जसलाई २०७५ सालमा नेपाली चलचित्र क्षेत्रले गुमायो

 माघ १९, २०७५ शनिबार ११:५५:२ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डौ – २०७५ साल सुरु भएसँगै नेपाली चलचित्र क्षेत्रमा धेरै नयाँ अनुहार भित्रिएका छन् भने केही अनुहार सधैँका निम्ति बिदा भएका छन् ।

२०७५ लागेपश्चात चलचित्र क्षेत्रमा कतिपय खुशीका कुरा भए भने कतिपय अवस्थामा शोकमा पनि डुब्नुपर्यो । वरिष्ठ कलाकार भिमबहादुर थापा, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार गणेश मुनाल, वरिष्ठ कलाकार बीएस राणालाई नेपाली रंगमञ्चले गुमाएको छ ।

भिमबहादुर थापा

वरिष्ठ कलाकार भिमबहादुर थापाको निधन २०७५ जेष्ठ २९ गते मंगलबार राति २ बजे मैतिदेविस्थित आफ्नै निवासमा भएको थियो । उनको ९२ वर्षको उमेरमा निधन भएको हो  । स्वर्गीय थापा निर्देशक दीपाश्री निरौलाका ‘धर्म पिता’ हुन् । सेनानी थापाको जन्म वि.सं. १९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामिडाँडामा भएको थियो । 

उनी सन् १९४२ मा ब्रिटिस आर्मीमा भर्ना भै सन् १९४५ को दोश्रो विश्वयुद्धमासमेत लडेका थिए । उनी दोश्रो विश्वयुद्धको समाप्तिपछि विरताको कदरस्वरुप प्रदान गरिएको डिफेन्स मेडल, जनरल सर्भिस, ब्रह्मा स्टारजस्ता तक्मा छातीमा लगाएर त्यसबेलाको २–३ हजार भारु बोकेर गाउँ फर्किएका थिए ।

नेपाल आर्मीको मेजरसम्मको पदमा पुगेका स्वर्गीय थापाले उमेर हदका कारण वि.सं २०३९ सालमा जागिरबाट अवकाश पाएका थिए । उनको निधनमा नेपाली सेनाले सलामी दिँदै सम्मान प्रकट गरेको थियो । थापाले ब्रिटिस र नेपाल आर्मीमा गरी १४ वटा मानपदक, गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्टजस्ता सम्मान प्राप्त गरेका थिए । 

उनले वि.सं. २०४१ सालमा निर्माण भएको चलचित्र ‘के घर के डेरा’बाट नेपाली चलचित्रमा अभिनय थालेका थिए । उनले ६७ वटा चलचित्र, डेढ सय बढी टेलिफिल्म र ५० भन्दा बढी विज्ञापनमा काम गरेका थिए भने आधा दर्जनभन्दा बढी गीतमा स्वरसमेत दिएका दिएका थिए ।

रामकेशर बोगटी

यस्तै चलचित्र क्षेत्रका लागि २०७५ असोज २३ गते मंगलबार कालो दिन बन्न पुग्यो त्यो दिन चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई सधैँका लागि गुमाउनुपर्यो । ५८ वर्षीय बोगटीको बिजुलीको पोलले थिचेर निधन भएको हो । आफ्नै घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर उनको निधन भएको थियो । 

टिकाथलीस्थित आफ्नो घरबाट निस्किएका बोगटी घर नजिकै गाडी रोकेर रुख काटेको हेर्न पुगेका थिए । विपरीत दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटरसहितको बिजुलीको पोलमा रुख ढल्यो ।

रुखलाई धान्न नसकेपछि पोल पनि ढल्यो । ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेर उनी घाइते भएका थिए । उपचारका लागि बी एण्ड बी अस्पतालमा लैजाँदै गर्दा बाटैमा उनको निधन भएको थियो ।

गणेश मुनाल

२०७५ सालमा चलचित्र क्षेत्रले गुमाएका अर्का वरिष्ठ कलाकार हुन् स्वर्गीय गणेश मुनाल । उनको २०७५ माघ ७ गते सोमवार उपचारका क्रममा निधन भएको थियो । दमका कारण उनी वीर अस्पतालमा उपचाररत थिए । 

दमका कारण उनी लामो समयदेखि अस्वस्थ  थिए । मुनाल काठमाण्डौका स्थायी बासिन्दा थिए । उनले नेपाली चलचित्र ‘लभ लभ लभ’, ‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘दिदीभाइ’, मिस्टर डनलगायतका चलचित्रहरुमा अभिनय गरेका थिए । उनी अभिनित नयाँ चलचित्र ‘गोपी’ यही माघ १८ गतेबाट नेपालभर प्रदर्शनमा आएको छ । 

उनले दीपक–दीपाको हास्य टेलिश्रृंखला ‘तितो सत्य’मा लामो समय अभिनय गरेका थिए भने अन्य थुप्रै टेलिसिरियलमा पनि उनले अभिनय गरेका थिए । उनी आफ्नो आवाजका कारण पनि दर्शकमाझ थप प्यारो बनेका थिए । स्वर्गीय कलाकार मुनालका एक छोरा रहेका छन् ।

बीएस राणा

यस्तै २०७५ माघ १८ गते शुक्रबार पनि नेपाली चलचित्र क्षेत्रले अर्को क्षति व्येहोर्नु परेको छ । शुक्रबार वरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ । स्वाशप्रश्वासमा समस्या देखिएपछि उनलाई विगत एक हप्तादेखि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । उनको शुक्रबार बिहान अस्पतालमा नै निधन भएको थियो ।

उनी केही समयदेखि बिरामी थिए । ७८ वर्षको उमेरमा निधन भएका उनको उपचारको क्रममा मुटुमा पनि समस्या देखिएको थियो । शुक्रबार नै पशुपति आर्यघाटमा उनको अन्येष्टि गरिएको छ ।

विक्रम सम्वत २०४१ सालमा सिनेमा ‘अन्याय’ बाट सिनेमामा डेब्यू गरेका उनले ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्तीलगायत सय भन्दा बढी सिनेमामा काम गरेका छन् । यसका साथै उनले केही टेलिसिरियलहरुमा पनि अभिनय गरेका थिए ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया