न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डाै - वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले सबै प्रदेशमा कम्तिमा एउटा प्राणी उद्यान केन्द्र निर्माण गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । न्यूनतम एक एकवटा प्राणी उद्यान बनाउने गरी योजनाबद्ध रुपमा सातै प्रदेशमा प्राणी उद्यान बनाएर मानव र प्राणीबीचको द्धन्द्धलाई न्यून गरेर उत्पादन र राजश्व बढाउने ढंगबाट सरकारले काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भक्तपुरको सूर्यविनायकमा बनाउन लागिएको सूर्यविनायक राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो ।
उहाँले साविकको जिल्ला वन कार्यायलय कास्कीको सहजीकरणमा स्थानीय सरोकारवालाहरु र सामुदायिक वन उपभोक्ता सहमुहहरुको साझेदारीमा गएकाे वर्षदेखि नै पोखरा जिओलोजिकल पार्क नामक संस्था गठन गरी त्यसै संस्थाद्धारा रतुवा मृग, निलगाई, वन बिरालो, बाँदर लगायतका वन्यजन्तुको पालना भइरहेको जानकारी दिनुभयो ।
जिओलोजिकल पार्कमा अहिलेसम्म खरायो, चरा, निलगाई र चितुवाको लागि एक-एकवटा केजसहित एउटा पाले घर निर्माण भएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, पार्क निर्माणदेखि अहिलेसम्म १ करोड १३ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको छ ।
सांसद खगराज अधिकारीले पोखरा महानगरपालिका वडा नम्बर ३१ पचभैयामा प्राणी उद्यान बनाउने सरकारको योजना तथा देशभर संचालन भएका प्राणी उद्यान र त्यससम्बन्धी नयाँ आयोजना बारे जानकारी माग्नुभएको थियो ।
सांसद महेश बस्नेतले भक्तपुरको सूर्यविनायकमा बनाउन लागिएको सूर्यविनायक राष्ट्रिय प्राणी उद्यानको गर्ने भनिएको प्राणी उद्यान केन्द्र तीव्र गतिमा निर्माणको लागि आग्रह गर्नुभयो ।