मेची–महाकाली रेल दौडाएरै छाड्छौँ : प्रधानमन्त्री ओली

 माघ १७, २०७५ बिहिबार २०:२७:१६ | रासस
unn.prixa.net

झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

झापाको भद्रपुर–५ स्थित मेची पुलको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने सङ्कल्प गरेको छ, मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्छौँ ।’

रेल र पानी जहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताउनुभयो । सरकारले नेपाल र भारतसँगको नजिकको बन्दरगाहबाट पानी जहाज सञ्चालन गर्न लागेको बताउँदै उहाँले कोशी नदीमा पनि पानी जहाज सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो । 

मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको उहाँले उल्लेख गर्नुभयो । पुल सञ्चालसँगै भद्रपुर विकासको गतिमा एक कदम अघि बढेको उहाँले बताउनुभयो ।

‘अब मेचीपुल सञ्चालन भएपछि यहाँको व्यापार–व्यवसाय बढ्नेछ’, उहाँले भन्नुभयो, ‘समृद्धिको मार्गमा भद्रपुर अघि बढ्नेछ ।’

तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विसं २०६८ माघ २१ गते मेची पुलको शिलान्यास गर्नुभएको थियो । कूल रू ३३ करोडको लागतमा निर्माण भएको पुलको लम्बाइ ५६० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुल निर्माण भएसँगै भारतको बङ्गाल तथा विहार राज्यसँग सडकमार्फत सोझो सम्पर्क स्थापित भएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया