भेनेजुएलामा सङ्कट समाधान प्रयास, राष्ट्रपति मदुरोले गरे नयाँ चुनावको प्रस्ताव

 माघ २०, २०७५ आइतबार १४:५७:५३ | रासस
unn.prixa.net

काराकास – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गर्नुभएको छ । 

यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत् प्रदर्शन गरेका थिए र उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मदुरोलाई दिएका थिए । 

विरोध प्रदर्शनका क्रममा विपक्षीहरुले पनि यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए । उनीहरुले गरेको निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले पनि समय अगावै निर्वाचन गर्न सकिने प्रस्ताव गर्नुभएको छ । 

राष्ट्रपति मदुरोले यहाँको राजनीतिक समस्याको समाधानका लागि निर्वाचन एक उत्तम उपाय हुनसक्ने बताउनुभएको समाचारमा जनाइएको छ । उता आफैले अन्तरिम राष्ट्रपति घोषणा गरेका र अमेरिकालगायतका देशको समर्थन पाउनुभएका विपक्षी नेता हुँवा गुएइदो समर्थकहरुले शुक्रबार व्यापक रुपमा प्रदर्शन गरेका थिए । 

त्यसपछि शनिबार राष्ट्रपति मदुरोले निर्वाचनको प्रस्ताव गर्नुभएको समाचारमा जनाइएको छ । युरोपेली सङ्घमा आवद्ध प्रमुख देशहरुले पनि नयाँ निर्वाचनको वातावरण बनाउन सकेमा वर्तमान समस्याको समाधान निस्किन सक्ने प्रस्ताव गरेका छन् । 

विपक्षी नेता गुएइदोका समर्थक विदेशीहरुले पनि मदुरोलाई जतिसक्दो चाँडो निर्वाचन घोषणाका लागि गत हप्ता एक हप्ताको समय दिएका थिए । 

यस परिस्थितिमा राष्ट्रपति मदुरोले निवाचन गर्न सकिने प्रस्ताव गरेबाट यहाँको राजनीतिक सङ्कटको समाधान पनि निस्किन सक्ने अनुमान गरिएको छ । 

यहाँको नेशनल एसेम्ब्लीको निर्वाचन सन् २०१७ मा भएको थियो । सो निर्वाचन भेनेजुएलामा संविधान निर्माणका लागि भन्दै भएको हो । यो संविधान सभाको निर्वाचन थियो र यसले संविधान निर्माण गर्ने भनिएको थियो । 

तर त्याे निर्वाचन विपक्षीहरुले बहिस्कार गरेका थिए । जसका कारण राष्ट्रपति मोदुरोका पक्षधरहरुको मात्र संसदमा प्रतिनधित्व भएको थियो । त्यसैले पनि गुएइदोहरुले सो निर्वाचनबाट निर्वाचित सरकार वैधानिक नभएको दाबी गर्दै आएका हुन् । 

अब नियमित रुपमा भएमा आगामी निर्वाचन् सन् २०२० मा हुनुपर्ने हो । तर पनि सन् २०१७ को संविधान सभाको निर्वाचनको परिणाम विपक्षीहरुले स्वीकार नगरेका र अर्को निर्वाचनको माग गरेकोले त्यस अगावै निर्वाचन गर्न सकिने राष्ट्रपति मदुरोले बताउनुभएको हो । 

विपक्षीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकापछि उहाँको यो प्रस्ताव आएको अनुमान गरिएको छ । 
भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट बढ्दो छ । यहाँको राष्ट्रियसभाका अध्यक्ष समेत रहेका गुएइदोले राष्ट्रपति मदुरोलाई अवैध दावी गर्दै आउनुभएको छ । 

उहाँले केही दिन अगाडि आफैलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गर्नुभएको थियो । उहाँको यो कदमलाई अमेरिका र अरु केही विदेशीहरुले समर्थन गरेपछि यहाँको सङ्कट बढेको हो ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया