेम्बर १९९७ मा नेपाल सरकारलाई ७५ मेगावाट निःशुल्क बिजुलीको सट्टा राजश्व लिन एसियाली विकास बैंक (एडिबी) को प्रतिवेदन सिफारिस गरेको ।

८. २२ डिसेम्बर १९९७ मा एसआई, स्मेक इन्टरनेशनल प्रोप्राइटरी लिमिटेडद्वारा ‘डिपीआर’ तयार गरेर नेपाल सरकारमा पेशगरेको ।

९. ११ डिसेम्बर १९९८ मा नेपाल सरकारले पर युनिट १०५ राजश्व सेयर लिने विकल्प स्वीकार गरेको ।

१०. २७ जनवरी १९९९ मा नेपाल सरकारबाट डीपीआर स्वीकृत गरेको ।

११. ६ अगस्ट १९९९ मा एसआईद्वारा वातावरणीय प्रभाव मुल्याङ्कन ‘ईआईए’ पूरा गरी नेपाल सरकार समक्ष पेस गरेको ।

१२. १९९९ मा भारत सरकारद्वारा निजी आपूर्तिकर्तालाई विद्युत खरिदमा सहजता प्रदान गर्न पावर ट्रेडिङ कर्पोरेसन अफ् इन्डिया गठनका साथै पीटीसीलाई सीमापार व्यापार गर्ने अधिकार दिएको ।

१३. ३ अक्टोबर २००३ पीटीसीसँग विद्युत खरिद सम्झौतामा प्रारम्भिक हस्ताक्षर गरेको ।

१४. १७ मे २००४ मा स्मेकसँग निर्माण सम्झौतामा हस्ताक्षर गरेको  ।

१५. १३ अप्रिल २००५ मा सिमेकसँग प्लान्ट डिजाइन बिल्ट सम्झौतामा हस्ताक्षर गरेको ।

१६. ७ अप्रिल २००६मा एडीबीको सहभागिताको लागि स्मेक र एडीबीबीच समझदारी पत्रमा हस्ताक्षर गरेको ।

१७. २४ अप्रिल २००६ मा वेस्ट सेती हाइड्रो र एडीबीबीच म्यान्डेट लेटरमा हस्ताक्षर गरेको ।

१८. अक्टोबर, २००६ मा चीनको साइनोस्योर कम्पनीले ४० करोड अमेरिकी डलर जोखिम बीमा दिन सहमत भएको ।

१९. नोभेम्बर २००६ मा चीनका तीन बैंक चाइना एक्जिम, बैंक अफ् चाइना र द इण्डष्ट्रियल एण्ड कमर्सियल बैंकले ९० करोड डलर ऋण उपलब्ध गराउने इच्छापत्र जाहेर गरेको ।

२०. १५ मे २००७ मा वेस्ट सेती हाइड्रोका सम्भावित सेयर धनी स्मेक, नेपाल सरकार, एडीबी, सिमेक आईएल एण्ड एफएस तथा नेपालका वित्तीय संस्थाको प्रतिनिधिको रूपमा नेपाल इन्भेष्टमेन्ट बैकबीच बैठक बसेको ।

२१. २१ मे २००७ मा पाँच ठेकेदारलाई प्रसारण लाइन टेण्डर जारी गरेको ।

२२. ३१ जुलाई २००७ मा प्रसारण लाइन टेण्डर आवेदन प्राप्त भएको ।

२३. १३ मे २००८ मा नेपाल सरकारले निःशुल्क विद्युत प्राप्तका लागि विद्युत विकास विभागमा पत्र प्रस्तुत ।

२४. १ जुन २००८ मा उत्पादन र प्रसारण अनुमति पत्रका लागि वेस्ट सेती हाइड्रोद्वारा विद्युत विकास विभागमा औपचारिक आवेदन दिएको ।

२५. ७ अगस्ट २००८ मा सम्भावित सेयरधनीहरुको तेस्रो बैठक बसेको ।

२६. सन २०१८ सम्म आइपुग्दा थ्री गर्जेजले निर्माण गर्ने सम्मका सम्झौतामा पत्रमा हस्ताक्षर आदि हुँदै गर्दा कतै पश्चिम सेती जलविद्युत आयोजना निर्माण भै हाल्छ कि भन्ने आश जीवितै थियो ।

२७. यसैबीच ३० जनवरी २०१९ सम्म आइपुग्दासम्म थ्री गर्जेज कम्पनीले आयोजनाबाट हात झिक्दै आयोजना स्थलमा ल्याइएका औजार, मेसिन तथा सबै सामानहरु फिर्ता लगेको छ । 

–यो तत्थ्यांक पश्चिम सेतीसम्बन्धी प्रकाशित विभिन्न पुस्तक, लेख रचनाबाट लिइएको हो । 


 

अन्तिम अपडेट: चैत २९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया