त्रिभुवन विमानस्थलमा यस्तो नारा : धुर्मुस सुन्तली हाइहाई, खेलकुद मन्त्री बाइबाई

 माघ २१, २०७५ सोमबार १८:३५:१७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – यूएईसँगको एकदिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खला जितेको नेपाली क्रिकेट टोली सोमबार नेपाल आइपुग्यो । टोलीलाई स्वागत गर्न पुगेका थिए, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र खेलकुदमन्त्री जगत विश्वकर्मा । 

अध्यक्ष तिमल्सिना र जगत विश्वकर्माले सोचेका थिए होलान्, क्रिकेट सिरिज जितेर आएको नेपाली टोलीलाई स्वागत गर्न जाँदा विमानस्थलबाहिर बसेका समर्थकको पनि हाइहाई पाइएला । 

तर भैदियो उल्टो । राष्ट्रिय झण्डा फर्फराउँदै मन्त्री विमानस्थल पुग्नेबित्तिकै चर्को नारा लाग्यो, ‘टुँडिखेलमा खेलेर क्रिकेट सिरिज जितियो, धुर्मुस सुन्तली हाईहाई, खेलकुदमन्त्री बाइबाई’ 

यो नारा सुनेर मन्त्री विश्वकर्माको अनुहार मलिन भयो । सायद सोचे होलान्, देशमा एउटा राम्रो रंगशाला बनाउन नबनाएकोले होला कलाकारको हाइहाई हुँदा मेरो बाइबाई भयो । 

खेलाडीले खुशी दिइरहने, तर राज्यले एउटा पनि रंगशाला नबनाउने ?

नेपाली टोलीको स्वागतको लागि सयौं क्रिकेट समर्थक विमानस्थल पुगेका थिए । घाँटी सुकुञ्जेल नारा लगाउँदै गरेको उनहीरुको अनुहारमा खुशी र निराशा दुवै देखिन्थ्यो । नेपाली खेलाडीले पटक–पटक जित हात पारेर सारा नेपालीलाई खुशी दिइरहँदा सरकारले एउटा पनि रंगशाला दिन नसकेको भन्दै उनीहरु निकै निराश थिए । 

विमानस्थल पुगेका खेलप्रेमी आदेश ठकुरीले भन्नुभयो, ‘एउटा कलाकारको जोडीले अन्तर्राष्ट्रिय रंगशाला बनाउन आँट गर्ने तर सरकारले टुलुटुुलु हेरेर बस्ने, योभन्दा लाजमर्दो अरु के हुन सक्छ र ?’

उहाँले अब सरकारले केही गर्दैन भन्ने पुष्टि भएकोले अब नेपाली नागरिक आफै जुटेर भए पनि नेपाली क्रिकेटको जितको यो लयलाई कायमै राख्नुपर्ने पनि बताउनुभयो ।

आदेशको जस्तै भनाई थियो  कैलालीका गणेश भुलको पनि । ‘यो सफलता हाम्रा खेलाडीको व्यक्तिगत मेहनत र परिश्रमले गर्दा मात्रै हात लागेको हो, सरकारले यसमा जस लिन नैतिकताले नै दिँदैन, यदि नेपालका जितमा सरकारले जस लिने हो र विमानस्थलमा स्वागत गर्न आउँदा गाली खाने होइन भने एउटा रंगशाला त चाहियो नै’, गणेशले भन्नुभयो । 

जितमा खुशी हुने मात्र, होइन राज्यले पनि केही गर्नुपर्‍यो : प्रशिक्षक टमाटा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले नेपाली खेलाडीले विश्वस्तरीय प्रदर्शन गरेको बताउनुभएको छ । 

उहाँले आफूले २००८ मा मलेसियामा भएको १९ बर्षमुनिको टोलीले छनौट भएर विश्वकप खेलेको झल्को यो सिरिजमा पाएको बताउनुभयो । यो सिरिजमा ब्याटिङ, बलिङ  र फिल्डिङ विश्वस्तरीय भएको उहाँको भनाई छ । तर सरकारले भने खेलाडीको बारेमा नसोचेको भन्दै प्रशिक्षक टमाटाले दुखेको पनि पोख्नुभयो ।

‘घाइते हुँदा पनि खेलाडी आँसु लुकाएर खेलेका छन्, घरको अवस्था खत्तम हुँदा पनि खेलेका छन् यो कुरा खै कस्ले ख्याल गरेको छ र ?’ टमाटाले भावुक हुँदै भन्नुभयो, ‘हाम्रा खेलाडीले २-३ वर्षदेखि तलव पाएका छैनन्, उनीहरुले कसरी परिवार पालेका छन् भनेर राज्यले कहिले सोच्ने ?’

आईसीसीसँग सहकार्य गरेर क्यानमाथिको निलम्बन फुकुवा गर्ने र खेलाडीको हकहितको लागि पनि सरकारले काम गरेमा यस्ता जितमा अझै धेरै खुशी हुने ठाउँ रहने पनि टमाटाले बताउनुभयो । 

धुर्मुस सुन्तली फाउन्डेसनले गर्‍याे क्रिकेट रंगशालाकाे सम्झौता

यस्ताे देखिनेछ धुर्मुस-सुन्तलीले बनाउने क्रिकेट रंगशाला (थ्रीडी तस्बिरसहित)

 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया