डाक्टर केसीको अनसन तोडाउने काम उहाँलाई बोक्नेहरुकै हो : सञ्चारमन्त्री बास्कोटा

 माघ १७, २०७५ बिहिबार १७:५८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले डा. गोविन्द केसीको अनसन तोडाउने काम उहाँलाई बोक्नेहरुकै भएको जनाएको छ । 

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले डा. केसीको अनसन तोडाउने काम उहाँलाई बोक्नेहरुकै जिम्मा भएको प्रतिक्रिया दिनु भएको हो । बिहीबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले डा. केसीको सबै काम पूरा गरेको दाबीसमेत गर्नुभयो । 

मन्त्री बास्कोटाले त्यो विधेयक संसदको दुवै सदनबाट पारित भएकाले यस सम्बन्धमा बहस गरिरहनुको औचित्य नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई संसदले पारित गरिसकेको त्यस विधेयकमाथि अनावश्यक बहस निकालेर संसद अवरोध नगर्न पनि चेतावनी दिनुभयो ।

कांग्रेसले ‘पूर्व ताकेर पश्चिममा प्रहार’ गर्न खोजिरहेको मन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले डा. केसीसँग गरिएको सहमतिअनुसार प्रधानमन्त्री केपी ओलीकै अगुवाईमा त्यो विधेयक संसदबाट पारित गरिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री बास्कोटाले एउटा व्यक्तिको मागलाई बोकेर संसद अवरोध गर्ने काम कसैले पनि गर्न नहुने बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया