प्रेमिकालाई गाडीसहित कालीगण्डकीमा खसाल्ने युवकलाई सर्वस्वसहित जन्मकैद

 माघ २४, २०७५ बिहिबार १३:३६:५२ | प्रताप बानियाँ
unn.prixa.net

प्रतिकात्मक तस्बिर

म्याग्दी – गएको असारमा एक युवतीलाई अपहरण शैलीमा गाडीमा लगेर गाडीसँगै कालीगण्डकी नदीमा फाल्ने युवालाई जिल्ला अदालत म्याग्दीले ३० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । 

अन्नपूर्ण गाउँपालिका–७, घराम्दीकी २० वर्षीया सविता नेपालीलाई बेनी नगरपालिका–९, काउलेगौंडाका ३२ वर्षीय रवि खड्काले गाडीसँगै कालीगण्डकीमा खसालेका थिए ।

बुधबार म्याग्दीका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष, जबरजस्ती शरीर बन्धक ८ वर्ष र घटनाको प्रकृति अनुसार थप २ वर्ष कैद र १ लाख जरीवाना तिराउने गरी फैसला गरेको अदालतलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढामगरले बताउनुभयो ।

आरोपित खड्काले घराम्दीमा भएको भेलामा सविता गर्भवती रहेको र उनलाई श्रीमती बनाएर राख्ने भन्दै गाडीमा हालेपछि लगेर कालीगण्डकीमा गाडीसँगै खसालेका थिए । गाडी र चालक रवि तथा गाडीमा सवार सविता सबै बेपत्ता भएको भनिए पनि १ हप्तापछि रवि प्रहरीको सम्पर्कमा आएका थिए । 

त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी जबरजस्ती शरीर बन्धक र हत्याको मुद्दा चलाएको थियो । आरोपित युवाले अदालतसमक्ष दलित भनेर परिवारले नस्वीकार्ने डरका कारण आफूले गाडीसहित युवतीलाई खोलामा फालेर भागेको बयान दिएका थिए ।

२०७४ माघमा भएको म्याग्दी महोत्सवदेखि प्रेम सम्बन्धमा रहेका सविता र रवि निकट हुँदै गर्दा सविता गर्भवती भएकी थिइन् । 

सविताको गर्भमा बच्चा रहेको गाउँमा थाहा भएपछि गाउँलेले रविलाई बोलाएर उनको जिम्मा लगाएका थिए । तर, रविको घरमा श्रीमती तथा बच्चा रहेको र परिवार एवं समाजले दलित भनेर नस्वीकार्ने डरले नियतवश हत्या गरेको प्रहरीको दावी थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया