तृप्तिकर भ्रान्ति

 माघ १९, २०७५ शनिबार १२:१९:२९ | साजन श्रेष्ठ
unn.prixa.net

‘कोटेश्वर कस्मेटिक सप’ लेखिएको स्टलमा डुलिरहेका आँखाहरु कोरियन शैलीको कालो आउटर र स्यागी ट्राउजरको संयोजनलाई माथिबाट तलसम्म नियाल्दै गालामा बसेका दाह्रीका रेखालाई मिलाउँदै ऊ पसले साहुनीसमक्ष प्रस्तुत हुन कसरत गर्दछ ।

एकाएक एउटा महिला आवाजमा उसको ध्यान आकृष्ट हुन्छ । “द वान विथ द ब्ल्याक लेबल । ” ऊ आक्रोशपूर्ण लवजमा पसलेसामु बारम्बार यही प्रस्ताव दोहोर्‍याइरहन्छे । वक्ताको पछिल्तिर रहेको ऐनालाई खोज्दै ऊ आफूलाई त्यो परिदृश्यमा सामेल गराउँदछ । प्रतिवादबोधक घोसे मुन्टोमा ऊ व्यावहारिक आचरणको चक्रवर्ती प्रणालीमा समाधिष्ट हुन्छ । यसरी ऐनाको परिदृश्यमा शोभायमान सेता चमरका नीलाम्य रक्तनली अधरको रसातलमा विलीन हुन्छ ।

उसको अस्तित्वको पथ प्रदर्शक भई शालीन मुखाकृति खैरा केशराशीलाई फट्कार्दै लुकामारीको खेलमा होमिन्छ । क्षणभरमै खेलको समाप्तिको बिगुल फुक्दै हलचलको कायाकल्पमा नीलाम्मे आवरण गहिरिन्छ, फराकिन्छ अनि नयनको राप लिँदै टाढिन्छ । क्रमशः ठूलो पर्दामा देखिएको भदौको कालो घटा, सूक्ष्मीकरणको लामो यात्रामा साँघुरिंदै जान्छ । मनको रेडियोको प्रष्ट झङ्कारमा समयसापेक्ष धुन, स्वर, शब्द र ध्वनिको सामञ्जस्यतामा मधुर आवाज बोल्छ– ‘तिमी आउँछौ भन्ने आशैआशमा बाटोभरि आँखा ओछ्याइरहन्छु, तिमी सागर भै जता बगे पनि म किनार भई पछ्याइरहन्छु, तिमी आउँछौ भन्ने आशैआशमा............।’ 

ऐनाको सम्मुख पसिनाका छिटा पुस्दै ऊ उमेरको हिसाब गर्छ । चौध वर्ष १५ दिन, छेउको इञ्ची टेपलाई सोझ्याउँदै ऊ नापको कसरतमा होमिन्छ ।  ६ सेन्टिमिटर, कठै ! ऊ आफैसँग बोलिरहन्छ । एक्कासि बन्द कोठामा ढोकाको ढक्ढकाइ सुनिन्छ । “रामचन्द्र, ए रामचन्द्र खनाल, ए बाबु !” , आत्तिंदै अश्लील म्यागजिन पन्छाउन ऊ हतारिन्छ । “के घाँस ! कति बोलाइराख्नु भएको हँ, म अहिले पछि आउँछु आमा !” रवाफपूर्ण जवाफ दिन्छ ।

कल्पना ठूलो शक्ति हो । यसले अभीष्ट जाहेर गर्दछ । प्राप्तिको आभा छोड्छ । समर्पणयुक्त आलिङ्गनमा बाँधिएर एक पतिव्रता स्वीकारोक्तिको सङ्केत दिँदै टाउको हल्लाउँछे । ऊ बोल्दै जान्छ । “अरु सबै घाँस हुन् ।” दुवै हाँस्छन् । कफीको कपमा तरल पदार्थ सेवन गरेको आवाज सुनिन्छ । फेरि दुवै हाँस्छन् । केही क्षणमै रित्तिएको एकमात्र कफी कपलाई उत्तानो पार्दै युवक प्रतिक्रियाको प्रतीक्षा गर्छ, युवती रिसाएको नाटक गर्न तम्सिन्छे । युवक फ्रेञ्च चुम्बनको अन्दाजमा सामीप्यताको दूरी मेटाउन सङ्घर्ष गर्छ । कानको मांशपिण्डको भागमा ओठको काउकुतीपूर्ण स्पर्शसँगै ऊ भन्छ– “म प्रेम महसूस गर्न चाहन्छु ।” 

“खनाल जी, हजुर प्रेममै होइसिन्छ ।” जवाफ आउँछ । ऊ स्वीकारोक्तिको कृत्रिम लाली चढाउँछ ।

“कविता, आज एउटा दिदीको काखमा बसेँ ।” “कहाँ ?” “ट्याम्पोमा ।” “कस्तो अफ्ठ्यारो लाग्यो ।” “किन ?” “खै !” संवादै बीच सल्बलाउँदै गरेका अनियन्त्रित हातहरुलाई पन्साउँदै केटी हिँड्छे । टोलायमान मुद्रामा ऊ शोकाकुल हुन्छ । अनि प्रचलनको रुप लिएको ढोका ढक्ढकाइले पुनः प्रवेश पाउँछ । एकदिन क्रम भङ्गताको मधुर आवाजमा परिचित बोली सुनिन्छ– “रामचन्द्र, म कविता, ढोका खोल ।” क्वार्रर गर्दै टिठ लाग्दो ध्वनिमा ढोका खुल्छ । नयनको साक्षात्कार पश्चात, केटीको प्रवेशसँगै ऊ बन्द हुन्छ ।

“सुष्मिताको के भयो ?” 

“सुष्मिता ? ६ महिनापछि लगेर प्रस्ताव राख्यो देवदासले ।” 

“अनि के भयो ?” 

“रमाइलो भयो । केटीलाई भुलाउन अर्कोको पछि लाग्यो । यो पालि त्यसको अवधि २ वर्षसम्म लम्बियो ।” 

“अनि ?” 

“अनि के, पारु...पारु.. भन्दै डबका लगाउने भयो ।” 

“खनालजीले खुट्टा भए जुत्ता कति कति भन्ने उक्तिलाई चरितार्थ बनाउनु भयो । सलाम छ दोस्त !” हिक्कको खित्का छोड्दै फेरि एउटा आवाज सुनिन्छ । 

“कविता नि ऊ ऊ.....!” 

“कविता, बविता, सविता कुिन्न अरु के के ’ता’ हुन्, तिनीहरुलाई केटा हो कि केटी भनेर छुट्याउनै टाइम लाग्यो, रोमियोलाई ।” 

“ठीक ठीक !” हाँसोको पर्रा छुट्छ । वियरको शिशि हल्लिने गरी टेबल ठटाउँदै एकै आवाजमा प्रस्ताव आउँछ– “पख पख, खनाल जी अब बोल्दै हुनुहुन्छ ।” 
काँप्दै गरेका हातहरुलाई टेबुलमा अडेस लगाउँदै ऊ नम्र बोलीमा भन्छ– “के घाँस, ल, पैसा मै दिन्छु पापी हो !”

आलिशान डाइनिङ टेबलमा चम्चाको प्लेटसँगको द्वन्द्वसिवाय रातो परिधानमा सजिएकी एक सुन्दर युवती उसको सम्मुख हुन्छे । ऊ षट्रिपुआश्रित भावभङ्गीमा स्याम्पियनको ग्लास भूइँमा बजार्दै भन्छे– “नो, आइ ह्याब अ ब्वाइफ्रेन्ड । स्टप डुइङ्ग इट मोर आई विल मेक हिम ।” केही क्षणमै ऊ स्याम्पियनको त्यही ग्लासको चुस्की लगाउँदै नम्र आवाजमा भन्छे– “नो, आइ ह्याब अ ब्वाइफ्रेन्ड। स्टप डुइङ्ग इट, मोर आई विल मेक हिम ।” लामो अन्तराल उद्धृत हिस्ट्रीको म्यासेज इनबक्समा लेखिएको त्यही पङ्क्ति रामचन्द्र पढ्छ । “ना, आइ ह्याब ए बोइफ्रेन्ड । स्टप डुइङ्ग इट, मोर आइ विल मेक हिम ।” यसरी तिखा शूलझैँ  अन्तष्करणमा गडेका विगतका स्मृतिलाई ऊ फिल्मी अवतारमा आँखामा बाँधिएको भर्चुअल रियालिटी ग्लासमार्पmत् धेरै समय लगाएर हेर्छ । अनि ‘टर्न अफ’ को सङ्केतमा आँखाअगाडि विन्डोज  २१०० को पर्दा देखिन्छ । क्षणभरमै त्यसले कोठाको भित्ताको रुप लिन्छ । सँगैको सहयोगीलाई ढाड मुसार्दै ऊ भन्छ– “जब एकम्पिल्सड, मेमोरी टर्नड् टु रियालिटी हँ, कुल !”

‘नाइट क्लब काठमाण्डौ’ लेखिएको प्यागोडा शैलीको भवनमा कडा सुरक्षाबन्दीको घेराबीच एउटा पाइला पदार्पित हुन्छ । भोजन तयारी गरिरहेका कुक, त्यसको स्थानान्तरण गरिरहेका वेटर, व्यापारिक प्रायोजनका निम्ति आसीन कोट बहादुरका दल, राजनीतिक भेटघाटमा तल्लीन अति विशिष्ट कक्ष, फिल्मी जगतका सिताराका दल, बसिवियाँलोका लागि उभिएको पत्रकारसँंग, पारिवारिक जमघट, प्रेममालामा आधीन युगल जोडी अनि आइसक्रिमको चुस्की लिन मग्न स्कुले केटाकेटी सबैको नजर ध्वनि शून्यताको त्यो प्रहरलाई चिर्दै गरेको पाइलामा हुन्छ । रोलेक्समा घुमिरहेका सुईबाट दृष्टि हटाउँदै कोटमा झुण्डिएको म्यानेजरको ब्याज मिलाएर एउटा पुरुष स्वागत्–सत्कारको पराकाष्ठा नाघ्न होमिन्छ । परिचित अन्दाजमा मुस्कानसहित ऊ आफ्नो गतिशील पाइला रोक्छ ।

अनि म्यानेजरको ढाडमा धप्धपाउँदै भन्छ– “माइसेल्फ, डक्टर रामचन्द्र खनाल ।” आफ्नो प्रक्रियागत दुनियाँमा मग्न त्यो पृष्ठभूमि अब त्यही देहमा आश्रित व्यवहारलाई समयको स्वामित्व हस्तान्तरण गर्छ । घण्टा, मिनेट, सेकेण्ड, अवधि, पल, निमेष जस्ता यावत् सामयिक सूचक स्फटिकतूल्य पारदर्शितामा खाद्य प्रयोजनको लागि ल्याइएको जेलीमा गुडबुड गर्दै नाच्न थाल्छ । रिमोटजस्तो देखिने यन्त्रलाई बगलीबाट झिकेर ऊ त्यो खाद्य सामग्रीको नजिक लान्छ । मन्त्रमुग्ध पार्ने महिला आवाज केही रिपोर्टको चित्रण गर्न लागेजस्तो सुनिन्छ ।

“क्यालोरी फलाना, कार्बोहाइड्रेट फलाना, प्रोटिन फलाना, भिटामिन फलाना, फ्याट फलाना, क्यारोटिन फलाना........।” दुई मिनेटको बेलीविस्तार पश्चात् ‘कम्पोजिसन अन्नन’ भन्ने वाक्यांशसँगै प्रसारण बन्द हुन्छ । लगत्तै ऊ सेतो लाम्चो टोपी भिरेको  हेडकुकमा दृष्टि दिन्छ । जवाफमा आत्मविश्वासी लवजमा ऊ भन्छ– “द एक्स फ्याक्टर ।” हातमा रहेको काँटालाई त्यस जेलीमा नचाउँदै, ऊ त्यो भुक्त भोगको श्रवण गर्छ । कुलीन बादशाह, एकतन्त्रीय राजतन्त्र, विलाशीपूर्ण कु–शासन अनि सर्वहारामाथि लादिएको सम्भ्रान्तताबीचको विशाल खाद्य भोगको, ऊ परिकल्पना गर्दछ ।

आफ्नो बूढी औँलालाई माथि उठाउँदै ऊ हेडकुकलाई हेर्छ अनि बाँकी रहेको भोजन सिध्याउँछ । पृष्ठभूमिबाट ओझेल हुनुपूर्व उसका नयन नीलो परिधानमा, वियरको चुस्की लिँदै गरेकी एउटी युवतीमा पर्छ । ऊ मुस्कुराउँछ । युवती मुस्कुराउँछे । तालीको पर्रा छुट्छ । आफ्नो बडीगार्डसमक्ष ठट्टापूर्ण लवजमा ऊ भन्छ– “वी गट कम्पनी, फल्क्स ।”

“कल्पना ठूलो शक्ति हो । यसले अभीष्ट जाहेर गर्दछ । प्राप्तिको आभा छोड्छ ।” पाश्र्वमा रहेको आफ्नो विराट चित्रमा घोत्लिँदै रामचन्द्र भन्छ । 

“के नारी सान्निध्यता र समर्पण नै त्यो कल्पना, अभीष्ट र प्राप्तिको मूर्तरुप हो ?” नीलो परिधानकी प्रदीप्त शरीर प्रश्न गर्छे । 

कानको मांशपिण्डको भागमा ओठको काउकुतीपूर्ण स्पर्शसँगै रामचन्द्र भन्छ– “म प्रेम महसुस गर्न चाहन्छु ।” 

स्वीकारोक्तिको कृत्रिम लाली, लेजर पेनमार्फत त्यो नीलाम्य, स्थूल आकृतिमा स्पष्ट झल्किन्छ । यो पालि भने जवाफमा “खनाल जी, हजुर प्रेममै होइसिन्छ ” भन्ने वाक्यले प्रश्रय पाउँदैन । प्रत्युत्तरमा ऊ भन्छे– “कविता र सुष्मिता तपाईँको मनोकाङ्क्षित  प्रेमको समन होइन । न त प्रेमप्रतिको तपाईँको व्यावहारिक आचरण नै यसको समन हो । प्रेम आकर्षणको जालोमा  नियन्त्रित हुने माछा होइन । शारीरिक सवलता, आर्थिक सम्पन्नता र सामाजिक वजनको फँणा फिँजारेर तपाईँ नारी देहमाथि हक जमाउन सक्नुहोला, उसको भावनामाथि होइन । नारी आस्था , सचेतना र स्पन्दनले आफ्नो भनेको हकदार नै प्रेमको भोगी हुन्छ ।”

रामचन्द्र आफूअगाडि उभिएको आफ्नो प्रफुल्लित मुद्रामा एकाग्रित हुन्छ अनि भन्छ– “कल्पना ठूलो शक्ति हो । यसले अभीष्ट जाहेर गर्छ । प्राप्तिको आभा छोड्छ ।” अव्यय शित्कार प्रदिष्ट, भावावेगमा, नारङ्गका नूतन निरुपाख्यलाई, ऊ शरीरको खाल ओढाउँछ । काल मणि नामावर्तित निर्जला, कालो सुवर्णलाई परित्याग गर्दै सहर्ष उदाङ्गिन्छे । ऊ देख्छ, “गाजलु लेपनमा सशृङ्गीत कालो नयन, त्यसको अस्तित्वबाहेक कालो कन्दरामा लुप्त केसराशी, समर्पणपूर्ण लज्जा उद्रित उग्रवेगका कम्पायमान कालो अधर ।” ऊ देख्छ, त्यो प्राप्तिको दीपशिखा अनि देख्छ , साँघुरो अन्धकारले व्याप्त कालो कोठा जसको भित्तामा टाँगिएका दुई तस्वीरले  उसका ज्वारभाटा अङ्कित कल्प र प्रतिकल्पमा गतिरोध सृजना गर्छ । 

कहाँ सिरुपाते जुङ्गाको चिल्लोपनामा गमक्क फुलेको मुखाकृति, कहाँ अधिक्षेपयोग्य, विरुप निरुपामयी अधिष्ठात्री, समीपको झ्याल खोलेर रिसको पोकालाई थुकमार्फत, ऊ झार्छ । लगत्तै रोयल इनफिल्डको टिठलाग्दो ध्वनिको प्रतिक्रियामा ऊ हात हल्लाउँछ । “गट सम प्लान अदरवाइज” परिचित आवाजको उत्सुकताले चुली टेक्छ । जवाफमा ऊ भन्छ– “इट्स मन्डे !” दिवाचक्रको फन्का काट्न ऊ पाइला अघि बढाउँछ ।

आँगनमा राखिएको रातो स्कुटरको फन्को मार्छ अनि ‘साला अनुहार’ लेखिएको स्थल ताकेर लात लाउँछ । केही कदम पाइला लाउँदै ऊ एउटा कालो गाडीनिर पुग्छ अनि धूवाँको मुस्लो छोड्दै रवाना हुन्छ ।

“बुझ्यौ, त्यो स्कुटर मेरो तीतो विगत हो ।” दिवाचक्रको दौँतरी गोष्ठीमा ऊ आफ्नो भारी बिसाउँछ । 

“किन, खनाल जी ?” मात्तिएको एक आवाजले प्रश्न गर्छ । 

“कविता र सुष्मितालाई घुमाएर होला ।” अर्को मात्तिएको आवाज बोल्छ । 

“चुप लाग पाजी हो, त्यो स्कुटर मेरो प्राण हो ।” 

“धेरै नखोक् तिनीहरुले तँलाई पालैपिच्छे विदुर बनाएका होइनन् ?” प्रतिउत्तरमा सुनिन्छ । “कालो रेशमी सारीमा सजिएर आउँथी, मेरी निर्जला । हामी हाँस्थ्यौ, रमाउँथ्यौ । हाम्रो जीवन थियो । यो समाजलाई पचेन ।” 

समाजलाई किन दोष दिन्छस् ए, वैरागी काइँला ? सीताको लागि वनबास जाने युग यो होइन भनेर छाडेकी होइन त्यो नकचरीले ?” अर्को मात्तिएको आवाज हौसिन्छ । 

“छोरीको बाबु भैसकिस् केटीको मामलामा इमोसनल हुने दिन अब रहेन मेरो भाइ ! सम्हाल् आपूmलाई ।” सहानुभूतिपूूर्ण आवाज थपिन्छ । 

“चुप ! यहाँ प्रेमको चर्चा चलिरहेछ । त्यो प्रेम जोसँग न त आजसम्म कोही अछुतो छ न कोही रहने छ ।” सम्वादलाई विषयगत मोडिने प्रयास हुन्छ । 

“सुष्मिता राम्री थिई त ?” 

“किन नहुनु हेर फोटो आँखा फाडेर, अन्धो !” पर्सबाट फोटो झिकेर, ऊ टेबल ठटाउँछ । 

“यो पनि काली ?” अर्कोले मुख खुम्च्याउँछ । 

“ए, ल ल, यसले लेखी त यो, ना, आइ ह्याब अ ब्वाईफ्रेन्ड, स्टप डुइङ्ग इट ओर आई विल मेक हिम ।” पृष्ठभूमि कम्पायमान हुने गरी हाँसोको पर्रा छुट्छ ।

“हो, यसैले लेखी अनि भनी– मौनतामा प्रेम हुँदैन । मैले प्रतीक्षा नगरेकी होइन ।” पृष्ठभूमि शान्त हुन्छ । 

“शारीरिक सबलता, आर्थिक सम्पन्नता र सामाजिक वजन, पहिलो एकलाई छोडेर बाँकी दुईको म पछि लागेँ, केवल लागि नै रहेँ, अविरल र अनवरत, फरक यति हो, आज म पहिलो एकको पनि पछि छु ।” आफ्नो पूर्ववत् भेटको संस्करणलाई ताजा तुल्याउँदै रामचन्द्र थप्छ– “ल पैसा मै दिन्छु पापी हो ! ”

उसले देह देखेको छ । आफूअनुकूल, स्वभाव अनुकूल, पोशाक अनुकूल, चरित्र अनुकूल, व्यवहार अनुकूल, वातावरणअनुकूल, भाषा अनुकूल अनि अनुकूलतामा परिभाषित ती तमाम परिक्रान्तपूर्ण परितोषलाई आफ्नी सङ्कारीको भेषमा श्रवण गरेको छ । मानौँ परिणतिपूर्ण नारी सामीप्यता जोसुकै भद्रभलाद्मीको नीतिवान् पासा ठहरिए पनि तृप्तिको पुच्छारबिन्दुमा आएर ऊ यिनीहरुमाझ व्यङ्ग्यको अट्टहाँस हाँसो छाड्दैछ अनि भन्दैछ– “नारी अहमजन्य शोषणका सहप्रवर्तक मेरा नपुङ्सक पुरुष मित्रहरु, हेर मलाई, अनि मेरो सामाजिक अस्तित्वको पाइलामा दबेका तिम्रा परित्रासहरु, म अजेय छु । 

पराजयको किञ्चित अवशेष पनि मेरो व्यवहारमा छैन । हेर मलाई ! “कुलीन बादशाह, एकतन्त्रीय राजतन्त्र, विलाशपूर्ण कुशासन अनि सर्वहारामाथि लादिएको सम्भ्रान्तता बीचको विशाल अङ्गप्रदर्शनप्रद ताण्डव नृत्यमा ऊ तिनै देहहरु एकाएक हेर्दै जान्छ ।

यौवनका मनमोहक नारङ्गहरु आफ्नो वास्तविक रुपमा परिवर्तन हुँदै जान्छन् । आँखीभूइँमुनिका डल्ला परेका आँखा, सिँगान चुहिन लागेजस्तो देखिने नासिका, फुटेका ओठमा जबरजस्ती लेपिएको लिपिष्टिक अनि लट्टा परेको कपाल, त्यसपछिका अङ्गमा दृष्टि फ्याँक्ने, उसको मनसुवा रहेन । ऊ खुशी छ किनभने ती सामान्य अनुहार होइनन् । अहम्को प्रखरतामा सामाजिक नाम बोकेका मुखाकृति हुन् जो कोही सरकारी उच्च अधिकारी छन् । कोही डाक्टर, कोही इन्जिनियर, कोही सेलीब्रेटी, कोही नर्स, कोही बैंक म्यानेजर, कोही प्रोफेसर, कोही प्रेमिका र कोही अर्धाङ्गिनी छन् । 

अर्धाङ्गिनीको मुखाकृतिमा आएर भने उसको अनुशयको अङ्कुर टुसाउँछ । ऊ सहाराको गहिरो आशाबीच आफ्नो छातीमाथि अडिएको निर्बोध ललाटलाई महसूस गर्दछ । अनि कसिलो हातको पकडाइपूर्वको चुराको गुच्छासँगको स्पर्श सम्झिन्छ । त्यो चुरा, जुन उनको अस्तित्वको सूचक हो । त्यो चुरा, जसले उनलाई, उसको हात समाउने अधिकार दिएको छ । त्यही चुरा, जसको आडमा उनी कुनै पुरुषप्रति समर्पित भएकी छन् ।

ममतापूर्ण मुस्कानसहित ऊ त्यो हातलाई चुम्छ । मानाैँ उसले ती चुराहरुलाई साक्षी राखेर भन्न खोजिरहेछ– “मेरी वधु, म तिम्रो हितैषी प्रेमी, जसमा कुनै आशा छैन, स्वार्थ छैन, छ त केवल समर्पण, मलाई अङ्गीकार गर ।” झुकेका नयनलाई ती कसेका हातहरुमा एकीकृत गर्दै, ऊ भन्छे– “डिनरको लागि टाइम मिलाइस्यो ।” अनि आफ्नो पूर्ववत् स्थितिमा  फर्किन्छे । ऊ जान्दछे त्यहाँ नाइँ भन्ने शब्दको कुनै स्थान छैन ।

एउटा विशिष्ट बैठकबीच रामचन्द्र  हलिउड अभिनेताहरुले घेरिएको छ । मोर्गन फ्रिमेन, ड्यानिएल डे लिउइस, एन्टोनी हपकिन्स र सेम्यूल एल ज्याक्सन, ऊ यी अभिनेताका उत्कृष्ट चलचित्रको प्रसङ्ग जोड्दै बातचितमा मस्त हुन्छ । एकाएक “हियर सी कम्स” भन्ने सामुहिक आवाजको इशारामा सबको नजर एउटा नारी देहमा पर्छ । “लेडिज एण्ड जेन्ट्स, द बेविडल मार्गत रोवी” रामचन्द्र औपचारिकताको कर्मकाण्डलाई पूरा गर्नतर्फ लाग्छ । त्यस्ले नयनको मधुर साक्षात्कार निम्त्याउँछ अनि प्रतिवादबोधक घोसेमुन्टोमा ऊ व्यावहारिक आचरणको चक्रवर्ती प्रणालीमा समाधिष्ट हुन्छ ।

(बायोटेक्नोलोजिष्ट साजन श्रेष्ठको कथासंग्रह कल्पका खोजहरुबाट साभार कथा । योे संग्रह एडीबी पब्लिकेशनले भर्खरै बजारमा ल्याएको छ ।)

अन्तिम अपडेट: चैत ७, २०८०

साजन श्रेष्ठ

पेशाले बायोटेक्नोलोजिष्ट साजन श्रेष्ठको कथासंग्रह ‘कल्पका खोजहरु’ प्रकाशित छ ।

तपाईको प्रतिक्रिया