एक दशकदेखि बेवारिसे बनेको बझाङको देवल विमानस्थल कालोपत्रे हुँदै

 माघ २४, २०७५ बिहिबार १२:५३:३१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङको सदरमुकाम चैनपुरमा रहेको देवल विमानस्थलको ‘रन वे’ कालोपत्रे गर्ने काम सुरु भएको छ । दश वर्षदेखि बन्द रहेको विमानस्थल फेरि सञ्चालन गर्न ‘रन वे’ कालो पत्रे गर्न लागिएको हो । 

विमानस्थल बन्द हुँदा समस्या भएपछि जनप्रतिनिधि र स्थानियको दबाबमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनः संचालन गर्न ‘रन वे’ कालो पत्रे गर्ने काम अगाडि बढाएको हो । प्राधिकरणले ‘रन वे’ कालो पत्रे गर्ने ठेक्का अमर कन्स्ट्रक्सनलाई दिएको छ । ५ करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी प्राधिकरणले गत साउनमा ‘रन वे’को ठेक्का लगाएको हो । 

विमानस्थलसम्म पुग्ने सडक खराब रहेकाले ठेक्का पाउनेबित्तिकै काम सुरु गर्न नसकेको र अहिले सडक बनेपछि काम सुरु भएको निर्माण कम्पनी अमर कन्स्ट्रक्सनका प्रमुख देवी न्यौपानेले बताउनुभयो । अहिले ‘रन वे’ कालो पत्र गर्नका लागि विमान स्थलमा धमाधम माटो खन्ने काम भइरहेको पनि उहाँले बताउनुभयो ।  

२०३५ सालमा कच्ची विमानस्थल निर्माण गरेर पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको थियो । २०६५ सालसम्म सञ्चालनमा रहेको यो विमानस्थल त्यसपछि भने यात्रुको संख्या घटेको भन्दै बन्द हुन पुगेको थियो । 

बन्द हुनुभन्दा अघिसम्म निगमबाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकामसम्म यात्रुवाहक बस सञ्चालन हुन थालेपछि विमानस्थलमा हुने उडान ठप्प भएको थियो । उडान ठप्प भएपछि २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो । 

बढी जसो बझाङ-नेपालगञ्ज उडान सञ्चालन गर्ने विमान कम्पनीहरुले नेपालगञ्जबाट बझाङ आउने यात्रुको चाप घटेका कारण उडान बन्द गर्नुपरेको बताएका थिए ।

यद्यपि धनगढी-बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुई तीन वटासम्म ट्वीनएटर विमान आवत जावत गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरुले बताउँदै आएका छन् । 

विमान सञ्चालन हुन छाडेपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारीलाई अन्तै सरुवा गरेको छ । लामो समयसम्म बेवारिसे जस्तै बनेको विमानस्थल स्थानीयको खेल मैदान र गौचरनमा परिणत भएको थियो । विमानस्थलको टावर रहेको भवन शाैच गर्ने ठाँउमा परिणत भएको छ भने भवनका झ्याल ढोकामा रहेका सिसाहरु पनि फुटेको अवस्थामा छ ।  

विमानस्थल सञ्चालनमा ल्याउन ‘रन वे’ कालोपत्रे गर्न लागेपछि अहिले यहाँका नागरिक खुशी भएका छन् । विमानस्थल सञ्चालनमा आए सुत्केरी महिला तथा दुर्घटनामा परेका व्यक्तिहरुले अकालमा ज्यान गुमाउन नपर्ने स्थानीय उमाशंकर जोशी बताउनुहुन्छ । 

बर्षाको समयमा विभिन्न ठाँउमा जाने पहिरोले राजमार्ग अवरुद्ध हुँदा गम्भिर विरामी र दुर्घटनामा परेकाले अकालमै ज्यान गुमाउनु पर्छ भने यात्रुहरुले उस्तै सास्ती भोग्दै आएका छन । गएको वर्ष असारदेखि भदौसम्म तीन महिनाको अवधिमा मात्रै बझाङलाई अन्य जिल्लासँग जोड्ने जयपृथ्वी राजमार्ग पटक-पटक गरी ४१ दिनसम्म अवरुद्ध भएको थियो ।

यस अवधिमा उपचारको लागि धनगढी लैजादै गरेका ५ जना बिरामीहरुले बाटैमा ज्यान गुमाउनु परेको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले लामो समयदेखि विमानस्थल हुँदा जिल्लामा आउने पर्यटनहरु समेत घटेका बताउनुभयो । 

बझाङमा सैपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानासरोबरलगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरु छन् ।

विमानस्थल सञ्चालन भए पर्यटकीय स्थल घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुको समेत वृद्धि हुने उहाँकाे विश्वास छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया