बुवालाई दागबत्ती दिनुअघि अनिशले सोधे :  बाबालाई पोल्छ के..., किन जलाउने ?

 माघ २३, २०७५ बुधबार ११:३२:१९ | विमल बिष्ट
unn.prixa.net

डोटी – शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मंगलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो । तर उहाँका ८ वर्षीय  अवोध छोरा अनिश जोरालाई भने यो कुरा अन्जानजस्तै थियो ।

उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट शव यात्रा सुरु भयो, बुवाको लासलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए । शवयात्रासँगै उनी पनि घाट पुगे । तर के भइरहेको छ भन्ने कुराको कुनै भेउ पाएका थिनन् उनले ।

उनी त्यतिबेला आत्तिन्छन् जब बुवालाई चितामा सजाएर ‘आगो लगाउ’ भन्दै उनको हातमा दागबत्ती दिइयो । त्यतिबेला सबैलाई भावुक बनाउँदै उनले मार्मिक प्रश्न गरे, ‘मेरो बाबालाई किन आगो लगाउने ?’ उनी आगोले बाबाको शरीर पोल्छ भन्दै आगो लगाउन मानिरहेका थिएनन् । परिवारका अन्य सदस्यहरुले सम्झाईबुझाई गर्दा अनिश बुवाको चितामा आगो लगाउन त तयार भए तर ‘बाबा, बाबा’ भन्दै चिच्याउन थाले । उनी बाबालाई किन आगो लगाएको भन्दै चिच्याइरहेका थिए । तर उनले सोधेको प्रश्नको उत्तर दिने कसैमा हिम्मत थिएन् ।

उनका बुबा ८ महिना अघिदेखि क्यान्सरबाट पीडित थिए । १४ वर्षको उमेरदेखि रोजगारीको सिलसिलामा भारत आउजाउ गर्ने तेजको ८ महिना अघि बाँया पाखुरा दुख्न थाल्यो । उनले भारतमै जाँच गराउँदा पाखुराभित्र गानो भएकोले शल्यक्रिया गर्नु पर्ने चिकित्सकले सल्लाह दिए । तेजले त्यसैअनुसार गरे पनि । तर त्यो निको हुनुको सट्टा झन बल्झियो र क्यान्सर देखियो । उपचारका लागि तेजले भारतको चेन्नई, बेँग्लोर र नेपालको चितवनसम्म धाए तर कुनै सुधार भएन । अन्ततः उनको मृत्यु भयो । 

गरिबीका कारण डोटीलगायत यहाँका अन्य पहाडी जिल्लाका स्थानीयले समयमै उपचार नपाउँदा क्यान्सरजस्तो प्राणघातक रोगबाट अकालमै ज्यान गुमाउनेको संख्या बढिरहेको छ । क्यान्सर रोगबारे समयमै जानकारी नपाउदा यहाँका कतिपय बिरामीहरु ज्यान गुमाउन बाध्य भएका छन् । 

सुदूरपश्चिम प्रदेशमा कुनै पनि ठाउँमा क्यान्सर रोगको पत्ता लगाउने न त उपकरण छ न त औषधि गर्ने ठाउँ नै । 

बुवा तेजलाई रोगले च्यापेपछि केआई सिंह गाउँपालिका–७, को नवद्वीप विद्यालय निकेतनमा कक्षा २ मा अध्ययन गर्दै गरेका अनिशलाई घर लगिएको थियो । 

छोरालाई ठूलो मान्छे बनाउने सपनासहित तेजले भारतमा नौकरी गर्दै निजी विद्यालयमा पढाउँदै आएका थिए । तेजको अवसानसँगै अनिशको पढाइ के होला भन्ने विषयमा स्थानीय बासिन्दाहरु चिन्ता गर्न थालेका छन् तर अनिशलाई भने यस कुराको कुनै पत्तो छैन् । अनिशसँगै चार वर्षीय रेश्माले पनि बुवाको सहारा गुमाएकी छिन् । 

अब उनीहरुको पढाइसहितको अन्य लालनपालन खर्च कसले व्यहोर्ने भन्ने कुराले उनकी आमालाई सताउन थालेको छ । घरमा आमा र बुढी हजुरआमा मात्रै भएका कारण पनि उनीहरुको पढाइमा समस्या हुने देखिएको छ । 

सामान्य बिरामी हुँदासमेत यहाँका स्थानीयहरु भारतका विभिन्न शहरमा गएर निजी क्लिनकहरुमा अप्रेसन गर्ने गरेका कारण क्यान्सर रोग बढ्न थालेको शैलेस्वरी अस्पताल दिपायलका डाक्टर राजेश बाहुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शरीरमा सामान्य खटिरा आउँदा पनि अप्रेसन गर्ने बानी परेको छ, त्यो बिग्रेपछि क्यान्सर हुने र ज्यान जान थालेको हो ।’ जिल्ला अस्पताल डोटीका अनुसार हालसम्म डोटीमा क्यान्सर रोगका कारण कम्तिमा पनि दुई दर्जन बढीले अकालमै ज्यान गुमाइसकेका छन् ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया