अघिल्ला हिउँदमा झैँ चिसो छल्न कबिला झर्न थाले भोटखोलाबासी

 माघ १७, २०७५ बिहिबार १४:२८:४६ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको उत्तरीभेगका भोटखोलाबासीहरु कबिला झर्न थालेका छन् । 

जिल्लाको उत्तरी भेगको विकट क्षेत्र भनेर चिनिने भोटखोला गाउँपालिका अन्तर्गत हटिया, चेपुवा, हुङहुङ, च्याम्ताङ्ग, थुदाम, रिदाक र किमाथाङ्काका स्थानीय भोटखोलाबासीहरु परम्परागत रुपमा झर्ने कबिला झर्न थालेका हुन् । 

उनीहरु बर्सेनि चिसो छल्न सपरिवार नै मध्यपहाड र तराई क्षेत्र झर्ने परम्परागत चलन नै हो । यसरी हिउँदमा घर छोडेर अस्थायी रुपमा बसाइसाइ गर्ने परम्परालाई स्थानीय परम्परागत चलनमा ‘कबिला’ झर्नु भनिन्छ ।

प्रायः जसो उनीहरु पुस पहिलो सातादेखि चैत्र अन्तिम सातासम्म घुमफिर गरेर घर फर्किसक्ने चेपुवाका स्थानीय तथा अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक छिरिङ्ग भोटेले बताउनुभयो । 

उहाँका अनुसार, चिसोको समयमा विद्यालयसमेत एक महिनाको लागि स्थानीय रुपमा बिदा हुन्छ । यही समयमा यहाँका मानिसहरु तीन÷चार महिना मध्यपहाड तथा तराई क्षेत्रतिर स–परिवार घुमफिर गरी जीवननिर्वाह गर्छन् । 

स्थानीयहरु विशेषः गरी पुस देखि चैत्र अन्तिमसम्म बाहिर नै घुमफिर गर्छन् । वैशाख दोस्रो सातादेखि जेठ पहिलो हप्ताभित्र घर फर्किन्छन् । 

त्यो समयमा गाउँमा बर्खाको लागि दाउरा काट्नु पर्ने र कोदोको बीउ राख्ने समय भएकाले गाउँ फर्किने गरेको हो । उहाँले थप्नुभयो, ‘चिसोबाट जोगिनुको साथै गाउँघरमा आम्दानी कमी हुन्छ, त्यसैले हिउँदभरि बाहिर–बाहिर नै घुमफिर गरेर जीवन निर्वाह गर्छन् । आफूले उत्पादन गरेको अन्नपातले बर्खामा खाने गर्दछन् ।’ 

घुमफिर र व्यापार

अहिले भोटखोलावासीहरु कबिला झर्दा घुमफिर मात्रै गदैनन् । घुमफिरका साथै उनीहरु विभिन्न जडीबुटी र चीनको तिब्बतबाट ल्याएको विभिन्न सामानको व्यापार व्यवसायसमेत गर्छन् । कतिपयले भने मध्यपहाडी क्षेत्रका गाउँघरमा गएर ज्याला मजदुरी काम समेत गर्छन् ।

तीन÷चार महिनामा एउटा परिवारले कम्तीमा पनि ७०÷८० हजार देखि लाख रुपैयाँसम्म आम्दानी गरेर गाउँ फर्किने गरेको अरुणोदय माध्यमिक विद्यालयका प्रअ छिरिङ्ग भोटेले बताउनुभयो । उहाँ भन्नुहुन्छ,‘भोटखोलाका मानिसहरु अहिले टाठाबाठा भइसके । उनीहरु घुमफिरका साथै आम्दानी समेत राम्रो गरेर घर फर्किन्छन् । यो सबै गाउँघर कुना–कन्दरामा समेत शिक्षाले ल्याएको परिवर्तन हो ।’

भोटखोलामा केही समय पहिलेसम्म नेपाली भाषा नै नबुझ्ने र नजान्ने मानिसहरुको बसोबास थियो । तर अहिलेका युवापिंढीहरु अधिका्रसले नेपाली भाषा राम्ररी बुझ्ने प्रअ भोटेको भनाइ छ । 

‘सदरमुकाम आवातजावात भइरहने, मोबाइल, फिल्म लगायत हेर्न र धेरै मानिसहरुसँग सम्पर्क हुने भएकाले परिवर्तन भएको हो,’ प्रअ भोटेले थप्नुभया,‘हिउँदभर घुमफिरपछि घर फर्किँदा बर्खाको लागि चाहिने अन्नपात, नुनतेल र लत्ताकपडा लगायतका आवश्यक घरायसी सामानहरु बोकेर उनीहरु फर्कन्छन् ।’

जिल्लाको विकट कर्णाली क्षेत्र भनेर चिनिने उत्तरी भोटखोला क्षेत्रका मानिसहरु हिउँद लागेपछि बर्सेनि तराई झर्नु न्यानोको खोजीका साथै आम्दानी गर्नुपनि हो । उक्त हिमाली भेगमा भोटे, शेर्पा, तामाङ र गुरुङ समुदायका मानिसहरु बसोबास गर्ने गरेको पाइन्छ । सदरमुकाम खाँदबारीबाट चार÷पाँच दिनको पैदल यात्रापछि मात्रै गन्तव्य पुगिन्छ । 

कबिला झर्नुको अर्को उद्धेश्य घरमा भएको अन्नपातको बचावटसमेत हो । घरमा ताल्चा लगाएर पशुचौपयाहरु जङ्गलमा नै छाडा छोडी कबिला झर्ने गरेको चेपुवा–१ का अर्का स्थानीय पिम्बिन लामाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आफ्नो जग्गाबारीमा उत्पादन भएको अन्नबालीले बर्षदिन खान पुग्दैन, त्यसकारण पनि हिउँदमा त संसार चाहार्नैपर्छ । त्यसैले पुस, माघको मुटु नै छेड्ने जाडो छल्न कै लागि भए पनि हामी न्यानो ठाउँतिर झर्ने गर्छाैँ, पुसमा झरेर छिटोमा चैत्र अन्तिम सातातिर फर्कन्छाँै, खान लाउनको समस्या भन्दा पनि जाडोबाट बाँच्न कबिला झर्छाँै ।’

फेरिँदैछ कबिला झर्ने परम्परा 

केही समय अघिसम्म भोटखोलाका स्थानीयहरु स–परिवार डोकोभरि सामान बोकेर सदरमुकाम झर्ने गर्दथे । एउटा समूहमा कम्तीमा पनि तीन÷चार परिवारका २०÷२५ जना ठूला अभिभावकदेखि साना केटाकेटी र कुकुरका छाउरा छाउरी लिएर लावालस्कर सहित पैदल झर्थे । 

तर अहिले त्यस्तो परम्परा भने हटेको छ । भोटखोला गाउँपालिकाको बरुण र सिम्बुङ्गसम्म सवारी यातायातको सुविधा भएकाले उनीहरु गाडीमा नै यात्रा गर्छन्, त्यसैले पहिलेजस्तो लावालस्कर देख्न पाइँदैन । 

उनीहरु गाउँ नजिकैबाट गाडीमा आवतजावात गर्ने भएकाले पहिलेजस्तो नदेखिने गरेको प्रअ भोटेको भनाइ छ । 
‘गाउँबाट सिधै सदरमुकाम खाँदबारी झर्छन् । त्यसपछि धरान, इटहरी हुँदै काठमाण्डौलगायत विभिन्न ठाउँमा पुग्छन् । केही मानिसहरु मात्रै पैदल झर्छन्,’उहाँले भन्नुभयो ।

कबिला झरेका मानिसहरुको यात्रा सदरमुकाम खाँदबारी आसपासका क्षेत्र चिचिला, मत्स्यपोखरी, सेकाहा, चिप्लेगाउँ, माल्टा, आङ्ला र गुवाबारीलगायत हुँदै धरान, काठमाण्डौदेखि भारतको दार्जिलिङ्ग, सिक्किम र कालीबमसम्मको हुने गर्दछ ।
 
त्यस हिमाली भेगमा विशेष गरी आलु, कोदो, मकै, जौ, फापरमात्र उत्पादन हुने गर्दछ । यो क्षेत्रमा धान उत्पादन हँुदैन भने मुख्य पेशा कृषिका साथै चौरी, याक, भेडा, च्याङग्रा लगायतका पशुपालन हो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया