अन्तिम सास फेर्दै गर्दा डा. उपेन्द्र देवकोटाले छाडेका पाठहरु

 असार ६, २०७५ बुधवार १५:१:५५ | मिलन तिमिल्सिना
unn.prixa.net

हजारौं बिरामीलाई अकाल मृत्युबाट बचाएका डा. उपेन्द्र देवकोटा मृत्युसँग लड्दालड्दै थाक्नुभयो र अन्ततः उहाँको चोला उठ्यो ।

जीवनमा सक्रिय रहँदासम्म स्वास्थ्य क्षेत्रमा उहाँले पुर्‍याएको योगदान त कसैले कहिल्यै भुल्न सक्दैन नै । अन्तिमपटक सास फेर्दै गर्दा उहाँले आफ्नो माटो, पानी, देश, संस्कृति र संस्कारप्रति देखाउनुभएको माया र सम्मान पनि सधैं स्मरण गरिनेछ र उहाँको बाटोलाई धेरैले अनुसरण गर्ने अनुमान गर्न सकिन्छ । 

जिन्दगीको अन्तिम सास फेर्दै र आफ्नो भौतिक शरीर सधैँका लागि छोड्दै गर्दा डा. देवकोटाले महत्वपूर्ण र प्रेरणादायी बाटो देखाउनु भएको छ । जुन बाटोमा देश र जन्मभूमिको प्रेम तथा हाम्रो सामाजिक मूल्य मान्यताको अर्थपूर्ण परिवेश छर्लङ्ग देख्न सकिन्छ ।

माटो, पानी र राष्ट्रिय पोशाकको प्रेम

बिरामीको उपचार गर्दागर्दै आफूलाई गम्भीर रोग लागेको कुरा उहाँले बेलैमा थाहा पाउनुभएन । थाहा पाउँदा धेरै ढिलो भैसकेको थियो । पित्तथैलीको क्यान्सर निको पार्न उहाँ ५ महिनासम्म बेलायतमा बस्नुभयो । तर रोग निको नहुने लगभग पक्का भएपछि बाँकी जीवन विदेशको सुविधाजनक अस्पतालमा होइन, आफ्नै देशमा बिताउँछु भन्ने अठोटका साथ गएको वैशाखमा नेपाल फर्कनुभयो । विमानस्थलमा ओर्लनेबित्तिकै एक चिम्टी माटो निधारमा लगाउनुभयो । माटोको सुगन्ध पाएर उहाँको अनुहार राष्ट्रभक्तिले उज्यालियो, चम्कियो ।

हुन त डा. देवकोटा पहिलेदेखि नै देशलाई धेरै माया गर्नुहुन्थ्यो । स्नायु रोग विशेषज्ञमा दक्षिण एसियामा ठूलो ख्याती कमाएका उहाँले विदेशकै कुनै सुविधाजनक अस्पतालमा काम पाउनुहुन्थ्यो । तर उहाँले नेपालमै, त्यसमा पनि वीर अस्पतालमा काम गर्नुभयो । हजारौं नेपालीलाई अकाल मृत्युको मुखबाट बचाउनुभयो । शाहीकालमा मन्त्री हुँदा र अरुबेला सार्वजनिक समारोहमा बोल्दा पनि उहाँ देशप्रेमकै कुरा गर्नुहुन्थ्यो ।

जिन्दगीको अन्तिम सास फेर्दै गर्दा उहाँको देशप्रेम झनै गाढा देखियो । आफू जन्मेको ठाउँ, खेली हुर्केको आँगन, पिंढी, स्कुल ओहोरदोहोर गर्ने बाटो, बाल्यकालमा तिर्खा मेटाएको धारा कुवा कति धेरै प्यारो हुन्छ भन्ने कुरा पनि डा. देवकोटाले जिन्दगीको अन्तिम घडीमा पुष्टी गर्नुभयो । बोली बसि सकेको बेला उहाँले जन्मेको घर पुग्ने र सिस्नेधाराको पानी खाने इच्छा व्यक्त गर्नुभयो । उहाँलाई उतिखेरै हेलिकोप्टरबाट जन्मघर पुर्‍याइयाे  । 

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे–जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।

नाट्य सम्राट  तथा कवि बालकृष्ण समका यी पंक्तिमा उल्लेख गरिएझैँ डाक्टर देवकोटाले पनि जीवनको अन्तिम क्षणमा नेपालकै पाखा–पखेराका जडिबुटी र चिसो पानीको स्वाद लिनुभयो । 

आफू हुर्केको घरको पिंढीमा सुस्ताउँदा उहाँको अनुहारमा छुट्टै सन्तुष्टि देखियो । सिस्ने धाराको पानी पिउँदा अनुहारमा चमक आयो । गाउँका साथीसंगी र आफन्तको अनुहार देख्दा मनोबल बढ्यो । जुन ठाउँमा पुगे पनि आफ्नो जन्मभूमि, परिवेश, साथीभाइ र आफन्तलाई भुल्न हुन्न भन्ने उहाँको यो सन्देश सबैले सिक्नुपर्ने खालको छ ।

त्यति मात्र होइन, आफैले स्थापना गरेको न्यूरो अस्पतालमा प्राण त्यागिसकेपछि उहाँको पार्थिव शरीर नेपाली पोशाकले ढाकियो । शीरमा ढाकाटोपी, ज्यानमा दौरा सुरुवाल । मृत्युवरण गर्नुअघि उहाँले आफ्नो शरीरमा राष्ट्रिय पोशाक लगाइदिन आग्रह गर्नुभएको थियो । उहाँकै इच्छाअनुसार उहाँका सहयोगी र आफन्तले राष्ट्रिय पोशाक लगाइदिए । फूलमालाले ढाकिएको शरीरमा ढाकाटोपी र दौरासुरुवाल देख्दा श्रद्धाञ्जली दिन पुगेकाहरु झन् बढी भावुक भए ।

छोरासरहका छोरी

डा. देवकोटाका तीन छोरीहरु विदेशमा बस्थे । तर बाबु बिरामी भएर ओछ्यान पर्नेबित्तिकै उनीहरु नेपाल फर्किए । बिरामी बाबुलाई एकछिन छाडेनन् । बाबुलाई निको नहुने रोग लाग्यो भन्ने थाहा पाएका उनीहरु आमाजत्तिकै पीडामा थिए । तर बिरामी बाबुको अघिल्तिर उनीहरुले पीडा देखाएनन् । दिनरात बाबुको स्याहारसुसार गरे ।

डा. देवकोटा अन्तिमपटक जन्मघर पुग्दा छोरीहरुले नै सिस्नेधाराबाट पानी थापेर ल्याए । छोरीको हातबाट गाउँको पानी पिउँदा डा. देवकोटाको मुहारमा चमक आयो । उहाँको अनुहार आत्मसन्तुष्टिले धपक्क बलेको देखियो । 

बाबुको अन्तिम सास बाँकी छँदासम्म छोरीहरुले रेखदेख गरे । सास गएपछि पनि उस्तै उदाहरणीय काम गरे । हाम्रो समाजमा अझै पनि छोरीले काजकिरिया गर्न हुँदैन भन्ने मान्यता छ । तर डा. देवकोटालाई उहाँका तीन छोरीले अन्तिम संस्कार गरे । पार्थिव शरीर काँधमा राखेर आर्यघाट पुगे । दागबत्ती दिए र किरिया बसे । छोरा र छोरी बराबरी हुन्, छोराले गर्ने हरेक काम छोरीले पनि गर्न सक्छन् र गर्न हुन्छ भन्ने अर्को महत्वपूर्ण पाठ डा. देवकोटाले आफ्ना छोरीहरुमार्फत सिकाउनुभएको छ ।

संस्कार

मृत्युपछिको संस्कारलाई समयअनुसार परिवर्तन गर्नुपर्छ भनेर केहीले प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन । १३ दिनसम्मको काजकिरिया अव्यवहारिक र कष्टपूर्ण हुने भएकाले यसलाई छोट्याउनुपर्छ भन्ने बहस भैरहेकाबेला डा. देवकोटाको मृत्यु संस्कार ७ दिनमात्रै हुने भएको छ । यो डा. देवकोटाकै इच्छाअनुसार भएको हो भनेर बुझ्न सकिन्छ ।

जन्मपछि मृत्यु अवश्यम्भावी छ । कसैको छिटो हुन्छ, कसैको ढिलो । जिन्दगीको सास्वत सत्य यही भए पनि कालले डा. देवकोटालाई अरु पाका नेपालीलाई जति पनि समय दिएन । तर, जीवनको अन्तिम घडीसम्म अरुको उपकारमा लागेका देवकोटाले देहत्याग गरिसकेपछि पनि नेपालीका लागि अनेकौ महत्वपूर्ण पाठ छोड्नु भएको छ । आफै उदाहरण भएर मृत्युपर्यन्त उहाँले देखाएको बाटो अनुसरण गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
 

अन्तिम अपडेट: असोज ३, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया