कमलबजार नगरपालिकाले ४० जना विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा पढाउने

 माघ १८, २०७५ शुक्रबार १३:९:९ | चन्द्र थापा
unn.prixa.net

अछाम – कमलबजार नगरपालिकाले नगरभित्रका ४० जना गरिब विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा अध्ययन गराउने भएको छ । नगरका १० वटा वडाबाट ४/४ जनाका दरले गरिब, विपन्न, महिला र दलित समुदायका विद्यार्थीलाई वडाको सिफारिसका आधारमा कमलबजार बहुमुखी क्याम्पसमा अध्ययन गराइने भएको हो ।

४० जना विद्यार्थीलाई क्याम्पसमा शिक्षा संकायमा स्नातक तह पढ्न लाग्ने सबै शुल्क र होस्टेल खर्चसमेत नगरपालिकाले बेहोर्ने निर्णय गरेको नगर प्रमुख ओम प्रकाश विष्टले जानकारी दिनुभयो । यो कार्यक्रमबाट कमलबजार बहुमुखी क्याम्पस सञ्चालनमा सघाउ पुग्ने तथा गरिब विपन्न विद्यार्थीलाई राहत हुने नगरप्रमुख विष्टको भनाइ छ ।

नगरप्रमुख विष्टले भन्नुभयो “तत्कालीन अवस्थामा यो क्षेत्रको माग र आवश्यकतालाई मध्यनजर गरी क्याम्पस स्थापना गरियो, अब मेरो यो क्याम्पसको स्तरवृद्धि गरी नमुना बनाउने लक्ष हो ।” स्थानीय स्तरमा स्थापना भएको क्याम्पस उपयोगी सिद्ध हुने मेयर विष्टको भनाई छ । यतिमात्र नभई नगरले शिक्षाको विकासका लागि १० वडाका ४० जना विद्यार्थीलाई छात्रवृत्तीमा जाल्पादेवी मावि ढाकुमा कृषि विषय अध्ययन गराइरहेको मेयर बिष्टले जानकारी गराउनुभयो ।

गएको आर्थिक वर्षमा क्याम्पसको भवन निर्माण गरेको र चालू आर्थिक वर्षमा पनि भवनका लागि २० लाख विनियोजन गरिएको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत टङ्क  भण्डारीले बताउनुभयो ।

होस्टेलमा बसेर क्याम्पस पढ्ने विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक करिब ५० हजार लाग्ने जनाइएको छ । विद्यार्थी अभाव र आर्थिक अभावमा चलिरहेको क्याम्पसका लागि सबै सरोकारवालाको सकारात्मक सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया