फ्राइडे रिलिज : आजदेखि ‘गोपी’,‘रणवीर’ र ‘सय कडा दश’ प्रदर्शनमा

 माघ १८, २०७५ शुक्रबार ११:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि तीन ओटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएका चलचित्र हुन् गोपी, रणवीर र सय कडा दश । 

चलचित्र गोपीले गाई पालक किसानले गर्नु परेका संघर्ष र चुनौतीहरुलाई प्रस्तुत गरेको छ । चलचित्रले स्वरोजगारका विषयमा पनि बोलेको छ । चलचित्र गोपी चर्चामा छ । गोपी टिमले चलचित्र प्रदर्शन अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाललगायतलाई भेटेका थिए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टले नीतिगत रुपमै मौलिक चलचित्रलाई प्रवर्द्धन गर्ने कुरा सरकारसँग राख्ने आश्वासन दिएका थिए । भेटघाटका क्रममा उनले चलचित्रको बजेट र सुटिङसम्बन्धी जिज्ञासा पनि राखेका थिए । यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले ‘गोपी’ का कलाकार तथा निर्माता निर्देशकसँग भेट गरेका थिए । दर्जनौं गीत तथा नाटकका कलाकार चक्रपाणी खनालले आफू पनि कला पारखी भएको बताउँदै चलचित्रमा सान्दर्भिक विषय उठाएको भन्दै चलचित्र निर्माण टिमलाई सफलताको शुभकामना दिएका थिए ।

आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र ‘गोपी’मा विपिन कार्कीले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्कालगायतका कलाकारको मुख्य भूमिका रहेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायांकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।

यस्तै शुक्रबार देखि नै प्रदर्शनमा आएको अर्को चलचित्रहो ‘रणवीर’। नेपालमा पछिल्लो समय एक्शन जनराका चलचित्रहरु कमै मात्रामा निर्माण भइरहेका बेला एक्शन जनरामा निर्माण भएको चलचित्र ‘रणवीर’ प्रदर्शनमा आएको हो ।

चलचित्र ‘रणवीर’ मा माया, मित्रता सँगै बदलाका भावनाका कारण आइ परेका समस्या र त्यसको समाधानलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्दसिंह भण्डारीको रहेको छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्रको छायांकन महेश पौडेलले गरेका हुन् भने कृष्ण भण्डारीले सम्पादन गरेका हुन् ।

प्राची फिल्म्स र डीआर फिल्मको ब्यानरमा बनेको चलचित्रको निर्माण गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा गरेका हुन् । चलचित्रमा सुशील सिटौला  सुभेक्षा खड्का, सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टीका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंहलगायतको अभिनय देख्न सकिन्छ । 

यसैगरी शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘सय कडा दश’ । चलचित्रमा भ्रष्टाचारको विरुद्धमा एउटा व्यक्तिले गरेको संघर्षको कथा समेटिएको छ । रामशरण पाठकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘सय कडा दश’ बाटै हाँस्य कलाकार मनोज गजुरेलले चलचित्रमा डेव्यू गरेका छन् । 

चलचित्रमा मनोज गजुरेलसँगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ,  रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा, मानस्वी निरौलालगायतका कलाकारको मुख्य भूमिका छ । काठमाण्डौ, पोखरा, सिन्धुली, पाँचथरलगायतका स्थानहरुमा चलचित्रको छायाकंन गरिएको हो । उत्तम खत्री  र रज्जु प्रधानले निर्माण गरेको यो चलचित्र दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको हो । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत रहेको छ ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया