उच्च रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु

 माघ २१, २०७५ सोमबार १८:४३:६ | डीबी बिष्ट

बझाङ – खप्तड छान्ना गाउँपालिकाको दुर्गम बस्ती बडाकोट घर भएकी ४० वर्षीया उजली देवी थापाको सुत्केरी भैसकेपछि उच्च रक्तश्रावका कारण  मृत्यु भएको छ । 

आइतबार राति घरमा खाना खाइसकेपछि सुत्केरी व्यथा लागेकी थापालाई पाटादेवल स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा लैजाँदै गर्दा बीच बाटोमै सुत्केरी हुनुभएको थियो । सुत्केरी भइसकेपछि अब घरमै लगौँ भनेर आफन्तहरुले थापालाई घरमा ल्याए । 

सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएका कारण मध्यरातमा उहाँको मृत्यु भएको मृतकका आफन्त मुकेश थापाले बताउनुभयो । वडाकोटबाट पाटादेबल स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा जान ३ तीन घण्टाकोे पैदल बाटो हिँड्नुपर्छ । गाउँमा पनि दक्ष स्वास्थ्यक्रर्मी नहुँदा उपचार हुन नसकेपछि उहाँको मृत्यु भएको हो । छोरीको अवस्था भने सकुशल रहेको बताइएको छ ।

मृतकका श्रीमान रोजगारीका लागि भारत जानुभएको छ भने घरमा उहाँका दुई छोरा र एक छोरी छन् । जेठो छोराबाट नाति समेत पाइसक्नुभएकी थापाको उमेर ढल्केसँगै कमजोरी बढेकाले मृत्यु भएको बताइएको छ ।  

छोरा छोरीको रहर पूरा भइसकेको र अनिच्छामा गर्भ रहेकाले आफूलाई अप्ठ्यारो महसुस भएको भन्दै थापाले बताउने गरेको उहाँका आफन्तहरुको भनाइ छ ।  

उहाँले अगाडिका बच्चाहरु पनि घरमै जन्माउनुभएको थियो । गाउँबाट स्वास्थ्यचौकी पनि टाढा रहेको र जिल्ला अस्पताल झनै टाढा रहेकाले छोरा बुहारीले तथा आफन्तले पनि ठिक भैहाल्छ होला भन्ने सोचेका थिए । तर उच्च रक्तश्रावका कारण थापाको मृत्यु हुन पुग्यो ।

गाउँमा स्वास्थ्य चौकी छैन । स्वास्थ्य चौकी टाढा भएकाले समान्य स्वास्थ्य समस्या हुँदा समेत यहाँका स्थानीयहरुले निकै समस्या झेल्दै आएका छन्  ।

झण्डै तीनसय परिवार रहेको बयाना, बडाकोट गाउँमा प्रसूति केन्द्रका लागि महिलाहरुले बारम्बार पहल गरे पनि हालसम्म यहाँ प्रसूति केन्द्र स्थापना हुन सकेको छैन  ।  

 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया