आजदेखि विराटनगरबाट पनि श्रम स्वीकृति दिन थालियाे

 माघ २३, २०७५ बुधबार ११:४:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबारदेखि प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति दिन थालिएको छ । 

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । 

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गर्नुभएको थियो । त्यही अनुसार सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो । 

मन्त्रालयले यसअघि पहिलो चरणमा गएको पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट पुनः श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो । त्यस्तै गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालिएको थियो । 

पुस २९ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्न शुरु गरिसकेको छ । त्यसैगरी यही माघ ११ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट समेत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया