मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण, खेलप्रेमी राजा आर्सनलका फ्यान

 माघ १७, २०७५ बिहिबार १६:५५:१७ | रासस
unn.prixa.net

क्वालालम्पुर – मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गर्नुभएको छ । 

यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ राजाले राज्यारोहण गर्नुभएको हो । 

खेलप्रेमी नयाँ राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा नीलो पानी रङको औपचारिक पोशाक लगाउनुभएको थियो । मलेसियाका नयाँ राजा इंग्लिस फुटबल क्लब आर्सनलका प्रशंसक पनि हुनुहुन्छ । अध्ययनका क्रममा लण्डन बस्दा उहाँले मैदानमै पुगेर आर्सनलको खेल पनि हेर्नु भएको छ । त्यस्तै उहाँ थियरी हेनरीको पनि प्रशंसक भएको राजा अहमदका प्रोटोकल अफिसर अब्दुल रहमान इन्दुतले जानकारी दिनुभएको छ । आर्सनलको रङ रातो भए पनि राजालाई भने नीलो रङ मन पर्छ । 

क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा संस्कृतिक र परम्परागत रुपमा आयोजना गरिएको भव्य समारोहमा नयाँ राजाले सपथ ग्रहण गर्नुभएको थियो । 

समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मदसहित हजारौँ अतिथिहरु, मुस्लिम धर्मगुरुहरुलगायतको उल्लेख्य सहभागिता थियो भने टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । 

सपथ ग्रहण अगाडि ५९ वर्षीय नयाँ राजा अब्दुल्लाहलाई राष्ट्रिय संसदमा स्वागत गरिएको थियो भने सम्मान गारत पनि दिइएको थियो । मलेसियाको राजसभाद्वारा केही दिन अगाडि संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६औँ राजा हुनुभएको छ । 

यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले यही जनवरी ६ मा राजीनामा घोषणा गरेपछि अब्दुल्लाहलाई नयाँ राजा चयन गरिएको हो । मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावधि नसकिँदै राजीनामा दिने मुहम्मद पहिलो राजा हुनुहुन्छ । 

उहाँले राजीनामा दिनुको कारण अहिलेसम्म स्पष्ट पारिएको छैन, तर रुसी पूर्व सुन्दरीसँग विवाह गरेकाले उहाँले राजीनामा दिएको बताइएको छ । राजीनामा घोषणा गर्नुअघि ४९ वर्षीय १५औं राजा सुल्तानले केही सातादेखि बिदा लिनु भएको थियो । उहाँले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिनु भएको थियो । 

राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हाल्नु भएको थियो । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्परा अनुसार ५९ वर्षीय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित हुनुभएको हो । 

नयाँ राजा अब्दुल्लाह खेलकुद क्षेत्रमा अत्यधिक सक्रिय व्यक्ति हुनुहुन्छ । उहाँ आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य पनि हुनुहुथ्यो । साथै उहाँले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेबारी पनि सम्हाल्नु भएको छ । 

उहाँसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रुपमा घोषणा गरिएको अधिकारीहरुले बताएका छन् । यसअघि पनि कार्यबाहक राजाको जिम्मेवारी सम्हाल्नु भएका ६२ वर्षीय नज्रिनलाई उपप्रमुखको रुपमा फेरि पनि पाँच वर्षका लागि निरन्तरता दिइएको हो । 

सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुने व्यवस्था छैन । तर प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ । 

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुने व्यवस्था रहेको छ । बहुसङ्खयक मुसलमानहरूले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकताबद्ध राखेको विश्वास गर्छन् । 

अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । तर राजाको मानहानी हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुन सक्ने व्यवस्था रहेको छ । 

मलेसियाका १३ राज्यमध्ये नौ राज्यमा परम्परागत शासकहरू अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यमा गर्भनर छन् । ती नौ राज्यका सुल्तानमध्येबाट चक्रिय प्रणाली मार्फत् पाँच पाँच वर्षका लागि राजा छान्ने परम्परा रहेको छ । 

प्रायः पालो कुरेर बसेका सुल्तान पालैपालो राजा हुन्छन् । अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको भएकाले त्यहीँका सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह राजा हुनु भएको हो

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया