नेपाल टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने सरकारको तयारी

 माघ १८, २०७५ शुक्रबार १५:१४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले नेपाल टेलिकममा रहेको आफ्नो २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा ९२ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेकोमा २६ प्रतिशत सर्वसाधारणका लागि जारी गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो ।

नेपाल टेलिकमलाई जनताको कम्पनीको रुपमा विकास गर्न पनि सरकारले आफ्नो स्वामित्वमा रहेको ९२ प्रतिशत सेयरमध्येबाट २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने योजना अघि सारेको हो । मन्त्री बास्कोटाले सेयर बाँडफाँडको विधिका विषयमा पनि छलफल भइरहेको बताउनु भयो । सबै प्रदेश, कर्पोरेट हाउस, ठूला उद्यमीहरुलाई पनि समानुपातिक ढंगले वितरण हुने गरी सो सेयर बाँडफाँड गर्ने मन्त्री बास्कोटाको योजना छ ।

नेपाल टेलिकममा हाल ९२ प्रतिशत सेयर सरकारको रहेको छ बाँकी ८ प्रतिशत सेयर टेलिकमका कर्मचारीसहित पब्लिकको रहेको छ । मन्त्री बास्कोटाले अब ६६ प्रतिशत सेयर मात्रै सरकारले राखेर बाँकी २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने बताउनु भयो ।

मन्त्री बास्कोटाले मुनाफा बाहिर जाने भएकाले नेपाल टेलिकमलाई अघि बढाउन रणनीतिक साझेदार खोजी नगर्ने निर्णय लिइएको पनि स्पष्ट पार्नु भयो । रणनीतिक साझेदारले आफूले पाएको मुनाफा आफ्नै देशमा लैजाने भएकाले आफूहरुले रणनीतिक साझेदार ल्याउन नचाहेको मन्त्री बास्कोटाको भनाइ छ ।

उहाँले नेपाल टेलिकमले प्रगति गरिरहेको र त्यसमा जनताको अपनत्व अनुभूति गराउन पनि आफूहरुले सर्वसाधारणको लागि उल्लेख्य सेयर जारी गर्ने तयारी गरेको पनि स्मरण गराउनु भयो ।

नेपाल टेलिकममा बजार पूँँजीकरण हाल १ खरव ८ अरव १५ करोड रहेको छ । यसको हाल ल्यान्डलाइन, जीएसएम मोबाइल, सीडीएमए र इन्टरनेट सेवा गरि एक करोड भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया