खेल राम्रो मोरक्कोकोे, जित पोर्चुगलको

 असार ६, २०७५ बुधबार १९:५२:३१ | उज्यालो सहकर्मी

क्रिष्टियानो रोनाल्डोको गोलको सहयोगमा विश्वकपको समूह बी अन्तर्गतको खेलमा पोर्चुगलले मोरक्कोलाई १–० गोलले पराजित गरेको छ ।
 
रुसको मस्कोस्थित लुज्निकी रंगशालामा भएको खेलमा खेलको चौथो मिनेटमै रियल मड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले हेडमार्फत गोल गरी सुरुवातमै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
 
बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र त्यही गोल पोर्चुगलको जितमा निर्णायक बन्यो ।
 
पहिलो हाफमा पोर्चुगलले मोरक्कोलाई दवावमा रोखेको थियो । गोलका अलावा रोनाल्डोका अन्य केही प्रहार मोरक्कोको रक्षापंक्तिले बिफल पारिदिएको थियो ।
 
दोस्रो हाफमा भने मोरक्कोले खेल नियन्त्रणमा राखेको थियो । तर, गोल भने गर्न सकेन । दोस्रो हाफमा मोरक्कोको आधा दर्जन प्रहार पोर्चुगलको रक्षापंक्तिले रोकेको थियो ।

उत्कृष्ट खेल प्रदर्शन गरे पनि मोरक्कोले गोल गर्न नसक्दा विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । मोरक्कोको पक्षमा ५२ प्रतिशत समय बल नियन्त्रणमा रहेको थियो भने पोर्चुगलको पक्षमा ४८ प्रतिशत । 
 
आजै राति हुने खेलमा इरानले स्पेनलाई हराएमा वा बराबरी खेलेमा वा स्पेनले जितेमा मोरक्को समूहको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ । जितपछि पोर्चुगलको ४ अंक भएको छ । पोर्चुगलले विश्वकपको आफ्नो पहिलो खेलमा स्पेनसँग सनसनीपूर्ण ३–३ गोलको बराबरी खेलेको थियो ।
 
त्यस खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए । यस खेलमा गोलसँगै रोनाल्डोले विश्वकपको सुरुआती २ खेलमा ४ गोल गरेका छन् । उनी विश्वकप गोल्डेन बुटको रेसमा अघि बढेका छन् ।
 
यस्तै आजको खेलमा हेड गोलसँगै रोनाल्डो एकै विश्वकपमा दायाँ र बायाँ खुट्टा र हेड गोल गर्ने दोस्रो पोर्चुगिज खेलाडी बनेका छन् । यस्तो अनौठो रेकर्ड यसअघि सन् १९६६ को विश्वकपमा जोसे टोरेसले राखेका थिए ।
 
साथै रोनाल्डो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने युरोपका खेलाडी बनेका छन् । उनले पोर्चुगलका लागि १५२ क्याप जितेर ८५ गोल गरेका छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया