पत्रकार लामा अमेरिकाबाट प्रदान गरिने पत्रकारिता पुरस्कारबाट पुरस्कृत

 माघ १७, २०७५ बिहिबार १५:२२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - पर्साको ग्रामिण क्षेत्र ठोरीमा बसेर पत्रकारितामा सक्रिय पत्रकार प्रेम लामा अमेरिकाबाट प्रदान गरिने ‘कामदा–मिलन’ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । 

चितवनको पटिहानीमा आयोजित नेपाल महिला पत्रकारको राष्ट्रिय भेलामा लामालाई सम्मानसहित ४ सय अमेरिकी डलर (४४ हजार ६ सय १५ नेरु) नगदले पुरस्कृत गरिएको हो ।

पत्रकार लामालाई पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा सम्मानसहित नगदले पुरस्कृत गर्नुभएको हो । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतको उपस्थिति रहेको थियो ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सान्सफ्रन्सिसकोबाट प्रकाशित हुँदै आएको हलिउड खबर डटकमले मोफसलमा रहेर पत्रकारिता गर्ने एक जना पत्रकारलाई पुरस्कृत गर्ने योजना बमोजिम लामालाई यस वर्ष पुरस्कार प्रदान गरेको हो ।  

पर्साको विकट गाउँ ठोरीमा बसेर पत्रकारितामार्फत समाज परिवर्तन गर्न लागि परेको भन्दै लामालाई पुरस्कृत गरिएको हलिउड खबर डटकमका सम्पादक कृष्ण केसीले जानकारी दिनुभयो ।  

लामालाई पुरस्कार दिने भनेर हलिउड खबर डटकमको २०१८ डिसेम्बर ९ तारिखका दिन आयोजित वार्षिकोत्सव कार्यक्रममा घोषणा गरिएको थियो । ग्रामिण क्षेत्रमा बसेर पत्रकारितामा लागेकाहरुको मनोवल उच्च बनाउन पुरस्कारको स्थापना गरिएको कामदा मिलन पत्रकारिता पुरस्कारका संस्थापक रोशन अधिकारीले बताउनुभयो । स्वर्गीय माता पिताको सम्झनामा अधिकारीले अमेरिकामा ‘कामदा मिलन’ पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो । 

पर्सा जिल्लाको ठोरी गाउँपालिका–१, सरस्वतीनगर घर भएका लामालाई पत्रकारिता माध्यमद्वारा समाजमा पुर्याएको सकारात्मक योगदानको कदर गर्दै सम्मानसहित नगदले पुरस्कृत गरिएको सम्पादक केसीले जानकारी दिनुभयो ।

मोफसलमा रहेर पत्रकारिता मार्फत समाज परिवर्तनका लागि योगदान पुर्‍याउने पत्रकारको हौसला बढाउन प्रत्येक वर्ष एक जना पत्रकारलाई सम्मानित गरिँदै आएको हलिउडखबरका नेपाल प्रतिनिधि सोनी शर्माले जानकारी दिनुभयो । 

डेढ दशकदेखि विभिन्न सञ्चार माध्यममा आवद्ध रहेर पत्रकारितामा सक्रीय लामालाई थप हौसला मिलोस् भनेर पुरस्कार प्रदान गरिएको फाउन्डेसनका रेशम अधिकारीले बताउनुभयो । पत्रकार लामा स्थानीय एफएम रेडियोसहित वीरगंजबाट प्रकाशित हुने प्रतिक दैनिकमा आवद्ध हुनुहुन्छ ।  
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया