गलत लाञ्छनाकाे भ्रम चिर्न राजीनामा दिएकाे हूँ: अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा

 माघ १८, २०७५ शुक्रबार १४:३६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले शुक्रबार पदबाट  राजीनामा दिनुभएकाे छ। 

प्रेस वक्तव्य जारी गर्दै शेर्पाले आफूमाथि गलत लाञ्छना लागेकाले जनमानसमा फैलिएकाे भ्रम चिर्न राजीनामा दिएकाे खुलाउनुभएकाे छ ।

आफ्ना नीजी सहयाेगीले गरेकाे गलत कार्यका कारण आफू आलाेचित हुनुपरेकाे उहाँकाे भनाइ छ  । उनीहरुलाई कारबाही गर्न आफूले अष्ट्रेलियाकाे सम्बन्धित निकायमा उजुरी गरेकाे र परराष्ट्र मन्त्रालयमा ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएकाे तर साटाे सरकारले उल्टै आफूमाथि छानबिनकाे लागि समिति बनाएकाेमा खेद प्रकट गर्नुभएकाे छ ।

वक्तव्यमा भनिएकाे छ, ‘सम्मानित अदालतले म्याद जारी गर्दा पनि हाल फरार रहेका वाङ्छुलाई नेपाल सरकारले अविलम्ब  नेपाल झिकाइ कानुन अनुसार कारबाही गरी पीडितहरुलाई न्याय दिन अनुरोध गर्दछु ।’

यस्ताे छ विज्ञप्ति :

आदरणीय पत्रकार साथीहरु,

जिम्मेवारीको हिसाबले अष्ट्रेलियाको लागि नेपाली राजदूतको जिम्मेवारीमा रहेको हुँदा मेरो विरुद्ध आएको भ्रम, लान्छना र निराधार आरोपहरु तत्काल चिर्नको लागि कुटनीतिक मर्यादाको कारण आफुमाथि एकोहोरो भ्रम, लान्छना र फरेबको पहाडै खसेपनि मुकदर्शक झै बस्नु परेको यहाँहरुलाई बिदितै छ । म यहाँहरु समक्ष प्रेस विज्ञप्ति मार्फत सत्य प्रष्ट पार्ने अनुमति चाहन्छु । 

गलत नियत राखी, एकतर्फी ढंगले आएको अतिरञ्जनाको जवाफ दिन आवश्यक नभए पनि यस्ता बिषयले सर्बसाधारणमा भ्रम सिर्जना भएकोले यसको निवारण गर्न आवश्यक ठानेर नै यो प्रेस बिज्ञप्ती प्रेषित गरेको छु ।

घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको  पछाडि लागेर आफ्नो देशको डिप्लोम्याट जो रातदिन देश र जनताको हितार्थ समर्पित छ, त्यस्ता व्यक्तिहरुलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुखद छ ।  यस्तो गलत परम्पराले हाम्रो समाज कता जाला, मुलुकलाई कहाँ पुर्याउला ? यो विचारणीय कुरो छ ।

शरणार्थी माध्यमबाट पी.आर. पाउने र केही व्यक्तिले देशकै ब्यवस्थाको मानमर्दन गर्दै पी.आर. दिलाउन एसाइलमको खेती गर्ने कुचेष्टाले मेरो निजी सहयोगी वाङ्छु शेर्पालाई प्रयोग गरी कथिएको भ्रमजाल स्वरुप हामीमाथि आधारहीन, नियोजित तरिकाले निराधार आरोप लगाईएको छ । जतिसक्दो गलत आरोपहरु राजदूतविरुद्ध संग्रह गर्ने कुचेष्टाले फरक प्रसंगमा प्रत्यक्ष बोलिएका कुराहरुलाई टेलिफोन वार्ता भनेर नियोजित र गैरकानुनी तरिकाले तोडमोड गरेर फरार रहेका ब्यक्तिले जनमानसमा भ्रम सिर्जना गरेको स्पष्ट छ ।

हामीमाथि संगिन र आधारहिन आरोप लगाउनु भन्दा अगाडि एकचोटी घोत्लिएर सोच्नु जरुरी छ मेरो जीवनको करियरको सुरुवात नै मानबतस्करी  विरुद्धको अभियानबाट  शुरु भएको हो । गाउँको दुरदराज, झुपडीदेखि अन्तराष्ट्रिय मञ्च हुँदै नीतिनिर्माण तहसम्म भूमिका रहेको छ । कैयौ पीडितहरुलाई नयाँ जीवन जिउने आधार दिएको छु । दुखेको घाउमा मल्हमपट्टी लगाउने काम गरेकी छु । मेरो शैक्षिक स्थिति, पारिवारिक पृष्ठभूमि, राजनीतिक सामाजिक आर्थिक हैसियत, साथै पदीय जिम्मेवारीको हिसाबले सभासद हुँदै यहाँसम्म आईपुग्दा सबै तह र तप्काका मानिसहरु मेरोबारे विवेकशील समाजका कोही पनि अनभिज्ञ छैनन् । मेरो जीवन खुला किताब जस्तै छ । मेरो सर्वस्व भनेकै ईमान्दारिता हो । मिथ्या आरोपको बारेमा सम्बन्धित दूताबासहरुसँग सत्यतथ्य जानकारी लिन सकिने सुचनाको हक यहाँहरु सबैमा छ । 

निजी सहयोगी ल्याउने हकमा मन्त्रालयको आफ्नै किसिमको बिधि, प्रक्रिया र स्रोतसाधन छ । यसर्थ सम्बन्धित व्यक्तिको  कार्यगत र भाषिक परीक्षण लिइएता पनि निजको नियत र ईमान्दारिताको परिक्षण लिन चुक्यौँ र समस्याको जड त्यही नै रह्यो । विदेशमै बस्ने लालसाले अन्ततः जसरी पनि पि.आर. पाउन यसैको सौदाबाजी गर्ने व्यक्तिको चंगुलमा पुगें ।

केही सञ्चार माध्यममा काल्पनिक कथा बनाएर विचार सही सम्प्रेषण नगरी वास्तविक पीडितहरुको कुरै नसुनी एकपक्षीय रुपमा ठगिमा संलग्न व्यतिको भनाइ मात्र सम्प्रेषण गरी जनमानसमा दिग्भ्रमित पार्ने काम गरेका छन् । यो आर्थिकसँग जोडिएका मामिला भएकोले निजले सामाजिक सञ्जालमा दावी गरिएको  हाम्रो बैंक खाता लगायत सम्पूर्ण आर्थिक कारोबार अनुसन्धानको लागि खुला राखिएको छ ।   

पत्रकार साथीहरु,

मिति २०७४ मंसिर ५ गतेदेखि नै नेपाल सरकार परराष्ट्र मन्त्रालय लगायत अष्ट्रेलियाको सम्बन्धित निकायमा निजको चोरी ठगीसम्बन्धी गैरकानुनी कृयाकलापको बारेमा पत्रमार्फत कारबाहीको लागि पीडितहरुले पठाएको प्रमाणसहित उजुरी पठाउनुको साथै २०७४ साल मंसिर ११ गते र २०७५ साल मंसिर १६ गते ताकेता गरी परराष्ट्र  मन्त्रालयमा पत्र पठाएको हो । कुटनीतिक माध्यमबाट वर्षौँदेखि पठाएको पत्र परिपत्रलाई कुनै सुनुवाई नहुने तर जस्केलाबाट कसैले  चिच्याएको भरमा आफ्नै कुटनीतिक नियोग प्रमुखको विषयमा छानबिन समिति बनाउने  यो देशको कस्तो बिडम्बना ? कस्तो दुर्भाग्य ? कुटनीतिक प्रतिष्ठा र मर्यादामाथि प्रहार हुने गरी कसैले नियोजित घटना घटायो भने अन्य मुलुकहरुले सत्यको गहिराई पत्ता लगाएर आफ्नो प्रतिनिधिको आवाज सुन्ने गम्भीरता प्रस्तुत गरेका उदाहरणहरु छन् ।

निजले मेरो विरुद्ध आरोप लगाएपछि अनुसन्धानमा सहयोग गर्न मैले आफ्नो कुटनीतिक उन्मुक्ति खुला (Diplomatic immunity waive )  अष्ट्रेलियन सरकारसमक्ष पेश गरेको अवगतै छ । अष्ट्रेलियन सरकारले म माथि लागेको सम्पूर्ण आरोप झूट सावित गर्दै स-सम्मान कुटनीतिक रुपमा काम गर्ने हौसला प्रदान गरिएको गरिसकेको जानकारी गराउन चाहन्छु ।

पत्रकार साथीहरु,

अष्ट्रेलियास्थित नेपाली दूताबास सम्हाल्न आइपुगेदेखि नै नेपाल सरकारले दिएको जिम्मेवारी यहाँको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका लगायत अष्ट्रेलियन समाजमा गर्विलो छाप बनाउन सफल भएका थियौँ । अष्ट्रेलियामा ठूलो संख्यामा नेपाली विद्यार्थीको उपस्थिति रहेको छ नेपाली समुदाय लगायत सेवाग्राहीका लागि बाहै महिना २४ सै घण्टा नेपाली समुदायमा खटिएर काम गरेकी छु यहाँको स्थानीय बिदामा पनि अहोरात्र खटिएर काम गरेको यहाँ सेवाग्राहीहरुकै भनाइबाट बुझ्न साकिन्छ । डिप्रेसन र अनेकौँ रोगका शिकार भएकाहरुलाई आफ्नै र कन्सुलर जेनेरलहरुसँग मिलेर उनीहरुको स्वेच्छाले नेपाल फर्काउने काम गरेकी छु, अन्य नेपाली संघसंस्थाले पनि यसमा पहल लिएको छ ।  अनाहकमा झुटा मुद्धा लगाई फसाइएका नेपालीहरुलाई कठोरतम जेल सजाय हुनबाट बचाएको छु । हाल नेपाली समाजमा समस्याकै रुपमा देखा परेको कैयौँको घरबार टुट्नबाट जोगाउने काम गरेकी छु । कतिपय नेपालीहरुले दूताबासको क्षेत्रधिकारभित्र यस्ता जिम्मेवारी पनि पर्छन भन्दै अचम्मित भएको पाइयो ।  अझ भनौँ नेपालीहरुले अभिभावक नेपाली दूताबास हो भन्ने मान्यता स्थापित गर्ने प्रयास गरेकी छु । दूताबासले पनि पीडित र सेवाग्राहीको  पक्षमा यस्तो भूमिका खेल्न सक्छ भन्ने मान्यता स्थापित गर्नुको साथै आँट भरोसा नेपाली समुदायलाई दिएकी छु । यी सबै सम्झँदा आफूलाई गर्वको अनुभुति हुन्छ ।

पत्रकार साथीहरु ,

यहाँहरुलाई दुखको साथ भन्नैपर्ने हुन्छ आफूले ल्याएको निजी सहयोगीको कर्तुतहरु र पीडितहरुले गरेका उजुरीका चाङहरु मसँग छन् । नक्कली ड्राइभिङ लाइसेन्स धन्धामा देशको शिर्षस्थ नेताको समेत  नाम दुरुपयोग गरी कैयौँलाई ठगी गरेको, भूकम्पपीडितलाई ट्याक्सी  निकालिदिन्छु भनी दर्जनौँलाई ठगी गरेको साथै विदेश लैजान्छु भनी नक्कली कागजात मात्र होइन नक्कली भिषा नै बनाएर कैयौँलाई ठगी गरेको   साथै सन् २०१७ सेप्टेम्बरमा अष्ट्रेलियाको टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा अन्य देशको निजी सहयोगी भागी प्रोटेक्सन भिषा पाएको घटनाबाट प्रेरित भइ हामी न्युजिल्याण्ड गएको मौका छोपी कोही नभएको बेला दुताबासबाट चोरी गरी फरार भएपछि पीडितहरुको सप्रमाण सम्बन्धित निकायमा गरेको उजुरिबाट ठगी धन्धामा लागेको थाहा भयो । पी.आर पाउने गलत मनशायले धेरैलाई ठगी गर्दै गलत बाटो रोजेकोले, ब्रिजिङ भिषामा रहेका ब्यक्तिले प्रोटेक्सन भिषा रहेको भनी सबैलाई गुमराहमा राखेको र निजले केही एसाइलमका धन्धा चलाएर बसेका ब्यक्तिहरुको उक्साहटमा लागेर आफू र नेतृत्व तहलाई बदनाम गर्ने नियत देखिएको महसुस भई सम्मानित अदालतले म्याद जारी गर्दा पनि हाल फरार रहेका वाङ्छुलाई नेपाल सरकारले अविलम्ब  नेपाल झिकाइ कानुन अनुसार कारबाही गरी पीडितहरुलाई न्याय दिन अनुरोध गर्दछु ।

मैले कुनै पदको लागि भन्दा पनि देश र जनताको लागि अहोरात्र खटिएर सेवा गर्दै यो पदमा रहेको हुनाले देश र जनताको हितमा अनवरत र अविचलित रुपमा एकाग्रताको साथ लागिरहने बाचा गर्दै पदभन्दा आफ्नो मानप्रतिष्ठा र इज्जतलाई सर्वेपरी ठानी मैले आफ्नो नैतिकताको आधारमा राजीनामा नेपाल सरकारसमक्ष पेश गरेको छु ।  एक दिन मर्नुपर्ने जीवनमा ईमान्दारिता, कर्तव्यपरायण र मानव सेवाबाट आजसम्म चुकिनँ र कहिल्यै चुक्ने पनि छैन । देश र जनताप्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा म माथि भएको चरित्रहत्याको न्याय कहिले र कस्ले दिने ? न्यायिक फैसला होस्, सत्य नमरोस्; त्यसैका लागि मैले बाटो खुला गरेको हुँ ।   

अन्त्यमा, अष्ट्रेलिया र न्यूजिल्याण्डका नेपाली दाजुभाइ दिदिबहिनीहरु यहाँहरुले दिनुभएको माया, आत्मीयता, सद्भाव र सहयोगी भावना मेरो लागि अविष्मरणीय हुनेछ । नेपाल सरकार, नेपालीहरुको साझा संगठन एन.आर.एन.ए. ओसियाना, एन आर एन ए, एन.सि.सी. अष्ट्रेलिया, न्यूजिल्याण्ड साथै अन्य नेपाली संघसंस्था, विभिन्न पेशा व्यवसायमा रहनुभएका साथीहरु, बुद्धिजीवी वर्ग, पत्रकार बन्धुहरु, सम्पूर्ण अवैतनिक बाणिज्यदूत साथीहरु, अष्ट्रेलियन सरकार  र नेपाली दूतावास क्यानबेराका साथीहरु साथै अष्ट्रेलियान्यूजिल्याण्ड र विश्वभरी रहनुभएका सम्पूर्ण मेरा शुभेच्छुक, शुभचिन्तक मित्रहरुमा यहाँहरुले दिनुभएको अमूल्य सल्लाह, सुझाव र सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दै मुरिमुरी धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

लक्की शेर्पा

अष्ट्रेलियाका लागि नेपाली राजदूत

मिति : २०७५१०१८

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया