यूएईको नूर क्यापिटलले किन्यो भेनेजुएलासँग तीन टन सुन

 माघ १९, २०७५ शनिबार ८:४६:३४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे : भेनेजुएलाकाे सुन खानी क्षेत्र पुएर्ताे ओर्दाजमा सुनकाे चक्की देखाउँदै राष्ट्रपति मदुराे

यूएईको अबुधाबीमा रहेको कम्पनी नूर क्यापिटलले भनेजुएलासँग तीन टन सुन किनेको बताएको छ ।

गएको जनवरी १ मा भेनेजुएलाको केन्द्रीय बैंकसँग आफूले तीन टन सुन किनेको कम्पनीले शुक्रबार जानकारी दिएको समाचार रोयटर्समा प्रकाशित छ । नूर क्यापिटलले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सरकार संकटग्रस्त अवस्थाबाट गुज्रिरहेका बेला यस्तो आफूले त्यहाँबाट सुन किनेको बताएको छ ।

एउटा वक्तव्य सार्वजनिक गर्दै नूर क्यापिटलले भेनेजुएलामा राजनीतिक स्थिरता नआएसम्म अरु कारोबार नगर्ने जनाउँदै आफूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै कारोबार गरेको पनि जनाएको छ । 

भेनेजुएला सङ्कट : विश्व समुदाय पक्ष र विपक्षमा

रोयटर्सले बिहीबार मात्रै भेनेजुएलाले पानीजहाजमा राखेर तीन टन सुन यूएईतर्फ पठाएको बताउँदै अरु १५ टन सुन आगामी दिनमा पठाउन लागेको समाचार प्रकाशित गरेको थियो । 

देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार्न भेनेजुएला यूएईलाई फ्रेब्रुअरीसम्म २९ टन सुन बेच्ने तयारीमा रहेको छ । भेनेजुएलाको केन्द्रीय बैंकका दुई जना उच्च अधिकारीलाई सुन बेच्ने कुरामा असहमति जनाएकोमा राजीनामा गराइएको छ । 

मदुरोको सरकारलाई अपदस्थ गर्न अमेरिकाले विपक्षीलाई सघाएको र भेनेजुएलाको केन्द्रीय बैंकलाई सुन नबेच्न दबाद दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

तेल उत्पादनमा कमी र अमेरिकाले नाकाबन्दी लगाएपछि निकोलस मदुरोको सरकारले सुन निर्यात गर्न सुरु गरेको हो । अमेरिकी नाकाबन्दी र तेल उत्पादनमा गिरावट आएसँगै भेनेजुएलाको अर्थव्यवस्था ध्वस्त भएको छ । 

भेनेजुएलासँग १३२ टन सुन मौज्दात रहेको बताइएको छ । बिग्रँदो आर्थिक अवस्था र नागरिकलाई आधारभूत सामग्री उपलब्ध गराउन भेनेजुएलाले सुन बेचेको बताइएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया