कलकलाउँदो सेतीको यस्तो हालत !

 माघ २३, २०७५ बुधबार १३:२:२० | डीबी बिष्ट
unn.prixa.net

सेती नदीकाे विभिन्न ठाउँका फोटाे काेलाज गरेर तयार पारिएको फाेटाे

बझाङ –  पर्यटकीय क्षेत्र सैपाल हिमालको हिउँ पग्लेर बनेको हिमनदी सेती सदरमुकाम चैनपुरको तीनतिरबाट सुसेली खेल्दै बग्छ । 

सेतीले तीन तिरबाट अनि अर्कोतिर बाहुलीगाड खोलाले घेरिएको चैनपुर झट्ट हेर्दा कुनै सुन्दर टापुझैँ लाग्छ । सेती र बाहुलीगाड चैनपुरमा मिसिएर केदारस्युँ गाउँपालिकाको देउरा हुँदै डोटीको दिपायलतर्फ बग्छ ।

बझाङ सदरमुकाम चैनपुर बजार

विभिन्न सम्भावना र महत्व बोकेको यो नदीको सुसेलीले मात्रै पनि जो कोहीको मन लोभ्याउँछ । नेपालभरि सेती नदीको माछा भनेपछि जो कोहीको पनि मुख रसाउँछ ।  तर विडम्बना पवित्र र कञ्चन सेती दिनदिनै कुरुप हुँदैछ । सुन्दर सैपालको फेदीबाट बग्ने सेतीमा पछिल्लो समयमा फोहोर फाल्ने  ढलका रुपमा यहाँका बासिन्दाले प्रयोग गर्ने गरेका छन् । 

सैपाल हिमाल

सैपाल हिमालबाट भएर बग्ने सेती नदी र बाउली खोलामा सदरमुकाम चैनपुर तथा जिल्लाभरिका स्थानीय बासिन्दाले भान्सा कोठा, घर ,होटेल तथा अन्य उद्योगबाट निस्किएको फोहोर सेती नदीमा नै फाल्ने गरेका छन् । सेती नदी र बाउली खोलामा फोहोर फाल्न थालेपछि कलकलाउँदो सेती दुर्गन्धित बन्दै जान थालेको छ । 

सेतीको किनार पेय पदार्थका खाली सिसा र बोतलले भरिभराउ छ । सदरमुकामवासी तथा होटल व्यवसायीले प्रयोग गरेका पेय पदार्थ, मदिराका बोतल बोरामा जम्मा पारेर सेती नदीको किनार र बाउली खोलाको किनारमा फाल्ने गरेको सदरमुकाम चैनपुरका होटल व्यवसायी वीरेन्द्रबहादुर सिंहले बताउनुभयो । 

चैनपुर जिल्लाको मुख्य व्यापारिक केन्द्र हो । व्यवासयीहरुले प्रयोग गरेका पेय पदार्थका खाली बोतल जथाभावी फालिँदा बजारमा दुर्गन्ध बढेको सिंहले बताउनुभयो । 

सेती नदीमा घर, पसल, होटल तथा कार्यालयबाट निस्कने फोहोर जथाभावी फाल्ने गरिन्छ । व्यापारीले आफ्नो घर पसल र होटेलबाट  निस्कने फोहोरलाई सडक छेउमा थुपार्ने गर्छन् । त्यसरी थुपारिएको फोहोरलाई जयपृथ्वी नगरपालिकाले उठाएर सेती नदी र बाहुलीगाढको किनारमा फाल्ने गरेको छ । स्थानीय व्यापारी डबलबहादुर खड्का भन्नुहुन्छ, ‘नगरपालिकाले बजारबाट निस्कने फोहोरलाई नदीमा फाल्दा दुर्गन्ध बढाउनुको साथै नदी कुरुप भएको छ ।’

फोहोर र दुर्गन्धका कारण नदीमा माछा समेत पाइन छाडेको छ । पहिले एउटै माछा तीन किलोसम्मको पाइने गरेकोमा अहिले मुश्किलले ससाना माछा पाइने गरेको छबिसपाथीभेरा गाउँपालिकाका राजेश भण्डारीले भन्नुभयो । 

होटल व्यवसायी रमेश धामीले भन्नुभयो, ‘तीन-चार वर्षदेखि सेती नदीमा माछा पाउनै मुश्किल छ ।’ पहिले सबै होटेहरुमा माछा पाउने भए पनि अहिले कुनै पनि होटेहरुमा माछा नपाइने उहाँले बताउनुभयो । 

नदीमा माछा पाउन छाडेपछि भाउ पनि बढेको छ । केही वर्ष अघिसम्म किलोको १५० देखि २०० रुपैयाँमा पाइने माछा अहिले ३५० देखि ५०० रुपैयाँसम्म पर्ने गरेको धामीले बताउनुभयो । माछा मारेर गुजारा चलाउनेहरु अहिले अरु पेशा गर्न बाध्य भएका छन् । 

नदीमै दिसापिसाब, त्यही पानी पिउनुपर्ने बाध्यता

खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको बझाङमा अझै पनि नदी किनारमै शौच गर्ने बानी हटेको छैन । देशभर नै चलेको सरकारी अभियान अनुरुप ०७२ सालमा बझाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । 

कागजमा मात्रै घोषणा गर्दा सेती नदी दिसापिसाब बिसर्जन गर्ने ‘डम्पिङ साइट’ बन्दै गएको छ । कुनै समय चिसो हावा र कलकलाउँदो सेती बगेको हेर्न जाने यहाँका बासिन्दा अहिले नदी किनारमा हेर्न पनि घिन मान्छन् ।

तर कतिपयलाई यही पानी पिउनुपर्ने बाध्यता छ । माथिल्लो क्षेत्रका बासिन्दाले फोहोर फ्याँक्ने र ढल मिसाउने गर्न थालेपछि तल्लो क्षेत्रका बासिन्दालाई सेतीको पानी पिउन पनि समस्या हुने गरेको छ । पानीको अभाव भएका कारण सेतीमै जानुपर्ने बाध्यता भएको, तर फोहोर पानी पिउन परेपछि आफूहरु मर्कामा परेको थलारा गाउँपालिका खानीका शिव सुनारले भन्नुभयो । 

‘फोहोर फालेको देख्दादेख्दै पनि हामीलाई यही पानी पिउनुपर्ने बाध्यता छ, फोहोर पानी पिएर कतिपय त बिरामी पनि भएका छन्’ उहाँले भन्नुभयो । 

नदीमै फोहोर फाल्नुपर्ने बाध्यता, विकल्पको खोजी हुँदै

चैनपुर घना बस्तीले भरिंदैछ । अव्यवस्थित शहरीकरण, बढ्दो जनघनत्वले गर्दा फोहोर उत्पादन पनि बढिरहेको छ । जुन व्यवस्थापन गर्न जनप्रतिनिधिलाई नै टाउको दुखाईको विषय बनेको छ । ‘चैनपुरमा खाली ठाउँ छैन । नदीमा नफाले कहाँ फ्याल्ने ? जंगल भए पनि केही सजिलो हुन्थ्यो होला’ जनपा– १० का वडाध्यक्ष दलबहादुर बिष्टले भन्नुभयो ।  यद्यपी सेतीको हराएको स्वरुप फर्काउन नगरपालिकाले विकल्पको खोजी गरिरहेको उहाँले बताउनुभयो ।

सेती नदीको फोहोर अब छिट्टै व्यवस्थापन हुने जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्रबहादुर खड्काले बताउनुभयो । तत्काललाई जिल्ला सदरमुकाम नजिकै बग्ने बाहुली गाडमा डम्पिङ्ग साइट बनाएर फोहोर व्यवस्थापन गर्ने गरेको भए पनि अब नदी किनारमा फोहोर फाल्न नपर्ने गरी उचित ठाउँको खोजी भैरहेको उहाँले बताउनुभयो ।

सदुपयोग नभएको सेती

सेती जसलाई पश्चिम सेतीका नामले पनि चिनिन्छ । विद्युत, पर्यटन, कृषि लगायत थुप्रै  सम्भावना भए पनि सदुपयोगमा छैन । पटकैपिच्छे सरकार फेरिँदा बझाङको माटोले जन्माएका राजनीतिज्ञ सरकारमा पुगे । बझाङबाट पटक–पटक सांसद र मन्त्री भएकाहरुले सेतीको सम्भावनालाई चुनावका बेला भोट बैंकका रुपमा मात्रै प्रयोग गर्ने गरेका छन् । 

केही समयअघि चिनियाँ कम्पनी थ्री गर्जेजले सात सय मेगावाटका पश्चिम सेती हाइड्रो पावर बनाउने हल्ला नचलेको पनि होइन । आखिर यो हल्लामै सीमित बन्ने हो कि भन्ने चिन्ताले बझाङबासीहरु निराश छन् । लगानी गर्न नसक्ने भन्दै कम्पनीले हात झिकेपछि उज्यालोको सम्भावना बोकेको यहाँका अधिकांश बस्तीहरु अझै पनि अन्धकारमय छन् । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया