कांग्रेसले गर्‍याे पाँच नम्बर प्रदेश सभाको बैठक अवरुद्ध

 माघ २२, २०७५ मंगलबार १६:३६:१३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँच नम्बर प्रदेशको प्रदेश सभा बैठक अवरुद्ध पारेको छ ।

प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न ढिलाइ गरिएको भन्दै मंगलबारको प्रदेशसभा बैठक कांग्रेसले अवरुद्ध पारेको हो । प्रदेशको स्थायी राजधानी र नामाकरणको लागि सुझाव संकलन गरी सिफारिस गर्न बनेको विशेष समितिले समय लम्ब्याउने काम मात्र गरेको भन्दै प्रदेश सभाको बैठक अवरुद्ध पारिएको कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले बताउनुभयो ।

समितिको संयोजकमा दीपेन्द्र पुनलाई चयन गरिएको तीन महिना बितेको छ । १५ सदस्यीय समितिमा बाँके, रुकुम पूर्व र नवलपरासीबाट प्रतिनिधित्व हुने गरी फेरि सदस्य थप गर्ने तयारी भइरहेको छ । कांग्रेसले यसअघि माघ १८ गतेको प्रदेश सभाको बैठक प्राध्यापक डाक्टर गोविन्द केसी को जीवन रक्षा र निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारवाही गर्न माग गर्दै अवरुद्ध पारेको थियो ।

प्रदेश सभा स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा पनि प्रदेशको स्थायी राजधानी तोक्न सरकारले ढिलाइ गरेको आरोप कांग्रेसले लगाएको थियो । तर मुख्यमन्त्री शंकर पोखरेलले भने स्थानीय राजधानी कहाँ हुने भन्दा पनि कस्तो हुने भन्नेमा बहस केन्द्रित गर्न आग्रह गर्दै आउनु भएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया