कांग्रेसकाे अवराेधका कारण प्रतिनिधिसभा बैठक सर्‍याे, अब आइतबार बस्ने

 माघ १७, २०७५ बिहिबार १३:४२:२१ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गराएको छ । 

संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएपछि कांग्रेस सांसद मिनेन्द्र रिजाललाई सभामुखले बोल्ने समय दिनुभएको थियो । 
रिजालले आफ्नो भनाई सक्दै संसद बैठक अगाडि बढ्न नसक्ने भनेपछि कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गराएका हुन् । 

बैठकलाई सम्बोधन गर्ने क्रममा नेता रिजालले दुई तिहाइको दम्भको सरकार सत्याग्राहीसँग लडाईँ गर्न उद्धत रहेको देखिएको बताउनुभयो ।  
प्रतिनिधिसभाको आजको बैठकमा नेता रिजालले सरकार ‘प्रोपोगाण्डा’ र झुटा कुरालाई प्रचार गर्न लागि परेको बताउनुभयो ।  

‘अहंकार र दम्भको शासन झुक्छ भन्ने डरले सरकारले डा. केसीसँग वार्ता गर्न नखोजेको हो’, भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो ‘होइन भने अझैसम्म डा.केसीको जीवन रक्षाको पहल किन हुन सकेन ?’  

संसदमा सभामुखको भूमिका निष्पक्ष नरहेको, चिकित्सा शिक्षा विधेयक प्रतिपक्षी दललाई पेलेर पास गराएको, संवैधानिक परिषदमा सरकारले एकलौटी रुपमा निर्णय गरेर अघि बढेको भन्दै सबै विषय नसच्चाए सम्म बैठक अवरुद्ध गरिरहने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया