गुल्मीको मुसिकोटमा जीप दुर्घटना : दुई जनाको ज्यान गयो

 माघ २०, २०७५ आइतबार १४:३:८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका-८, अन्तर्गत वामी मैदानबाट वामी टक्सारतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

ग १ च ८३५७ नम्बरको जीप वामी मैदानमा पछाडि गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परि जीपधनी मुसिकोट नगरपालिका-८, निवासी ३० वर्षीय ठाकुर सापकोटा र त्यसै ठाउँकी ५५ वर्षीया पुतली ठकुरीको घटनास्थलमै ज्यान गएको मुसिकोट नगरपालिका– ८, का वडा अध्यक्ष नारायण सापकोटाले बताउनुभयो । 

त्यसै ठाउँका ५५ वर्षीय हरिकला कार्की र बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका निवासी १४ वर्षीय कमल कार्की दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । घाइतेहरुको टाउको र शरीरका अन्यभागमा चोट लागेको र उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । 

जीप वामीटक्सारतिर झर्दै गर्दा पछाडि गर्ने क्रममा मैदान नजिकै रहेको चौपारीको भीरबाट झण्डै १ सय ५० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया