अब सबै प्रदेशबाट पुनः श्रम स्वीकृति, बुधबारदेखि विराटनगरबाट पनि सुरु हुने

 माघ २१, २०७५ सोमबार ११:४६:२६ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले बुधबारदेखि विराटनगरबाट पनि पुनः श्रम स्वीकृति दिने भएको छ । पुनः श्रम स्वीकृतिको सेवा सम्बन्धित प्रदेशबाटै दिने सरकारको निर्णय अनुसार सरकारले प्रदेश १ को विराटनगरबाट पुनः श्रम स्वीकृति दिन लागेको हो ।

विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा सुरु गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यसका लागि प्राविधिकसहित सबै तयारी पूरा भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै ७ वटै प्रदेशका नागरिकले पुनः श्रम स्वीकृतिका लागि काठमाण्डौ आउनुपर्ने बाध्यता हटेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा उपलब्ध गराउन थालिसकेको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन लागिएको मन्त्रालयले जनाएको छ । हाललाई कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ ।

यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया