रोजगार संयोजक : ईमेल भेरिफाई नगरेका आवेदकलाई पनि मौका

 माघ २०, २०७५ आइतबार १७:५३:३० | उज्यालो सहकर्मी

काठमाण्डौ –रोजगार संयोजकका लागि आवेदन दिने सबैले प्रतिष्पर्धा गर्ने मौका पाएका छन् । आफ्नो ईमेल भेरिफाई नगर्ने आवेदकलाई पनि प्रतिष्पर्धाको लागि मौका दिने निर्णय भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

आवेदन दिने २३ हजार ९ सय ६८ जनामध्ये ५ हजार ८ सय ५ जनाले आफ्नो ईमेलमा गई आवेदन भेरिफाई नगरेको पाइएको थियो ।

यसअघि उनीहरुलाई शनिबारसम्ममा ईमेल भेरिफाई गर्नको लागि मौका दिइएको थियो । तर ईमेल भेरिफाई नगरे पनि प्रक्रिया पुर्‍याएरै आवेदन दिएकाले सबैलाई प्रतिस्पर्धाका लागि मौका दिने निर्णय भएको दाहालले बताउनभयो ।

७ सय ५३ वटा स्थानीय तहको लागि प्रदेश १ बाट ३ हजार ६ सय ६५, प्रदेश २ बाट ३ हजार ६ सय ७१, प्रदेश ३ बाट ४ हजार ९ सय ९४, गण्डकी प्रदेशबाट १ हजार ९ सय ५५, प्रदेश ५ बाट २ हजार ३ सय १, कर्णाली प्रदेशबाट ३ हजार ३ सय ७८ र सुदूरपश्चिम प्रदेशबाट ४ हजार ४ जनाको आवेदन परेको छ ।

अबको ८ दिनभित्र सर्ट लिस्ट अर्थात प्रारम्भिक सूची घोषणा गर्ने तयारी छ । सर्ट लिस्टमा रिक्त पदसंख्याको तीनगुणा बराबर अर्थात २ हजार २ सयभन्दा धेरैको नाम घोषणा हुनेछ । पदसंख्या ७ सय ५३ को तीनगुणा २ हजार २ सय ५९ हुन्छ ।

तोकिएका मापदण्डहरुका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट प्रारम्भिक सूची तयार गरी कम्प्युटर सीप परीक्षाका लागि मिति, समय र स्थान तोकी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट www.pmep.gov.np मा सूचना सार्वजनिक गरिने छ ।  

यसको जानकारी योग्यताक्रमको प्रारम्भिक सूचीमा पर्ने उम्मेदवारहरुको मोबाइल नम्बरमा समेत पठाइने पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि प्रत्येक स्थानीय तहअन्तर्गत रहने रोजगार सेवा केन्द्रको रोजगार संयोजकको अस्थायी दरबन्दीमा करारमा कर्मचारी नियुक्त गर्न सरकारले दुई हप्ताको समय दिएर आवेदन माग गरेको थियो । 

१० हजारभन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी (नासु सरह)को र १० हजारभन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी सृजना गरिएको छ ।

 छनोट प्रक्रिया 

रोजगार संयोजक छनौट तीन चरणमा गरिने र सबै कम्युटर प्रणालीबाट हुने प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । 

न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशतबापत ७० अंक, माथिल्लो तहको शैक्षिक योग्यता बापत थप २० प्रतिशत, २ वर्षभन्दा बढी अनुभव भएकालाई थप १० प्रतिशत अंक दिइने छ ।

पहिलो चरणमा सबै मापदण्डअनुसार सफ्टवेयर प्रणालीबाट प्रत्येक स्थानीय तहमा तीनजनाको दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिस्टमा निकालिने छ । त्यसपछि २५ वटा बहुबैकल्पिक प्रश्न राखेर सर्टलिस्टमा छानिएका उम्मेदवारको अनलाइनमार्फत कम्युटर ज्ञानको परीक्षा लिइने छ । 

कम्युटरले नै शैक्षिक योग्यता र काम गरेको अनुभवका आधारमा छानोट गर्ने र कम्युटर मार्फत परीक्षा दिँदा त्यतिबेला नै आफूले प्राप्त गरेका नम्बर थाहा पाउन सकिने संयोजक दाहालले बताउनुभयो । 

रोजगार व्यवस्थापन सूचना प्रणाली भएकाले रोजगार संयोजकका लागि सामान्य कम्युटर प्रणालीबारेको शिक्षालाई अनिवार्य बनाइएको छ ।

‘हामीले कम्युटर सम्बन्धी ज्ञान यति हुने भनेर मापदण्ड बनाएका छैनौं, तर सामान्य ज्ञान भएकालाई छनोट गरियो भने भोलि तालिम दिएर सफ्टवयेर चलाउन सक्ने बनाउन सकिन्छ भन्ने हाम्रो उदेश्य हो,’ संयोजक दाहालले भन्नुभयो । 

फागुनभित्र सबै प्रक्रिया पूरा गरी रोजगार संयोजक नियुक्ति गरिसक्ने र चैत १ गतेदेखि बेरोजगारहरुको सूचीकृत गर्ने काम सुरु हुने श्रम मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया