त्रिभुवन विमानस्थलमा चिनियाँ पर्यटकको चहलपहल, २ हप्तामा २० हजार चिनियाँ नेपाल आउने अपेक्षा

 माघ २०, २०७५ आइतबार १६:३४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर- लक्ष्मी लम्सालको ट्विटरबाट

काठमाण्डौ – चिनियाँ नयाँ वर्षको अवसर पारेर नेपाल घुम्न आउने पर्यटकलाई लक्षित गरेर नेपालमा रहेको चिनियाँ दूतावासले स्वयंसेवक परिचालन गरेको छ । 

फ्रेब्रुअरी एक तारिखका दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटा, नेपालका लागि चिनियाँ राजदूत होउ यान छी, विमानस्थल भन्सार, अध्यागमन विभागका महाप्रबन्धकलगायतको उपस्थितिमा विमानस्थलमा विशेष कार्यक्रम गरेर स्वयंसेवक परिचालन गरिएको हो । 

जाडो बिदामा धेरै चिनियाँ पर्यटक नेपाल घुम्न आउने सम्भावनालाई ध्यान दिएर नेपालमा रहेको चिनियाँ दूतावासले ५ जना चिनियाँ नागरिकलाई विमानस्थलमा परिचालन गरेको छ । उनीहरुलाई विमानस्थल अध्यागमनको भित्रैसम्म र  अध्यागमन कार्यालयसम्मको पहुँच सुविधा दिइएको विमानको टर्मिनल व्यवस्थापन महाशाखाका प्रमुख उत्सव खरेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

‘यसपटक धेरै नै चिनियाँ नागरिक नेपाल घुम्न आउने सम्भावना रहेको भन्दै नेपालमा रहेको दूतावासले नै सहजीकरणको पहल थालेको छ, त्यसमा हामीले पनि सहयोग गरेका छौँ, विमानस्थलमा खटिने स्वयंसेवकले चिनियाँ पर्यटकलाई सहयोग गर्नेछन्’, टर्मिनल व्यवस्थापन महाशाखाका प्रमुख उत्सव खरेलले भन्नुभयो ।

विमानस्थलमा खटिएका चिनियाँ स्वयंसेवकले चिनियाँ नागरिकलाई नेपालको बारेमा बनेका पर्चा पम्प्लेट, ब्रुसरलगायतका सामग्री वितरण गर्ने, यहाँका कानुनी प्रावधानको बारेमा जानकारी दिनेलगायतका काम गर्नेछन् ।

चिनियाँ पर्यटकको चहलपहल धेरै, २ हप्तामा २० हजार चिनियाँ आउने अपेक्षा

नेपालमा दशैं तिहारको बिदाजस्तै चीनमा २ हप्ता लामो जाडो बिदा सुरु भएकाले उनीहरु भ्रमणका लागि निस्कन्छन् । हरेक वर्ष १० करोडको हाराहारीमा चिनियाँहरु घुम्न निस्कन्छन्, त्यसको थोरै संख्या नेपालमा पनि आउने गरेको छन् । 

चिनियाँ नयाँ वर्ष मनाउनेहरु नेपाल आउने क्रम सुरु भैसकेको विमानस्थल कार्यालयले जनाएको छ । 

‘अहिले दैनिक दुई अढाई सयसम्म चिनियाँ पर्यटक विमानस्थलमा आइरहेका छन्, यो संख्या विस्तारै बढ्दै जाने अनुमान छ’, टर्मिनल व्यवस्थापन महाशाखाका प्रमुख खरेलले भन्नुभयो । 

२ हप्ताको बीचमा झण्डै २० हजार चिनियाँ पर्यटक नेपाल आउने सम्भावना रहेको चिनियाँ राजदूतले आफूलाई जानकारी दिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले उज्यालोलाई जानकारी दिनुभयो । 

‘उनीहरुले यो २ हप्ताको बीचमा २० हजार पर्यटक नेपाल आउँछन भनेका छन्, अहिले भैरहेका विमानको सिट क्षमताले त्यति त पुग्ला नपुग्ला, तर चिनियाँहरु यो पटक उल्लेख्य मात्रामा घुम्न आउँछन भने नेपालमा रहेको चिनियाँ दूतावास र हाम्रो अनुमान हो’, सचिव देवकोटाले भन्नुभयो । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया