चन्द्रगढीमा रात्रीकालीन हवाई उडान सुरु

 माघ १८, २०७५ शुक्रबार ९:५७:३७ | रासस
unn.prixa.net

झापा– भद्रपुरमा रहेको चन्द्रगढी विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ चन्द्रगढी विमानस्थलको रात्रिकालीन उडानको उद्घाटन गर्नुभएको हो ।

विसंं २०२६ मा स्थापना भएको चन्द्रगढी विमानस्थल पचास वर्षमा मात्र रात्रिकालीन उडानका लागि आधुनिक प्रविधिले सुविधायुक्त भएको हो । पन्ध सय मिटर लामो धावनमार्गमा रहेको रनवे लाइटको ‘स्विच अन’ गरेर प्रधानमन्त्री ओलीले रात्रिकालीन उडानको उद्घाटन गर्नुभयो । 

उहाँ यती एयरलायन्सको रात्रिकालीन उडानमार्फत भद्रपुरबाट काठमाण्डाै फर्कनुभएको हो । चन्द्रगढी विमानस्थलबाट अहिले यती एयरले दैनिक दुई, बुद्ध एयरले दैनिक दुई, श्रीएयरले दैनिक दुई र नेपाल एयरलायन्सले सातामा तीन दिन काठमाण्सडाैसम्मको हवाई यातायात सञ्चालन गर्दै आएका छन् । 

विमानस्थलका प्रमुख पूर्ण चुडालका अनुसार अब राति जुनसुकै बेला हवाई यातायात सञ्चालनका लागि चन्द्रगढी विमानस्थल सुविधायोग्य बनेको छ । यती एयरलायन्सले आजैदेखि सन्ध्याकालीन एक उडान नियमित रुपमा गर्ने जनाएको छ भने बुद्ध एयरले दश दिनपछि नियमित रात्रि उडान गर्ने भएको छ । 

ट्राभल्स सङ्घ झापाका उपाध्यक्ष गोपाल खनालले चन्द्रगढीबाट पोखरा र अन्य गन्तव्यमा हवाई यातायात सञ्चालन गर्न सके पर्यटक लाभान्वित हुने बताउनुहुन्छ । 

होटल हिकोला हेरिटेजका प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले रात्रिकालीन उडान सुरु भएपछि झापाको ट्राभल्स र होटल व्यवसायीले प्रत्यक्ष रुपमा लाभ पाउने र पर्यटक बढ्ने बताउनु भएको छ । 

बुद्ध एयरका सेफ्टी डाइरेक्टर रञ्जन शर्माले चन्द्रगढी विमानस्थलमा कम्तीमा अब दुई हजार २०० भिजिबिलिटीसम्म हवाईजहाज उडान भर्न र अवतरण गर्न सुरक्षित भएको बताउनुभएको छ । 

उद्घाटन अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वाधार विकास तथा भौतिक योजनामन्त्री रघुवीर महासेठ लगायतको उपस्थिति रहेको थियो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया