बाँदर समाउ अभियान : किसानलाई हैरान बनाएपछि भारतबाटै मान्छे बोलाइयो

 माघ २३, २०७५ बुधबार ६:४८:७ | उज्यालो सहकर्मी

खोटाङ – खोटाङका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्‍याउने तयारी गरिएको छ । 

खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपछि बाँदरलाई भारतीय पेशेवर शिकारीमार्फत समातेर राष्ट्रिय निकुञ्ज पुर्‍याएर छाड्ने तयारी थालिएको हो । 

जिल्लाका विभिन्न ठाउँका जंगलमा भएका बाँदरलाई खोर र जाल थापेर समात्नका लागि भारत खुसीनगर उत्तरप्रदेशका मुखतार शिकारीसहित दुई जना दिक्तेल आइपुगेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । 

बाँदर आतंक नियन्त्रण गर्नका लागि नियन्त्रण तथा व्यवस्थापन समितिलाई दिक्तेल रुपाकोट मझुवागढीले ५ लाख बजेट उपलव्ध गराएको छ । 

आगामी जेठ मसान्तभित्रमा प्रतिवटा दुई हजारका दरले २५० वटा बाँदर समात्नेगरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीचमा सम्झौता भएको छ । सुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिने ‘बाँदर समाउ अभियान’ जिल्लाका १० वटै स्थानीय तहमा पुर्‍याइने घिमिरेले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया