पहिले र अहिलेको दुबई एयरपोर्ट

 माघ १९, २०७५ शनिबार १३:९:३६ | एजेन्सी
unn.prixa.net

दुबई विमानस्थल अहिले विश्वकै व्यस्त र उत्कृष्ट विमानस्थलमा ठहरिन्छ । अन्तर्राष्ट्रिय यात्रुको संख्याको आधारमा दुबई विमानस्थल लगातार पाँचौँपल्ट विश्वको व्यस्त विमानस्थल बनेको छ । 

दुबई विमानस्थलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सन् २०१८ मा दुबई विमानस्थल हुँदै अन्तर्राष्ट्रिय यात्रा गर्नेहरुको संख्या ८९ मिलियन रहेको छ । यो संख्या सन् २०१७ को भन्दा एक प्रतिशतले बढी हो । दुबई विमानस्थल हुँदै औसतमा प्रतिमहिना ७४ लाख यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

गएको अगष्ट महिनामा यो विमानस्थलबाट ४ लाख यात्रुले यात्रा गरेका थिए । यो संख्या विमानस्थलको ५ वर्षे इतिहासमा नै सबैभन्दा बढी हो । 

डोमेस्टिक र अन्तर्राष्ट्रिय दुवै हिसाबले चाहिँ अमेरिकाको हार्ट्सफिल्ड ज्याक्सन एटलान्टा विमानस्थल विश्वकै सबैभन्दा बढी व्यस्त विमानस्थल हो । 

सन् १९६० मा निर्माण भएको दुबई विमानस्थलबाट सुरुमा केही हजारले मात्रै यात्रा गरेका थिए । ५८ वर्षअघि केबल एउटा मात्रै टर्मिनल भएको दुबई विमानस्थलको अहिले भने कायापलट भएको छ ।  अहिले दुबई विमानस्थलमा तीनवटा टर्मिनल रहेका छन् । 

दुबई विमानस्थलको यो सफलतामा इमिरेट्स एयरलाइन्सले पहिले र अहिलेको विमानस्थलको फोटो राख्दै ट्वीट गरेको छ । जसमा भनिएको छ, ‘सन् १९६० मा केही हजार यात्रुबाट सुरु भएको दुबई विमानस्थल अहिले संसारकै व्यस्त विमानस्थल बन्दै ९० मिलियन यात्रुहरुलाई स्वागत गरेको छ ।’ 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया