कौशलटार-बिरुवा सडक विस्तार सुरु

 माघ २४, २०७५ बिहिबार २०:१६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – प्रदेश सरकारको एक करोड रुपैयाँको लागतमा विस्तार हुन लागेको सिरुटार बिरुवा सडकको प्रदेश नं. ३ का सदस्य शशीजंग थापाले शिलन्यास गर्नुभयो ।

भक्तपुर र ललितपुर जिल्ला जोड्ने भक्तपुरको सूर्यविनायक नगरपालिका १, सिरुटार, २ बालकोट र ललितपुरको महालक्ष्मी नगरपालिका चाँगाथली र टीकाथली जोड्ने गुप्तेश्वर मन्दिरसँगै रहेको खोलाबाट बिरुवा पुग्ने त्यस सडकको विस्तार कार्य बिहीबारबाट सुरु भएको हो । 

कौशलटार–बिरुवा सडक खण्ड अन्तर्गत बालकोट पुलदेखि बिरुवासम्मको सडकको दायाँबायाँ पर्खाल लगाउने र ३६ फिटको चौडाइ बनाउने गरी सडक विस्तार कार्यको सुरुवात गरिएको प्रदेश सभा सदस्य थापाले बताउनुभयो ।

सिरुटारमा खानेपानी, सडक र ढलको व्यापक बिस्तार गरी नमुना र सुबिधा सम्पन्न सिरुटार बनाउने अभियान नै आफूले सुरु गरेको भन्दै उहाँले प्रदेश सरकारबाट बिनियोजित एक करोड रकमले सिरूटार सिमानाबाट बिरुवासम्मको सडकलाई स्तरोन्नती गरिने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका १ का वडा अध्यक्ष सानुकाजी कायस्थले जीर्ण बनेको बालकोट सिरुटार जोड्ने पुल समेत यसवर्ष नयाँ बन्ने बताउनुभयो । 
एक करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको पुलको टेण्डर भईसकेको उहाँले बताउनुभयो । 

संघीय सरकार अन्तरगतको डोलिडारमार्फत विनियोजित पाँच करोडको लागतले सो सडकमा ढल र फुटपाथ बनाइने पनि बताइएकाे छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया