साहित्यकारहरुलाई नै साहित्यबारे प्रम ओलीको धाराप्रवाह प्रवचन

 माघ १९, २०७५ शनिबार १४:१६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिनुभएको छ । 

चिकित्सक डाक्टर अरुण सायमिले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह प्रवचन दिनुभएको हो । सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रशंसा गर्दै देशको समग्र राजनीतीक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमा तिखो व्यङ्ग्य गर्ने प्रधानमन्त्री ओलीले शनिबार आफ्नो पुरै सम्बोधनलाई साहित्यमा नै केन्द्रित गर्नुभयो । उहाँले साहित्यलाई जीवन्त र पाठकको ध्यान तानिरहने बनाउन असाधारण शैली प्रयोग गरिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘साहित्यमा एउटा सानो विषयलाई कसरी प्रस्तुत गरिन्छ । त्यहाँ पसिसकेपछि, किताबको छेउमा पस्नुपर्छ, त्यसपछि त्यो किताब कस्तो छ भन्ने कुरा समय मान्छेलाई अभाव हुन्छ । त्यो बिर्स्यो कि बिर्सेन? महत्वपूर्ण कामहरु हुन्छ नि त्यो बिर्स्यो कि बिर्सेन ? थकाई लाग्या हुन्छ, त्यो बिर्स्यो कि बिर्सेन?, निन्द्रा लाग्या हुन्छ त्यो बिर्स्यो कि बिर्सेन? ?, भोक लागेको हुन्छ त्यो बिर्स्यो कि बिर्सेन ? थुप्रै कामहरुको चाङ लाग्या हुन्छ त्यो बिर्स्यो कि बिर्सेन ?, सबै कुरा छोडेर त्यसैमा लाग्यो भने त्यो असाधारण हो । त्यसले छुट्टिनै दिएन । त्यहाँबाट समातेको समातेई यस्तरी गर्छ कि त्यो पहिले मसँग पारित गर्छ अनि मात्रै छुटकारा पाउँछस् । त्यसको जादु त्यही हो ।’

उहाँले साहित्यमा बिना प्रसंगका पात्रहरुले विषयवस्तुको सिलसिलालाई भंग गर्ने भएकाले त्यसमा पनि लेखक गम्भीर हुनुपर्ने बताउनुभयो । सायमिको आत्मकथा ‘मेरो जीवन कथा’मा केही त्यस्ता प्रसंग पनि भएको टिप्पणी उहाँले गर्नुभयो ।

‘मेरो जीवन कथा’मा आएका कतिपय पात्रले लेखक सायमिलाई वास्तवमै आफ्नै कथा लेख्नका लागि बाधा पुर्याएको टिप्पणी पनि उहाँले गर्नुभयो ।  

पेशाले चिकित्सक डाक्टर सायमिले गीतिलेखन, कविता, उपन्यास तथा समसायिक विषयमा कलम चलाउदै आउनुभएको छ । उहाँको पछिल्लो कृतिको रुपमा आएको ‘मेरो जीवन कथा’ आत्मकथालाई गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले प्रकाशन गरेको हो ।

२ सय ५२ पृष्ठको ‘मेरो जीवन कथा’ भित्र डाक्टर सायमिको बाल्यकालदेखि स्कुल, शिक्षा, राजनैतिक यात्रा,राजनीतिक व्यक्तित्वसँगको भेटघाट, संगत तथा २०६२/६३ को जनआन्दोलन र महाभूकम्प २०७२ का प्रसंग समेटिएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया