सिंहदरबार अगाडिबाट नेविसंघले सरकारविरोधी नारा लेखिएको कालो बेलून उडायो

 माघ १८, २०७५ शुक्रबार १४:३१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्धको आन्दोलनलाई चर्काउँदै गएको छ । 

कांग्रेसको अवरोधका बाबजुद संघीय संसदबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएपछि सरकारविरुद्ध आन्दोलन सुरु गरेको नेविसंघले शुक्रबार सिंहदरबारको मूल गेट अगाडिको निषेधित क्षेत्र तोड्दै आन्दोलनलाई झनै चर्काएको हो ।

त्यस अवसरमा नेविसंघका ८ जना कार्यकर्ताहरुले कालो बेलूनमा सरकारविरोधी नारा लेखेर उडाएका थिए । उनीहरुले निषेधित क्षेत्र पृथ्वीनारायण शाहको शालिकबाटै बेलुन उडाएपछि डा. गोविन्द केसीको जीवन रक्षा गर्न र निर्मला पन्तलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए ।

नेविसंघले गएको माग ११ गते प्रतिनिधिसभाबाट डा. केसीसँग गरिएको सहमति विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको विरोधमा आन्दोलनलाई तीव्रता दिएको हो । 

डा. केसीको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्धको आन्दोलनलाई झनै आक्रामक बनाउने नेविसंघको चेतावनी छ । नेपाली कांग्रेसले डा. केसीको माग सम्बोधन नगरेको, निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सुरु गरेको आन्दोलनलाई विद्यार्थी संगठन नेविसंघले तीव्रता दिएको हो ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया