कम्युनिष्ट विरोधीहरु सरकारलाई कमजोर पार्न आगो झोस्दै हिँडेका छन् : उपप्रधानमन्त्री पोखरेल

 माघ १८, २०७५ शुक्रबार १३:४७:३७ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेलले कम्युनिष्ट विरोधिहरुले सरकारलाई कसरी कमजोर पार्ने र लडाउने भनेर आगो झोस्दै हिँडेको बताउनु भएको छ ।

शुक्रबार नवलपुरको कावासोतीमा भएको जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै कम्युनिष्ट विरोधीहरुको मुटु भतभती पोलेको र उनीहरुले हातमा पुल्ठो बोकेर कहाँ झोस्ने भन्दै हिँडेको बताउनु भयो । उहाँले भन्नुभयो  ‘कम्युनिष्ट विरोधीको मुटु भतभती पोलेको छ अहिले उनीहरुलाई उखरमाउलो भएको छ, हातमा पुल्ठो बोकेर झोस्दै हिँडेका छन् ।’

उपप्रधानमन्त्री पोखरेलले कांग्रेस सत्ता बाहिर बस्नुपर्दाको पीडा पोखेको टिप्पणीसमेत गर्नु भएको छ । ‘बिरालो रिसायो भने खाँबो चिथोर्च, अहिले प्रतिपक्ष कांगे्रलाई भएको त्यही हो, कम्युनिष्टहरु चुनावबाट दुई तिहाई आए, यसलाई कसरी ढाल्ने कसरी लडाउने, यसलाई ढाल्न पाए, असफल बनाउन पाए पचासौ वर्ष रजगज गर्न पाइने थियो भन्ने कांग्रेसलाई लागेको छ’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ‘उनीहरु अहिले सबै मिलेर सरकारको बदनाम गराउन लागि परिरहेका छन् ।’ 

उहाँले प्रतिपक्षको गतल कुराको जवाफ नागरिकको साथले दिने भन्दै नागरिकका कुरा सुनेर कार्य गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलले सरकाले आफ्नो घोषणा पत्र अनुसार काम गर्दे गएको बताउनु भएको छ । सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य बीमा, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिसकेको भन्दै सरकारले ज्येष्ठ नागरिकहरुलाई आफ्नो कार्यकालमा मासिक भत्ता पा“च हजार पुर्‍याउनेसमेत बताउनु भएको छ ।

नेता पोखरलेलले पार्टी एकीकरणको काम तल्लो तहबाट नै गर्न आग्रहसमेत गर्नु भएको छ । ‘केन्द्रमा आफ्नो हिसाबले योजनाबद्ध तरिकाले  एकीकरणको काम चल्दै गर्छ, तपाईंहरु तल्लो तहमा मिलेर काम गर्नुहोस ’ उहाँले भन्नभयो, ‘माथि पनि एकीकरणको काम गर्न सन्देश दिने गरी मिलेर काम गर्नुहोस् ।’

भेलामा बोल्दै उहाँले पुराना कुरा बिर्सेर अगाडि बढ्नसमेत कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ । भेलामा जिल्लाका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

 

अन्तिम अपडेट: चैत २, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया