भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ

 माघ १७, २०७५ बिहिबार १३:४३:० | रासस
unn.prixa.net

पक्राउ परेका पत्रकारकाे रिहाइकाे माग गर्दै प्रदर्शन

कारकास – विपक्षीले गरेको प्रदर्शनको समाचार सङ्कलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ । 

राष्ट्रपति निकोलास मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् । सरकारी पक्षले भेनेजुएलाको सङ्कटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई जनालाई निर्वासित गरेका छन् । 

सरकारी नियन्त्रणमा पर्ने पत्रकारहरुमा फ्रान्सका दुई जना, कोलम्बियाका दुई जना र स्पेनका एक जना रहेका छन् । उल्लेखितमध्ये पछिल्ला तीन जना स्पेनको राष्ट्रिय समाचार संस्था इफेका लागि काम गर्दै आएका छन् भने कम्बोडियाबाट आएका सबैजना भेनेजुएलामा उत्पन्न अस्थिरत स्थितिको रिपोर्टिङकै लागि आएका हुन् । 

पक्राउ परेका दुई फ्रान्सेली पत्रकार एउटा टिभी कार्यक्रमका लागि काम गर्दै आएका थिए । उनीहरुलाई सघाइरहेका यस कार्यक्रमका उत्पादक एक जना स्थानीयलाई पनि सरकारी पक्षले नियन्त्रणमा लिएको छ । 

अन्य दुई जना चिलीका टेलिभिजन पत्रकारलाई पनि मंगलबार नै भेनेजुएलाको सरकारी पक्षले देश निकाला गरिदिएको चिलीका विदेश मन्त्री रोबर्टो अम्पुएरोले बताउनुभयो । 

संवेदनशील मानिने ‘सुरक्षा क्षेत्र’मा काम गरेको भन्दै उनीहरुलाई पक्राउ गर्न थालिएको समाचारमा जनाइएको छ । ‘यो तानाशाही काम भयो, स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजियो’, चिलीका मन्त्री रोबर्टोले ट्वीटरमा लेख्नु भएको छ । 

पछिल्ला केही वर्षमा धेरै पत्रकारलाई नियन्त्रणमा लिने तथा देश निकाला गर्ने कार्य भइरहेको भन्दै आलोचना भएको छ । 

पत्रकारहरुलाई पक्राउ गरिएको बारेमा भेनेजुएलाका विदेश मन्त्री जर्ज एर्रेजाले बुधबार केही उल्लेख गर्नु भएन । तर धेरै विदेशी पत्रकारहरु रिपोर्टिङ गर्ने अनुमतिबिना देश छिरेको बताउनुभयो । 

विपक्षी नेता हुवाँ गुएइदोले केही दिन अगाडि आफैले आफँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा थप राजनीतिक सङ्घर्ष चर्किएको छ । 

मंगलबार मात्रै सर्वोच्च अदालतले गुएइदोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको जनाएको छ । लामो राजनीतिक सङ्घर्षका कारण चरम आर्थिक सङ्कट भोगिरहेको भेनेजुएलामा राजनीतिक द्वन्द्व थप बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन् । 

विपक्षीहरुले बहिष्कार गरेको निर्वाचनलाई नै वैध मानेर निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो । निर्वाचन निष्पक्ष हुन नसक्ने भन्दै विपक्षीहरुले निर्वाचन बहिष्कार गरेका थिए । विवादित निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि उहाँले यही जनवरी १० मा सपथ ग्रहण गर्नु भएको थियो । उहाँको सपथसँगै देशभरि विरोध प्रदर्शनहरू भएका थिए । 

त्यस निर्वाचनलाई अवैध र अमान्य भनेका अमेरिका, युरोपली देशलगायतले अहिले पनि मदुरोलाई अस्वीकार गर्दै विपक्षी नेता गुएइदोलाई समर्थन जनाएका छन् । 
चीन, रुसलगायतका देशहरुले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया