आफ्ना विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दा चलाइएको भन्दै कांग्रेसकाे आपत्ति

 माघ २३, २०७५ बुधबार १८:५३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शान्तिपूर्ण प्रर्दशनका क्रममा आफ्ना विद्यार्थी नेताहरु नियन्त्रणमा लिएर फौजदारी मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । 

सरकारका कदमविरुद्ध पोखरामा भएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा नेपाल विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाइएकोमा कांग्रेसले गम्भीर आपत्ति जनाएको हो । बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रहरी नियन्त्रण रहेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न पनि माग गरेको छ ।

त्यसैगरी गएकाे सोमबार धनुषाको सबैया नगरपालिका-१० खरियानी टोलका पार्टी सदस्य उमेश कापडीमाथि कम्युनिष्ट पार्टीका कार्यकर्ताले सांघातिक हमला गरेको भन्दै बैठकले आक्रमणमा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

कांग्रेसले प्रदर्शन सकिएपछि भएको आक्रमणलाई गम्भीर रुपले लिएको जनाएको छ । घाइते कापडीको अहिले विराटनगरमा उपचार भइरहेको छ ।

बुधबारको बैठकमा नेताहरु रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्ण बहादुर खड्का, केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँड, डाक्टर नारायण खड्का, डाक्टर मिनेन्द्र रिजाल, आनन्द प्रसाद ढुंगाना र मोहन बहादुर बस्नेतले धारणा राख्नुभएको छ ।

यसैबीच नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिका बारेमा भने नेताहरुबीच मत बाझिएपछि बैठकले कुनै निर्णय गर्न सकेन ।

बैठक भोलि बिहीबार ११ बजे फेरि बस्ने तय भएकाे छ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया